मकवानपुर । प्रदेश लोक सेवा आयोग बागमती प्रदेशले आर्थिक वर्ष २०७९।०८० मा अधिकृतस्तर र सहायकस्तरका गरी ७ सय १३ जना उम्मेदवारलाई स्थायी नियुक्तिकाे लागि सिफारिस गरेकाे छ । आयोगको चौंथो वार्षिकोत्सवकाे अवसरमा मंगलबार ४ वर्षकाे प्रगति प्रतिवेदन सार्वजनिक गर्दै उक्त तथ्याङ्क पेश गरेकाे हाे ।
आयोगले स्थापनाकाे ४ वर्षमा स्थानीय तह र प्रदेशस्तरीय कार्यालयमा रिक्त रही माग भएका विभिन्न सेवा समूहका गरी अधिकृतस्तरका ४१ जना र सहायकस्तरका ६ सय ७२ जनालाई स्थायी नियुक्तिका लागि सिफारिस गरिएकाे प्रदेश लाेक सेवा आयाेगका अध्यक्ष सुरेशमान श्रेष्ठले जानकारी दिए ।
गत आवमा कुल ७ सय १३ जना उम्मेदवार स्थायी नियुक्ति लागि सिफारिस गरिएकामा १७ जना आन्तरिक प्रतियोगिताबाट, ४ सय ४७ जना खुला र २ सय ४९ जना समावेशीबाट रहेकाे आयाेगकाे तथ्याङ्कमा उल्लेख गरिएकाे छ । समावेशीतर्फ सिफारिस भएका २४९ उम्मेदवारमध्ये १३५ जना महिला, ६४ जना आदिवासी-जनजाति, ३२ जना मधेसी र १८ जना दलित कोटाका छन् ।सिफारिस गरिएका उम्मेदवारहरु मध्ये २ सय ८३ महिला र ४ सय ३० जना पुरुष छन् । आयोगको तथ्याङ्क अनुसार आयाेग स्थापनाकाे ४ वर्षकाे अवधीमा स्थायी नियुक्ति लिएका उम्मेदवारमध्ये सहायक स्तर चौथो र पाँचौँ तहका विभिन्न सेवा समूहका ६ सय ७२ जना छन् भने अधिकृतस्तर छैटौँदेखि नवौँ तहसम्मका ४१ जना रहेका छन् ।
बागमती प्रदेश सरकारले प्रदेश निजामती कर्मचारी ऐन २०७९ जारी गरेपछि हालसम्म आयाेगले अधिकृतस्तर १० औं तहमा कार्य सम्पादन, उमेर र वरिष्ठताका आधारमा १२ जना कर्मचारीको बढुवा गरी ११ औँ तहमा पदस्थापन गरेको छ ।
संविधानको धारा २४४ को उपधारा (१) अनुसार बागमती प्रदेश सभाले प्रदेश लोक सेवा आयोग ऐन, २०७६ सम्बन्धी विधेयक पारित गरे पछि प्रदेश सरकारले राजपत्रमा प्रकाशित गरी २०७६ असोज २८ गतेबाट लागु भएको हाे । उक्त ऐन अनुसार गठन भएकाे प्रदेश लाेक सेवा आयोगले बागमती प्रदेश सरकार र प्रदेशभित्रका स्थानीय तहका विभिन्न सेवा, समूह, उपसमूह र तहका रिक्त पदमा उपयुक्त उम्मेदवार छनोट गरी पदपूर्तिका लागि स्थायी नियुक्तिकाे लागि सिफारिस गर्दै आएकाे आयोगका सचिव बाबुराम ज्ञवालीले बताए ।
आयोगले हालसम्म प्रदेश निजामती सेवा, स्थानीय सरकारी सेवा, प्रदेश प्रहरी, प्रदेश अनुसन्धान व्यूरो, प्रदेश तथा स्थानीय तहका संगठित संस्थाको वार्षिक पदपूर्ति कार्यतालिका प्रकाशन गरेको छ । यसैगरी विभिन्न सेवा, समूह र तहका ४५ वटा पाठ्यक्रम नयाँ निर्माण गरी लागू गरेकाे छ ।
आयोगमा माग भइ आए अनुसार जम्मा १ सय ३४ वटा बढुवा तथा खुला तथा समावेशी विज्ञापन प्रकाशन गरिएको छ । जस अन्तरगत बढुवा सूचना ८२, आन्तरिक अन्तर सेवा विज्ञापन ९, अन्तर सेवा विज्ञापन १०, खुला प्रतियोगितात्मक ५४ र समावेशी ६१ वटा रहेका छन् । उक्त विज्ञापनहरुबाट बढुवातर्फ १ सय ५४, आन्तरिक अन्तर सेवातर्फ १०, अन्तर तहतर्फ ११, खुला प्रतियोगितातर्फ ४ सय ८१ तथा महिला, आदिवासी/जनजाति, मधेसी, दलित, अपाङ्ग र पिछडिएको क्षेत्रका समावेशी प्रतियोगितातर्फ २ सय ९४ गरी जम्मा ९ सय ५० पदका लागि दरखास्त माग गरिएको सचिव ज्ञवालीले जानकारी दिए ।
यसैविच प्रदेश लाेक सेवा आयाेग बागमती प्रदेशले मंगलबार चौथाे वार्षिककाेत्सव कार्यक्रममा प्रदेश प्रमुख यादचन्द्र शर्माले ‘प्रदेश लोक सेवा आयोगले निश्पक्ष र स्वतन्त्र रुपमा काम गरेर देशको पद्धतिलाई जोगाउने काम गरेको छ बताए । ‘नेपाली समाजमा अहिले विकास क्रमसंगै विकृतिहरु भित्रिएकोमा छ’ उनले भने आयोगमा देखिने गरेका समस्याकाे सुधारसंगै व्यवस्थापनमा अग्रसर हुनुपर्छ ।’
बागमती प्रदेश लोक सेवा आयोगका अध्यक्ष सुरेशमान श्रेष्ठको सभाध्यक्षता एवम् बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माको प्रमुख आतिथ्यथामा भएको कार्यक्रममा बागमतीका भौतिक पुर्वाधार विकास मन्त्री युवराज दुलाल, उधोग वाणिज्य, भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकार, पूर्ब मुख्यमन्त्री डोरमणी पौडेललगायतकाे सहभागिता थियो ।
महोत्तरी । जिल्ला प्रहरी कार्यालय महोत्तरीले हिरासत कक्षमा पुस्तकालय संचालनमा ल्याएको छ । प्रहरी कार्यालयले हिरासतमा पुस्तकालय कार्यक्रमलाई मंसिर ५ गते मंगलबारबाट संचालनमा ल्याएको छ ।
मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय महोत्तरीबीच गत साउन २९ गते भएको कार्य सम्पादन सम्झौता अनुसार जिल्ला प्रहरी कार्यालय महोत्तरीको नव-प्रवर्तनीय कार्य `हिरासतमा पुस्तकालय´ कार्यक्रमको मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक जनक भट्टराईले मंगलबार एक समारोहबीच पुस्तकालय उद्घाटन गरेका हुन् ।
उद्घाटनसँगै मंगलबारबाटै पुस्तकालयको सेवा प्रारम्भ भएको छ । पुस्तकालय स्थापना गर्न जलेश्वर नगरपालिका वडा नम्बर २ का अध्यक्ष वरुणकुमार दाहाल र वडा नम्बर ६ का अध्यक्ष रवीन्द्रप्रसाद साहले सहजीकरण गरेका छन् ।
विभिन्न किसिमका फौजदारी अभियोगमा कानुनी हिरासतमा रहेका थुनुवाहरूको आचरण, व्यवहार र सोचमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले हिरासतमा पुस्तकालय स्थापना गरिएको महोत्तरी जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रकाश मल्लले जानकारी दिए ।
प्रहरी प्रमुख मल्लले पढ्न नपाउनु र नपढ्नुमा तात्विक भिन्नता रहेको बताउँदै यी दुबै परिस्थिति समाजको विकासका लागि बाधक बनिरहेको बताए । `यसमा पूर्णरूपमा सुधारको आवश्यकता छ´, प्रहरी प्रमुख मल्लले भने – `मानिसमा चेतनाको विकास नभएसम्म केही पनि सुधार हुन सक्तैन, शिक्षाले मात्रै मानिसलाई चेतनशील बनाउँछ ।´
मानिसलाई शिक्षा प्रदान गर्न समाजको तल्लो तहबाटै पहल गरिनुपर्ने उनले बताए । यही सोचका साथ हिरासतमा पुस्तकालय तयार भएको मल्लले बताए । मल्लले यस अघि पनि आफूले काम गरेका विभिन्न जिल्लामा `हिरासतमा पुस्तकालय´ अभियान स्थापना गराएको जानकारी दिए ।
मकवानपुर । आन्तरिक राजश्व कार्यालय मकवानपुरले आर्थिक वर्ष २०७९/०८० मा ८८ प्रतिशत राजश्व संकलन गरेकाे छ । कार्यालयले गत आवमा राजश्व असुली लक्ष्य ७ अरब ५० कराेड ३९ लाख ४२ हजार गरेकाेमा उक्त आवमा ६ अरब ६० कराेड ८८ लाख २२ हजार राजश्व असुली गरेकाे हाे ।
आन्तरिक राजश्व कार्यलय मकवानपुरले राष्ट्रिय कर दिवस तथा कर सप्ताह अन्तर्गत मंगलबार हेटौंडामा गरेको अन्तरक्रिया कार्यक्रममा राजश्व लक्ष्य तथा असुली विवरण सार्वजनिक गर्दै गत आवमा ८८.०७ प्रतिशत राजश्व असुली भएकाे जानकारी गराएको हाे ।
कार्यालयले आर्थिक वर्ष २०८०/०८१ मा राजश्व असुलीकाे लक्ष्य ८ अरब ८० कराेड ४५ लाख २४ हजार राखेकाे छ । यसैगरी चालु आवकाे कार्तिक महिनासम्म राजश्व असुलीकाे लक्ष्य २ अरब ४७ करोड ५९ लाख ६४ हजार रहेकाेमा उक्त अवधीमा राजश्व असुली १ अरब ८७ करोड ४६ लाख ६४ हजार अर्थात ७५.७१ प्रतिशत रहेकाे आन्तरिक राजस्व कार्यलय मकवानपुरका प्रमुख कर अधिकृत तुलसी प्रसाद भट्टराईले जानकारी दिए ।
यसैगरी मकवानपुर जिल्लाका १ लाखभन्दा बढी जनसंख्या करको दायरामा रहेका उनले बताए । जिल्लाको करिब ४ लाख ६६ हजार जनसंख्यामध्ये १ लाख २ हजार ६ सय ८९ जना करको दायरामा रहेको प्रमुख कर अधिकृत भट्टराईले जानकारी दिए ।भट्टराईका अनुसार आयकर तर्फ ३१ हजार ८ सय ५७ जना, मुल्य अभिबृद्धिकरमा ५ हजार ५ सय ३१ जना, अन्तःशुल्क दर्ता १ हजार ६ सय १६ जना, डब्लु प्यानतर्फ ६ सय ६८ जना, पिप्यानतर्फ ७० हजार १ सय ६४ जना करदाता रहेका छन् ।
मकवानपुर । सामाजिक सूचना व्यवस्थापन प्रणाली (सिम्स) को मानव बेचबिखन मोड्युलसम्बन्धी दुई दिने तालीम हेटौंडामा गरिएको छ ।
मानव बेचबिखन तथा ओसारपसार विरुद्ध तथ्यांक व्यवस्थित गर्दै कार्य प्रक्रियालाई सहज बनाउने उदेश्यले बनाइएको सिम्स कार्यान्वयनमा ल्याइएकोमा यसको प्राबिधिक पाटोमा तालीम दिइएको हो ।
सिम्स कार्यान्वयनको क्रममा देशभरकै स्थानीय तहमा एकीकृत रूपमा सूचना व्यवस्थापन गर्नको लागि सरोकारवालालाई कार्यक्षमता विकासको लागि तालीम दिइएको आयोजकले जनाएको छ ।
युएसएडको आर्थिक सहयोगमा वीन रक इन्टरनेशनद्वारा संचालित र हाम्रो सम्मान परियोजना र संघीय सरकार महिला बालबालिका तथा ज्येष्ठ मन्त्रालयको सयुक्त प्राविधिक सहयोग र शान्ति फाउन्डेसनको समन्वयमा सिम्स निर्माण गरिएको हो ।
कार्यक्रममा संघीय सरकार ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव रामहरि गैरे, वीन रक परियोजनाका रत्नकाजी श्रेष्ठ, दिपेन्द्र शर्मा,तिर्थ न्यौपाने, प्रोफेसनल कम्प्युटर सिस्टम ९पिसिएस० का प्रतिनिधिहरू लिड सफ्टवेयर इन्जिनियर प्रेरिका लक्ष्मी प्रधान र संजित थारु चौधरीले सहजीकरण गरेका थिए ।
कार्यक्रममा मकवानपुर जिल्लाको मनहरी र बकैया गाउपालिका, हेटौंडा उपमहानगरपालिका, काठमाडौ जिल्लाको काठमाडौ महानगरपालिका, बुढानिलकण्ठ नगरपालिका, टोखा नगरपालिका, सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका, पांचपोखरी थम्पाल र भोटेकोसी गाउँपालिका गरि ९ वटा स्थानीय तहका सूचना अधिकृत र महिला बालबालिका शाखाका कर्मचारीलाई तालीम प्रदान गरिएको शान्ति फाउन्डेसन मकवानपुर जिल्ला अधिकृत सीता गुरुङले बताइन् ।
यसैगरी बागमती प्रदेश सामाजिक विकास मन्त्रालयको महिला बालबालिका शाखा प्रमुख र प्रतिनिधि, शान्ति फाउन्डेसन सिन्धुपाल्चोकको जिल्ला अधिकृत श्याम गोले, मकवानपुर जिल्ला प्रतिनिधि देबकी ढुङ्गाना, माइती नेपाल मकवानपुर, हिरण्य नेपाल, सिविन बाल हेल्प लाइन साना हातहरू नेपाललागयत सामाजिक संस्थाहरुकाे प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।
तालिममा प्राबिधिक सहयोग प्रोफेसनल कम्प्युटर सिस्टमले गरेको थियो । जिल्लाको वडातह, स्थानीय तहदेखी संघीय स्तरसम्म सिम्स मार्फत एकीकृत गर्ने प्रणालीको लागी देशको झण्डै ३ सय स्थानीय तहले सिम्स प्रणालीलाई अपनत्व गरेको उपसचिव गैरेले बताए ।
सिम्स प्रणाली मार्फत तथ्याङ्क व्यवस्थापन गर्दा सबै स्तरको तथ्यांकहरू एकीकृत रूपमा रहने र अन्य कार्यमा समेत सहज हुने भएकोले सबै तहको सरकारले अपनत्व गर्नु आवश्यक रहेको शान्ति फाउन्डेसनकि अधिकृत गुरुङले बताइन् ।
कार्यक्रमको उद्घाटन गर्दै बागमती प्रदेशको सामाजिक विकास मन्त्री कुमारी मोक्तानले गरेकी थिइन् । मानव बेचबिखन तथा ओसारपसार विरुद्धको प्रदेश स्तरीय संरक्षण नीतिलाई प्रदेश सभाबाट सक्दो चाडो पास गर्ने र यस्तो नीतिगत सवालमा काम गर्न सहज हुने मन्त्री मोक्तानले बताइन् ।
सिम्स प्रणाली स्थानीय तहमा कार्यान्वयनमा देखिएको समस्या बारे, प्राबिधिक सहयोग, ज्ञान, निर्देशिका बारे जानकारी पर्याप्तता वा अभाव बारे सहभागीहरूसंग छलफल र प्रतिक्रिया आदनप्रदान समेत गरिएको थियोे ।
मकवानपुर । हेटौंडा सामुदायिक आँखा अस्पतालले मकवानपुरसहित तराईका जिल्लाहरुमा आँखा शिविर संचालन गर्ने भएको छ । तिलगंगा आँखा प्रतिष्ठानद्वारा संचालित अस्पतालले मंसिर र पुस महिनामा मकवानपुर, बारा, पर्सा, रौतहट, सर्लाहीलगायत जिल्लाहरुमा निःशुल्क आँखा शिविर गर्ने जनाएको छ ।
आफ्नाे तालिका अनुसार मंसिर र पुसमा विभिन्न जिल्लाहरुमा निःशुल्क शिविर गर्दै आइरहेको आँखा अस्पतालले यो वर्ष पनि नि:शुल्क शिविर गर्न लागिएको व्यवस्थापक सुधीर श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार आगामी ८, ९, २५ र २६ गते मकवानपुरको बागमती गाउँपालिकामा निःशुल्क आँखा शिविर हुनेछ । यस्तै सर्लाहीलगायतका तराईका जिल्लाहरुमा भने पुस महिनाबाट शिविर संचालन गरिने श्रेष्ठले बताए । जाडो मौसम सुरु भएसँगै आँखाको शल्यक्रिया गर्नु उपयुक्त हुने भएकोले आँखा अस्पतालले स्थानीय समुदायसँगको सहकार्यमा शिविरको आयोजना गर्ने गरेको अस्पतालले जनाएको छ ।
नि:शुल्क आँखा शिविरमा आँखाको परीक्षण गर्नुका साथै मोतिविन्दुको समस्या भएका बिमारीको शल्यक्रिया नि:शुल्क रुपमा गर्ने ब्यबस्था गरिने ब्यबस्थापक श्रेष्ठ बताए । मोतिविन्दुको शल्यक्रियाका लागि बिरामीलाई नि:शुल्क खानेबस्ने सुबिधासहित यातायातको ब्यबस्था गरी हेटौंडास्थित अस्पतालमै ल्याउने गरिएको उनले जानकारी दिए ।
