मकवानपुर । त्यो बेला, तत्कालिन आमभञ्ज्याङ गाविस ३ को नामुना सामुदायिक वनको धेरै माथि पुगेपछि बाबियो भेटिन्थ्यो । त्यो पनि सहजै हैन, भीर र पहरामा मात्रै । सजिला ठाउँको त अरुले काटेर लगिरहेका हुन्थे । हामी त्यै भीर र पहरामा पुगेर बाबियो संकलन गर्दथ्यौ । घाँसको भारीसँगै दैनिक एक वा दुई साना साना मुठ्ठा बाबियो ल्याउँथ्यौ, छानामा सुकाउन राख्दथ्यौ । यो काम सुरु हुन्थ्यो सोह्र श्राद्ध लाग्नु अगावैबाट ।
बाबियो कै खोजिमा धेरै टाढाटाढा पुग्थ्यौ जंगलमा । घाँस काट्दा भेटिएको त्यान्द्रा त्यान्द्रा बाबियो साथीहरु मिलेर जम्मा गर्दथ्यौ । झण्डै १५ मुठाजति बाबियो चाहिन्थ्यो एउटा मज्जाको लठ्ठा बाट्ने बाबियो पुर्याउन ।
सोह्रा श्राद्ध लाग्नु अगावैबाट सुरु गरिएको बाबियो संकलन काम लगभग सोह्र श्राद्ध सकिनै लाग्दा पुरा हुन्थ्यो । नियमित काम सकेर गाइवस्तु चराउन चौरमा लैजान्थ्यौ, त्यै चौरमा लिङे पिङको लागि लठ्ठा बाट्न हामी भेला हुन्थ्यौ । हामी पनि के भन्नु एक, दुई जना पाका बाले लठ्ठा मिलाउनु हुन्थ्यो । सिपालु अरु ३ जना लठ्ठा बाट्नको लागि एक एक वटा भाग लिएर घुम्न सुरु गर्दथे । हामी लठ्ठाको लागि पय थप्नको लागि बाबियो लिएर उभिन्थ्यौ । अन्य केही बाबियो समेट्न त केही लठ्ठा मिलाउन लागि पर्नुहुन्थ्यो ।
केहीले सबैको वस्तुभाउ बालिमा जानबाट रोक्थे, अझ भनौ सबैको बस्तु हेरालुको जिम्मेवारीमा हुन्थे । हामी गोठाहरु मात्रै हैन, पिङको लठ्ठा बाट्ने भनेपछि हेर्नेहरुको पनि भीड नै लाग्थ्यो । बाबियोको लठ्ठा बाटेर भ्याएपछि सुरु हुन्थ्यो लिङ्गो गाड्नको लागि बाँसको खोजि ।
हामी आपसमा ४/५ रुपियाँ उठाउँथ्यौ र बाँस किन्थ्यौ । लिङ्गे पिङको लागि लिङ्गो गाड्न धेरै गाह्रो काम । यसको लागि बलिया ठुला ब्यक्तिनै खोज्नु पर्ने । पिङ हाल्न सुरु भएपछि गाउँभरीको भीड लाग्दथ्यो मैदानमा ।
“तँ र म दोहोरो खेल्ने है ।”
“मलाई त मच्चाउन आउन्न ।”
“मलाई त कहाली लाग्छ, बसेर मात्रै खेल्छु ।”
“फलानोले त पिङै फर्काएका है पोहोर साल ।”
“यस्तो भयो भने पिङ लिङ्गा जान्छ, यसो गरौ ।” भीडमा यस्ता यस्तै कुरा सुनिन्थे ।
कमेरो र रातो पाटोले पोतेको घर चरक्क चर्केको घामले एकै छिनमा टल्लक्क टल्कन्थ्यो । रेडियोको पुराना ब्याट्रीहरु जम्मा गरेर राखेका हुन्थ्यौ । त्यो फुटाएर झ्याल र ढोकाको चौकोसमा लपक्क लगाउँथ्यौ । रातो, सेतो, कालो रङले घर बेहुली जस्तै चिटिक्क देखिन्यो । आँगनको छेउछाउँ र बारीका कान्लाहरुमा फुल्न थालेका सयपत्री र मखमली फूहरुले झन् घरको शोभामा चमक थप्दथ्यो । काँक्रो र लप्सीको अचार भरेर घरको बार्दलीमा राखिएका बट्टाहरु र सुकाउनको लागि माला बनाएर झुण्ड्याइएका खुर्सानीको लहरले पनि श्रृगारकै काम गरेझै देखिथ्यो ।
अनि लाग्थ्यो,अब साँच्चै दशै आयो ।
सानासाना भाइ बहिनीहरु झन् धेरै चहलपहल हुन्थ्यो । कस कसले नयाँ लुगा पाए, कस कसले बाँकी उनीहरु बिचमा रमाइलो कुरा हुन्थे । यो भीड देखेपछि अब साँच्चै दशै आयो भन्ने लाग्दथ्यो ।
पिङ तयार हुन्थ्यो । खेल्नको लागि पालो लगाइन्थ्यो । हाम्रो नयाँ रुटिङ बन्थ्यो घरधन्दा सक्यो कि चौरतिर पिङ खेल्न दौडिन्थ्यौ ।
अर्को दिन माटो खन्न जान्थ्यौ । कमेरो माटो रातो माटो । कमेरो माटो खन्न धेरै गाह्रो हुन्थ्यो । पानी चुहिरहेको ओडारबाट माटो लिकाल्नु पर्दथ्यो, दिदी, आमा, काकी र भाउजुहरु पालैपालो माटो खन्न ओडारमा पस्नुहुन्थ्यो, उहाँहरुले खनेर बाहिर फालेको माटो हामी जम्मा गरेर बारोमा उठाउँथ्यौ । माटो खन्दा खन्दै भोक लाग्थ्यो, भाउजु, काकीहरु कमेरो माटोको साना साना ठल्ला चक्लेट जस्तै बनाएर मिठो मानेर खानु हुन्थ्यो । हामी त्यै जंगलमा अम्बा खोज्न जान्थ्यौ, कट्टा अम्बा भेटिए बटुलेर ल्याउँथ्यौ । खान्थ्यौ ।
भोली पल्ट पुराना गाग्राहरु, अल्मुलियमका बाटाहरुमा बिहानै माटो भिजाउन हालिथ्यो र दाउरा घाँस खेप्न जान्थ्यौ । एकखेप घाँस दाउरा गरेर फर्केर खाना खाएपछि घर पोत्न थाल्दथ्यौ । कमेरो र रातो पाटोले पोतेको घर चरक्क चर्केको घामले एकै छिनमा टल्लक्क टल्कन्थ्यो । रेडियोको पुराना ब्याट्रीहरु जम्मा गरेर राखेका हुन्थ्यौ । त्यो फुटाएर झ्याल र ढोकाको चौकोसमा लपक्क लगाउँथ्यौ । रातो, सेतो, कालो रङले घर बेहुली जस्तै चिटिक्क देखिन्यो । आँगनको छेउछाउँ र बारीका कान्लाहरुमा फुल्न थालेका सयपत्री र मखमली फूहरुले झन् घरको शोभामा चमक थप्दथ्यो ।
काँक्रो र लप्सीको अचार भरेर घरको बार्दलीमा राखिएका बट्टाहरु र सुकाउनको लागि माला बनाएर झुण्ड्याइएका खुर्सानीको लहरले पनि श्रृगारकै काम गरेझै देखिथ्यो ।
अनि लाग्थ्यो,अब साँच्चै दशै आयो ।
अर्को दिन लुगा धुने काम हुन्थो । डोकोभरी ओड्ने ओछ्याउनेको खोल र तन्नाहरु बोकेर हामी आमाको पछिपछि लागेर खोलामा पुग्थ्यौ । खोला छेउमै आगो बालेर भैसीलाई कुँडो पकाउने बडेमाको डेक्चिमा आमाले खरानी पानी भकभक उमाल्नु हुन्थ्यो । ओड्ने ओछ्याउनेको खोलहरु त्यै खरानी पानीमा पकाउनु हुन्थ्यो । लुगा पानीमा गुजगुज गरी पाक्दथ्यो । आमाले एउटा एउटा गरेर बाँसको लौरोले च्यापेर झिक्नुहुन्थ्यो र सिलित्त मिलेको चाक्लो ढुङ्गामा राखेर मुङ्ग्रोले ड्यामड्याम पिट्नु हुन्थ्यो । त्यसपछि हामीलाई दिनुहुन्थ्यो त्यो लुगा । हामी खोलाको कञ्चन पानीमा पखाल्थ्यौ । मगमग बास्न आउँथ्यो कपडा ।
धोएको खोल र तन्नाहरु बगरै भरी सुकाउँथ्यौ । बगर क्या राम्रो देखिन्थ्यो रङ्गीचङ्की ।
धोएको लुगा सुकुञ्जेल नुहाइधुवाई भ्याइन्थ्यो, नजिकैको चौरमा हिजो अस्ति हालेको पिङ खेलिथ्यो र सुकेका लुगा बटुलेर अबेर दिनमा घर फर्कन्थ्यौ ।
भोलीपल्ट च्युरा कुटिन्थ्यो, मगमग बास्ना आउने तातो तातो चिउरा पाएपछि हामीलाई केही चाहिन्नथ्यो । तोरी पिस्न बुबा जानुहुन्थ्यो, सँगै दशैंको लागि लुगा भित्रन्थे घरमा । माछा मासु खानेहरुको घरैमा खसी बोकाको जोहो हुन्थ्यो, नखानेहरुको पनि आफ्नो तरीकाको दशैं जोहो भैसक्थ्यो ।
अष्ठमीदेखि घाँस, दाउरा, सोतर खेप्न जंगल जान पार्दैनथ्यो । घरछेउकै पाखाको घाँस दशैंको लागि जोगाएर राखिन्थ्यो, एक घण्टामै घाँस सोतरको जोहो हुन्थ्यो । अनि मिल्दथ्यो फुर्सद आमा, काकी, भाउजुहरुलाई । अनि हामीलाई पनि । हामी पिङमा झुम्मिन्थ्यौ, हामी पौडीमा रमाउँथ्यौ, हामी आँगनमै ओखरको दाउ बनाएर उफ्रदै खेल्थ्यौ, अनि लाग्थ्यो दशैं । दशैंको टिकाको दिन घरघरमा टिका लगाइन्थ्यो । गाउँभरी एकअर्काको घरमा टिका थाप्न गइन्थ्यो, सुका, मोहोर र रुपियाँका सिक्का फ्रकको गोजिमा बजाउँदै दौडिन्थ्यौ । अनि आउँथ्यो दशैंको मज्जा ।
अनि बुझ्दथ्यौ परिवारको महत्व, अनि ज्ञात हुन्थ्यो आपसी सद्भावको उचाई । अनि पो महत्व थियो दशैं र अन्य पर्वहरुको ।
…………………………………………….
र, आज, यो बेला । दशैं भित्रिसकेको छ । अहाँ दशैं भित्रेकै छैन । अर्थात भनौ तिथीको हिसाबले दशै लागि सकेको छ । तर कतै त्यो दशैको जस्तो चहपहल छैन । दशैंसँग पर्याय जस्तो बनेको लिङ्गे पिङ देख्नै मुस्किल छ । आजका बालबालिकाहरुमा त्यो खुसी र रौनकता नै देखिन्न उनीहरु मोबाइल लिएर बन्द कोठामा छन् । अभिभावकहरुमा त्यो हर्ष छैन, व्यस्तता छैन, पर्व मनाउन छाडेर ट्रेकिङ हिडिरहेका छन् । गाउँघर सुनसान छ, सबैलाई शहरको कोलाहाल प्रिय भएको छ । यै कोलाहालयुक्त शहरको बन्द कोठामा मनाइरहेको छ दशै । न रमझम छ लिङे पिङ र जाँते पिङको, घरघरमै सदाबहार पिङ छ ।
न भ्याइनभ्याइ छ काम र खुसी खुसीले भरिएको त्यो व्यस्तताको । न हराभरा देखिन्छ शहर त्यो गाउँ जस्तो, न आपसी जमघट छ शहरमा त्यो गाउँको जस्तो ।
बस्, हराउँदै गएको मौलिकताको छिटा छिटा बोकेर बाँचेको छ दशैं । यही आधुनिकता भित्र सहजतामा रगमगिएको दशैं र देखावटी खुसी बोकेर म पनि यो दशैंको दृश्य हेरिरहेको छु । खास दशैं त्यो हो कि यो हो ? खास पर्वको मौलिकता यसरी बाँच्दछ कि त्यसरी ?
पहिचान नै गुम्ने डर भयोः समाजशास्त्री केशव तिमल्सिना

= समाजशास्त्री केशव तिमल्सिना
“चाडपर्वको मौलिकता हराउँदै जानु भनेको हाम्रो पहिचान नै गुम्दै जाने खतरा बढ्नु हो । हामी विस्तारै पश्चिमा संस्कृतीको नक्कल गर्दै आयौ । अचेल हामीले आफ्नो चाडपर्व मनाउने ताैरतरीका नै फेरिएका छन् । पछिल्लो समय जस्तो सुकै चाडपर्व पनि खानपानसँग बढी जोडिने गरेको छ । खानपानमा हाम्रो शैली पहिले जस्तो छैन । हाम्रो खानपान, लवाइले नै हामी पश्चिमाकरणतर्फ ढल्कीदै छौ भन्ने देखाउँछ । यो हाम्रो आर्थिक हैसियतको कारण पनि फेरिएको हो । केहीले प्रयाप्त धुमधामसँग पर्व मनाउने हैसियत बनाउन सक्छन् । उनीहरुले पर्वको रौनकता बेजोड नै हुन्छ ।
तर गरिखाने विपन्न वर्गको पहुँच त्यहासम्म पुग्दैन । उनीहरुले पर्व मान्ने हैसियत नै पुग्दैन र उनीहरु विस्तारै झन् झन आर्थिक दलदलमा फस्दै जान्छन, यस कारण पनि यो सामाजिक रुपमा विकराल समस्या हो ।
अहिले पश्चिमाकरणको नक्कल गर्दै गर्दा कुन पर्वको ठ्याक्कै मौलिकता के हो भन्ने नै गुमिसकेको छ । पश्चिमा संस्कृतिको देखासिकी गरेर पर्व मनाउँदै गर्दा गरिखाने वर्गमा मार थपिने त छंदैछ, यसले समाजमा असमानता समेत जन्माउँछ । यसले समाजमा विस्तारै सामाजिक सद्भावको पाटोलाई पनि कमजोर बनाउँदै लैजान्छ । पहिले जस्तो दशैमा घरघरमा नौरथा पूजा गर्ने संस्कृती अहिले छैन । कुनै चोकमा मन्दिर बनाएर, सामूहिक पूजा गरिन्छ । यो एक हिसाबले झ्वाट्ट हेर्दा समूहमा बाधिएको जस्तो देखिएपनि अन्नततः पर्वको अनुसाशन र मौलिक पहिचान हैन ।
चाडपर्वको खबर पाटाहरु छन् भने सुधार आवश्यक हुन्छ, तर हामीले पर्वको शैली र तरीका नै छाड्दै छाड्दै जाँदा भोली हाम्रा सन्ततीहरुले के सिक्लान भन्ने अर्को प्रश्न पनि छ । यसप्रति सामाजिक अभियन्ताहरुको पनि चासो र चिन्तत आवश्यका छ । सामाजिक मुल्य र मान्यता बचाउन, साँस्कृतिक तथा धार्मिक पर्वहरुको मौलिकता जोगाउनको लागि सामाजिक अभियन्ताहरुको अभियान पनि खाँचो छ ।
ज्येष्ठ नागरिकलाई चिन्ता
हेटौंडा २ का ६७ वर्षिय सुर्यनाथ घिमिरेलाई पनि दर्शै पहिले जस्तो नभएको आभाष छ । “पहिले जसरी अहिले छरछिमेक र परिवार मिलेर दशैं मनाउनै छाडियो” उनी भन्छन, “पहिले अभाव थियो, आर्थिक संकट थियो र पनि सबैले सबैलाई मान्दथे, साथ सहयोग गर्दथे र दशैं रमाइलो हुन्थ्यो, अहिले सबैसँग पैसा छ, सबैको आ–आफ्नै तरीकाले पर्व मनाउन थाले ।” केही गरिब वर्गहरुले दशैंमाथि आफ्नो पहुँच राख्नै नसक्ने अवस्था भएको उनले दुखेसो पोखे । गाउँमा जग्गा बाँझो राखेर शहर बस्न परेको छ, शहरमा सबै कुरा किन्नु पर्छ, महंगो छ, कसरी दशै रमाइलो बन्नु” घिमिरेले भने ।
गाउँमा पनि दशैंको मौलिकता खोज्नुपर्ने अवस्था आएको उनले बताए । “पहिले जस्तो रमाइलो अहिले गाउँ नै छैन,पिङ हालिए पनि बाबियोको हैन, नाइलन र सुतलिको देखिन्छ, दुख गर्ने मान्छेकै अभाव छ सबैतिर ।” सुखभोग गर्न खोज्दा पर्वको मौलिकता कम भएको उनको ठम्याइछ ।
गाउँघरमा युवाहरु नभएपछि गाउँमै पर्वको रौनकता नभएको बताउँछन्, मकवानपुरगढी ५ का जयराम तिमल्सिना । स्थानीय टोल विकास समितिको अध्यक्ष तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका गाउँ कमिटि अध्यक्ष समेत रहेका तिमल्सिना भन्छन “कसैलाई चाखै छैन पहिले जस्तो, दशैंसँग परिपुरक जस्तो मानिने पिङको रौनकता त हरायो नै ।” महङ्गी बढेको कारण युवाहरु आफ्नो गाउँठाउँमा नभएकोले पनि पर्वको रौनकता र मौलिकता गुम्दै आएको उनले बताए ।