मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका -१०, स्थित टिसीएन चौरमा जारी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि काठमाडौंको न्यू डायमण्ड क्लबले कब्जा गरेको छ ।
जिल्ला खेलकुद विकास समिती मकवानपुरले आयोजना गरेको बृहत् खेलकुद कृषि तथा पर्यटन महोत्सव अन्तर्गत आइतबार दिउँसो भएको फाइनलमा बागमती प्रदेशको केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठानलाई ३-० को सोझो सेटले हराउँदै काठमाडौ चन्द्रगिरी नगरपालिकाको न्यू डायमण्ड क्लबले उपाधि आफ्नो पोल्टामा पारेको हो ।
फाइनलमा केशवलाल स्मृति प्रतिष्ठानलाई २५-१३,२५-१५ र २५-२३ को सोझो सेटमा पराजित गरेको हो । उपाधि विजेतासंगै न्यू डायमण्डले ३ लाख रुपैयाँ सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता केशवलालले २ लाख रुपैयाँ सहित शिल्ड, मेडल तथा प्रमाणपत्रमा चित्त बुझाए छ । यस्तै, सेमीफाइनलमा पराजित भएका लुम्बिनी प्रदेश पाल्पा जिल्लाको स्टेप भलिबल क्लब र मधेश प्रदेशको जनशक्ति युवा क्लबले ५० हजार रुपैयाँसहित मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै न्यु डायमण्ड क्लबकी सुनिता क्षेत्रीले १० हजार रुपैयाँको नगद पुरस्कार प्राप्त गरेकी छिन् । उत्कृष्ट स्पाइकर न्यू डायमण्डकी जेनिशा विश्वकर्मा, उत्कृष्ट डिफेन्डर एञ्जीला प्रधान, उत्कृष्ट सेटर न्यू डायमण्डकी भावना तामाङ, उत्कृष्ट सर्भर केशवलाल प्रतिष्ठानकी रेबिका लामा, उत्कृष्ट ब्लकर केशवलालकी सलिना गुरुङ र उत्कृष्ट प्रशिक्षक न्यू डायमण्डकी कुमार राई घोषित भएका छन् । उनीहरुले जनही ५/५ हजार रुपैयाँको नगद पुरस्कार र मेडल प्राप्त गरेकी छिन् ।
आइतबारको दोस्रो सेमीफाइनलमा पाल्पाको स्टेप भलिबल क्लबलाई २५-१६,२५-७ र २५-२० को सोझो सेटले पराजित गर्दै केशवलाल प्रतिष्ठान फाइनलमा प्रवेश गरेको थियो । यस्तै शनिबारको पहिलो सेमीफाइनलमा न्यू डायमण्डले मधेश प्रदेशको जनशक्ति युवा क्लबलाई २५-१०,२५-१४ र २५-१८ को सोझो सेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो ।
न्यू डायमण्ड क्लब यस अघिको महोत्सवमा भएको प्रतियोगिताको उपविजेता टोली हो । समूह ए बाट लिगको २ खेल खेलेको न्यू डाइमण्ड र समूह बी बाट लिगको २ खेल खेलेको केशवलालले विजेता बन्दै फाइनल यात्रा तय गरेका थिए ।
बागमती प्रदेशका कृषि तथा पशुपंक्षी विकास मन्त्रालय मन्त्री मदुसुदन पौडेलको प्रमुख आतिथ्यमा मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजकुमार मोक्तानको सभाध्यक्षमा पुरस्कार वितरण भएको थियो । मकवानपुर जिल्ला भलिबल संघ र केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठानको व्यवस्थापनमा भएको प्रतियोगितामा ६ वटा राष्ट्रिय टिमको सहभागिता रहेको थियो ।
यसैगरि खेलकुद महोत्सवमा अन्तिम प्रतियोगिता अन्तर्गत राष्ट्रिय खुल्ला तेक्वान्दो चैत ११ बुधबारदेखि शुक्रबारसम्म सचालन हुने आयोजकले जानकारी दिएको छ।

