मकवानपुर । आन्तरिक राजश्व कार्यालय मकवानपुरले आर्थिक वर्ष २०७९/०८० मा ८८ प्रतिशत राजश्व संकलन गरेकाे छ । कार्यालयले गत आवमा राजश्व असुली लक्ष्य ७ अरब ५० कराेड ३९ लाख ४२ हजार गरेकाेमा उक्त आवमा ६ अरब ६० कराेड ८८ लाख २२ हजार राजश्व असुली गरेकाे हाे ।
आन्तरिक राजश्व कार्यलय मकवानपुरले राष्ट्रिय कर दिवस तथा कर सप्ताह अन्तर्गत मंगलबार हेटौंडामा गरेको अन्तरक्रिया कार्यक्रममा राजश्व लक्ष्य तथा असुली विवरण सार्वजनिक गर्दै गत आवमा ८८.०७ प्रतिशत राजश्व असुली भएकाे जानकारी गराएको हाे ।
कार्यालयले आर्थिक वर्ष २०८०/०८१ मा राजश्व असुलीकाे लक्ष्य ८ अरब ८० कराेड ४५ लाख २४ हजार राखेकाे छ । यसैगरी चालु आवकाे कार्तिक महिनासम्म राजश्व असुलीकाे लक्ष्य २ अरब ४७ करोड ५९ लाख ६४ हजार रहेकाेमा उक्त अवधीमा राजश्व असुली १ अरब ८७ करोड ४६ लाख ६४ हजार अर्थात ७५.७१ प्रतिशत रहेकाे आन्तरिक राजस्व कार्यलय मकवानपुरका प्रमुख कर अधिकृत तुलसी प्रसाद भट्टराईले जानकारी दिए ।
यसैगरी मकवानपुर जिल्लाका १ लाखभन्दा बढी जनसंख्या करको दायरामा रहेका उनले बताए । जिल्लाको करिब ४ लाख ६६ हजार जनसंख्यामध्ये १ लाख २ हजार ६ सय ८९ जना करको दायरामा रहेको प्रमुख कर अधिकृत भट्टराईले जानकारी दिए ।भट्टराईका अनुसार आयकर तर्फ ३१ हजार ८ सय ५७ जना, मुल्य अभिबृद्धिकरमा ५ हजार ५ सय ३१ जना, अन्तःशुल्क दर्ता १ हजार ६ सय १६ जना, डब्लु प्यानतर्फ ६ सय ६८ जना, पिप्यानतर्फ ७० हजार १ सय ६४ जना करदाता रहेका छन् ।

