मकवानपुर । मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व आज देशैभर श्रद्धा र भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदैछ । चैत्र शुक्ल नवमीलाई विष्णुकाे अवतार लिएर रामकाे जन्म भएकाे सम्झनामा हिन्दु धर्मावलम्बीहरुले मनाउँदै आएका छन् ।
रामनवमीको दिन देशभरका राम मन्दिरहरुमा पूजापाठ गरिन्छ । हिन्दू धर्मावलम्बीहरू रामनवमीका दिन बिहानै नुहाइधुवाइ गरी राम मन्दिरमा गई पूजा आराधना गर्ने गर्दछन् । राजधानीको बत्तिसपुतली स्थित राम मन्दिरमा पनि बिहानैदेखि भक्तजनको भीड लागेकाे छ । रामनवमीका दिन श्रीरामको व्रत, उपवास गरी पूजा, आराधना गर्नाले सुख शान्ति मिल्ने धार्मिक विश्वास छ ।
जनकपुरस्थित रामजानकीको मन्दिरमा पनि पूजा गर्नेहरुको घुइँचो छ । रामनवमीका दिन जनकपुर स्थित रामजानकी मन्दिरमा भव्य मेला लाग्छ । मेलामा नेपाल तथा भारतका हजारौं श्रद्धालुको घुइँचो लाग्छ । पवित्र पोखरी गङ्गासागरमा स्नान गरी श्रद्धालुले जानकी मन्दिर सहित विभिन्न मठ मन्दिरमा पूजापाठ गर्ने प्रचलन छ ।
त्रेतायुगमा आजकै दिन अयोध्यामा राजा दशरथ र रानी कौशल्यावतीको जेठो छोरोको रुपमा विष्णुको अवतार लिएर रामको जन्म भएको धर्मग्रन्थमा उल्लेख छ । रामले मिथिलाका राजा जनककी छोरी सीतासँग विवाह गरेको र दुष्टहरुको संहार गरेको वाल्मिकीय रामायणमा पढ्न पाइन्छ ।
यो पर्व चैत्र नवरात्रको विचमा आउने भएकाले यो दिन भगवान् श्रीरामका साथै आद्य शक्ति नव दुर्गा देवीको पनि पूजा हुन्छ । रामनवमीका अवसरमा आज सरकारले देशभर सार्वजनिक बिदा दिएको छ ।

