मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका – ४ स्थित भुटनदेवी माध्यमिक विद्यालयले अन्तराष्ट्रिय गुणस्तर कायम गर्ने भएकाे छ ।
भुटनदेवी मावि र ग्लाेवल क्वालिटी काउन्सिल, नेपालकाे प्रतिनिधिबीच आईतबार अन्तराष्ट्रिय गुणस्तर (आईएसओ) मा जाने सम्झाैतामा हस्ताक्षर भएकाे हाे । भाैतिक र शैक्षिक स्तर सुधारसहितको आईएसओमा हस्ताक्षर विद्यालय व्यवस्थापन समिति अध्यक्ष नवीन सिग्देल, प्रधानाध्यापक सूर्यप्रसाद घिमिरे र काउन्सिलका प्रतिनिधि सुदीप शर्माले गरे ।
आगामी २०८३ चैत्र मसान्तभित्र अन्तराष्ट्रिय गुणस्तर प्रमाणिकरण गरिसक्ने लक्ष्य रहेकाे विव्यस अध्यक्ष सिग्देलले जानकारी दिए । उनले भाैतिक संरचनाकाे गुणस्तरीय व्यवस्थापन र शैक्षिक वातावरण अन्तराष्ट्रियस्तरकाे मापदण्ड कायम गरिने प्रतिबद्धता व्यक्त गरे।
विद्यालयकाे प्रारम्भिक बस्तुस्थितिकाे परीक्षण र आगामी ३ वर्षे शैक्षिक गुणस्तर ढाँचा तयार गरिएकाे ग्लाेवल क्वालिटी काउन्सिल, नेपालका प्रतिनिधि सुदीप शर्माले जानकारी दिए। शर्माले सामुदायिक विद्यालयमा मकवानपुरकाे पहिलाे अन्तराष्ट्रिय गुणस्तर प्रमाणिकरण भएको विद्यालय भुटनदेवी मावि हुने समेत बताए ।
विद्यालय व्यवस्थापन समिति, शिक्षक तथा अभिभावक संघ, अनुगमन समितिका सदस्यहरूलाई अन्तराष्ट्रिय गुणस्तर मापदण्ड र सुचकबारे अभिमूखीकरण कार्यक्रम सञ्चालन गरिएकाे प्रअ सूर्यप्रसाद घिमिरेले जानकारी दिए ।
विभिन्न चरणमा भएकाे छलफल र अन्तरक्रियामा विव्यस अध्यक्ष सिग्देल, प्रअ घिमिरे, ग्लाेवल क्वालिटी काउन्सिल, नेपालका प्रतिनिधि शर्मासहितकाे टाेली तथा शिक्षक तथा अभिभावक संघ, नेपालका अध्यक्ष निकेशकृष्ण श्रेष्ठ, विद्यालय अनुगमन समितिका संयाेजक ईन्द्रप्रसाद नेपाल, टाेल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुव अधिकारी, महासचिव शिवहरी लगायत विभिन्न समितिका सदस्यहरूबीचकाे छलफलपछि अन्तराष्ट्रिय गुणस्तर प्रमाणीकरणमा जाने सम्झाैता गरिएकाे सहायक प्रअ तथा विद्यालय आईएसओ वेदराज काेईरालाले बताए ।

