मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाह प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार बिहान शाहलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।
नेपालको संविधानको धारा ७६ को उपधारा १ अनुसार प्रधानमन्त्रीमा नियुक्त शाहले आजै शपथ लिने भएका छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा दिउँसो १२ बजेर ३४ मिनेटमा उनले प्रधानमन्त्रीको शपथ ग्रहण गर्ने तयारी छ ।
मकवानपुर । मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व आज देशैभर श्रद्धा र भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदैछ । चैत्र शुक्ल नवमीलाई विष्णुकाे अवतार लिएर रामकाे जन्म भएकाे सम्झनामा हिन्दु धर्मावलम्बीहरुले मनाउँदै आएका छन् ।
रामनवमीको दिन देशभरका राम मन्दिरहरुमा पूजापाठ गरिन्छ । हिन्दू धर्मावलम्बीहरू रामनवमीका दिन बिहानै नुहाइधुवाइ गरी राम मन्दिरमा गई पूजा आराधना गर्ने गर्दछन् । राजधानीको बत्तिसपुतली स्थित राम मन्दिरमा पनि बिहानैदेखि भक्तजनको भीड लागेकाे छ । रामनवमीका दिन श्रीरामको व्रत, उपवास गरी पूजा, आराधना गर्नाले सुख शान्ति मिल्ने धार्मिक विश्वास छ ।
जनकपुरस्थित रामजानकीको मन्दिरमा पनि पूजा गर्नेहरुको घुइँचो छ । रामनवमीका दिन जनकपुर स्थित रामजानकी मन्दिरमा भव्य मेला लाग्छ । मेलामा नेपाल तथा भारतका हजारौं श्रद्धालुको घुइँचो लाग्छ । पवित्र पोखरी गङ्गासागरमा स्नान गरी श्रद्धालुले जानकी मन्दिर सहित विभिन्न मठ मन्दिरमा पूजापाठ गर्ने प्रचलन छ ।
त्रेतायुगमा आजकै दिन अयोध्यामा राजा दशरथ र रानी कौशल्यावतीको जेठो छोरोको रुपमा विष्णुको अवतार लिएर रामको जन्म भएको धर्मग्रन्थमा उल्लेख छ । रामले मिथिलाका राजा जनककी छोरी सीतासँग विवाह गरेको र दुष्टहरुको संहार गरेको वाल्मिकीय रामायणमा पढ्न पाइन्छ ।
यो पर्व चैत्र नवरात्रको विचमा आउने भएकाले यो दिन भगवान् श्रीरामका साथै आद्य शक्ति नव दुर्गा देवीको पनि पूजा हुन्छ । रामनवमीका अवसरमा आज सरकारले देशभर सार्वजनिक बिदा दिएको छ ।
मकवापुर । अखिल नेपाल फुटबल संघ (एन्फा)को मतदान कार्यक्रम स्थगित भएको छ । बिहीबार निर्वाचन समितिले चैत १३ गतेका लागि तय गरिएको मतदान कार्यक्रम अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको जनाकारी दिएको हो ।
एन्फालाई राष्ट्रिय खेलकुद परिषद्(राखेप) ले बुधबार ३ महिना सम्मका लागि निलम्बन गरेको थियो । एन्फा राखेपको निलम्बनमा परेपछि मतदान कार्यक्रम स्थगित भएकाे हो ।
राखेपको निर्देशन विपरीत एन्फाले साधारण सभा गर्ने बताएपछि विवाद सिर्जना भएको बताइएकाे छ ।
मकवमनपुर । बागमती प्रदेशकाे २ जिल्लामा भएकाे छुट्टाछुट्टै घटनामा ३ जनाकाे मृत्यु भएकाे छ । प्रदेशकाे मकवानपुर र चितवनमा भएकाे घटनामा ३ जनाकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।
मकवानपुरकाे बकैया गाउँपालिका ११ घट्टेपाखास्थित कान्ति लोकपथमा बुधबार बिहान ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालक घाइते भएका छन्।
हेटौंडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना ८ ख ८७६० नम्बरको सरसफाइ सामग्री लोड गरिएको ट्रक दुर्घटना हुँदा ट्रकमा सवार वीरगन्ज महानगरपालिका–३२ का २० वर्षीय सन्तोष यादवको घटनास्थलमै मृत्यु भएको हो। दुर्घटनामा चालक ३३ वर्षीय कृष्ण यादव घाइते भएका छन्। उनलाई उपचारका लागि भरतपुर रिफर गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएकाे छ।
वीरगन्जबाट काठमाडौंतर्फ जाँदै गरेको उक्त ट्रक बुधबार बिहान करिब ३ बजे दुर्घटनामा परेको थियो। ट्रक अनियन्त्रित भई सडक नजिक रहेको खालि घरमा ठोक्किएर करिब १५० मिटर तल खोल्सीमा खसेको प्रहरीले जनाएको छ। ट्रकले ठक्कर दिएको घर ओमानसिंह तितुङको रहेको बताइएकाे छ।
यसैगरी चितवनकाे भरतपुर महानगरपालिका–२७ मा स्कुटरको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ भने त्रिशूली नदी किनारमा एक पुरुषको शव भेटिएको छ ।
भरतपुर महानगरपालिका–२७, पर्साढाप बजारमा स्कुटरले साइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका साइकलयात्रीको उपचारका क्रममा मृत्यु भएको छ । आइतबार दिउँसो १ बजेको समयमा जितपुरबाट चनौलीतर्फ जाँदै गरेको बा प्र ०६–०१ प ००९० नम्बरको स्कुटरले साइकलयात्री भरतपुर–२७, पर्साढापका ६२ वर्षीय रामजी अर्याललाई ठक्कर दिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
स्कुटरकाे ठक्करबाट घाइते अर्याललाई उपचारका लागि चितवन मेडिकल कलेज लगिएकोमा मंगलबार मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । स्कुटर चालक भरतपुर–२८ का २८ वर्षीय सतिस मास्केलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस्तै चितवनको इच्छाकामना गाउँपालिका–६ त्रिशूली नदी किनारमा एक पुरुषको शव फेला परेको छ । मंगलबार दिउँसो ३ बजेको समयमा अन्दाजी ३५ वर्षीय पुरुषको शव फेला परेको प्रहरीले जानकारी दिएको छ । शवको पहिचान हुन सकेको छैन ।
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका – ४ स्थित भुटनदेवी माध्यमिक विद्यालयले अन्तराष्ट्रिय गुणस्तर कायम गर्ने भएकाे छ ।
भुटनदेवी मावि र ग्लाेवल क्वालिटी काउन्सिल, नेपालकाे प्रतिनिधिबीच आईतबार अन्तराष्ट्रिय गुणस्तर (आईएसओ) मा जाने सम्झाैतामा हस्ताक्षर भएकाे हाे । भाैतिक र शैक्षिक स्तर सुधारसहितको आईएसओमा हस्ताक्षर विद्यालय व्यवस्थापन समिति अध्यक्ष नवीन सिग्देल, प्रधानाध्यापक सूर्यप्रसाद घिमिरे र काउन्सिलका प्रतिनिधि सुदीप शर्माले गरे ।
आगामी २०८३ चैत्र मसान्तभित्र अन्तराष्ट्रिय गुणस्तर प्रमाणिकरण गरिसक्ने लक्ष्य रहेकाे विव्यस अध्यक्ष सिग्देलले जानकारी दिए । उनले भाैतिक संरचनाकाे गुणस्तरीय व्यवस्थापन र शैक्षिक वातावरण अन्तराष्ट्रियस्तरकाे मापदण्ड कायम गरिने प्रतिबद्धता व्यक्त गरे।
विद्यालयकाे प्रारम्भिक बस्तुस्थितिकाे परीक्षण र आगामी ३ वर्षे शैक्षिक गुणस्तर ढाँचा तयार गरिएकाे ग्लाेवल क्वालिटी काउन्सिल, नेपालका प्रतिनिधि सुदीप शर्माले जानकारी दिए। शर्माले सामुदायिक विद्यालयमा मकवानपुरकाे पहिलाे अन्तराष्ट्रिय गुणस्तर प्रमाणिकरण भएको विद्यालय भुटनदेवी मावि हुने समेत बताए ।
विद्यालय व्यवस्थापन समिति, शिक्षक तथा अभिभावक संघ, अनुगमन समितिका सदस्यहरूलाई अन्तराष्ट्रिय गुणस्तर मापदण्ड र सुचकबारे अभिमूखीकरण कार्यक्रम सञ्चालन गरिएकाे प्रअ सूर्यप्रसाद घिमिरेले जानकारी दिए ।
विभिन्न चरणमा भएकाे छलफल र अन्तरक्रियामा विव्यस अध्यक्ष सिग्देल, प्रअ घिमिरे, ग्लाेवल क्वालिटी काउन्सिल, नेपालका प्रतिनिधि शर्मासहितकाे टाेली तथा शिक्षक तथा अभिभावक संघ, नेपालका अध्यक्ष निकेशकृष्ण श्रेष्ठ, विद्यालय अनुगमन समितिका संयाेजक ईन्द्रप्रसाद नेपाल, टाेल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुव अधिकारी, महासचिव शिवहरी लगायत विभिन्न समितिका सदस्यहरूबीचकाे छलफलपछि अन्तराष्ट्रिय गुणस्तर प्रमाणीकरणमा जाने सम्झाैता गरिएकाे सहायक प्रअ तथा विद्यालय आईएसओ वेदराज काेईरालाले बताए ।