मकवानपुर । नेपाल राष्ट्रिय शिक्षक संगठन बागमती प्रदेशकाे प्रथम अधिवेशन आज शुक्रबारबाट हेटौंडामा सुरु हुँदैछ । हेटौंडामा पत्रकार भेटघाट गरी शिक्षक संगठन बागमती प्रदेश समितिले अधिवेशनबारे जानकारी गराएको हो ।
अधिवेशनको शुक्रबार संगठनका राष्ट्रिय समिति अध्यक्ष विष्णु भण्डारीले उद्घाटन गर्ने कार्यक्रम रहेकाे छ । शुक्रबार बिहानबाट सुरु हुने अधिवेशन शनिबारसम्म हुनेछ । अधिवेशनमा प्रदेशभित्रका १३ जिल्लाका करिब ६ सय जना प्रतिनिधि सहभागी हुने संगठनका बागमती प्रदेश समितिले जनाएकाे छ । बागमती प्रदेश समिति अध्यक्ष नीरबहादुर कार्कीका अनुसार अधिवेशनबाट ३५ सदस्यीय बागमती प्रदेश समिति र तीन जना केन्द्रीय प्रतिनिधि निर्वाचित हुने छन् ।
प्रदेश कार्यसमिति सकेसम्म सर्वसम्मत चयन हुने बताइएकाे छ । २०३६ सालमा हेटौंडा–४ स्थित भूटनदेवी माविबाट संगठन सुरु भएकोले प्रदेशकाे प्रथम अधिवेशन मकवानपुर जिल्लामा आयोजना गरिएको कार्कीले जानकरी दिए ।
पत्रकार सम्मलेनमा संगठनका प्रदेश समितिका पदाधिकारी र मकवानपुर जिल्ला अध्यक्ष श्रीराम दाहाललगायतको उपस्थिति रहेको थियो ।
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकाले ग्रामीण अल्ट्रासाउन्ड(एक्स-रे) सेवा सुरु गरेको छ । पालिकाले गर्भवती महिला लक्षित कार्यक्रम अन्तर्गत अल्ट्रासाउन्ड मेसिन खरिद गरी सेवा सञ्चालन गरेको हो ।
गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले स्वास्थ्य शाखालाई भिडियो एक्स-रे मेशिन हस्तान्तरण गरे संगै सेवा सञ्चालन गरिएको बताए । ‘गर्भवती अवस्थामा आमा र बच्चाको स्वास्थ्य अवस्था बुझ्न भिडियो एक्सरे गर्न आवश्यक छ’ मेशिन हस्तान्तरण गर्दै उनले भने ‘वडाका स्वास्थ्य संस्थामार्फत सहजरुप सेवा दिनु पर्छ ।’
ग्रामिण भिडियो एक्सरे सेवा मार्फत प्रत्येक वडाका गर्भवती महिलाहरुले नजिकैको स्वास्थ्य चौकीबाट निःशुल्क सेवा प्राप्त गर्ने स्वास्थ्य शाखा प्रमुख रामचन्द्र दाहालले जानकारी दिए । एक्सरे सेवाले गर्भवती आमा र बच्चाको स्वास्थ्य अवस्थाको जानकारीसंगै शिशु तथा मातृ मृत्युदर न्यूनिकरण गर्न सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे ।
यसअघि भिडियो एक्सरे सेवाका लागि मनहरीका दुर्गम गाउँका गर्भवती महिलाहरु महनरी बजारदेखि हेटौंडा आउनु पर्ने बाध्यता रहेको थियो । यस्तै उक्त सेवा लिन स्थानीय निजी अस्पतालमा महँगो शुल्क तिर्न बाध्य थिए ।
यस सेवाले विशेष गरी मनहरीका दुर्गम क्षेत्रका गर्भवती महिलाहरु बढी लाभान्वित हुने पालिकाको विश्वास छ । एक्सरेको लागि हेटौंडासम्म धाउनु पर्ने बाध्यताको अत्य भएपछि मनहरीका स्थानीयहरुले खुशी व्यक्त गरेका छन् ।
यसैगरी गाउँपालिकाले गर्भवती महिलाहरुलाई पुर्ण संस्थागत प्रसुती सेवाका लागि निःशुल्क एम्बुलेन्स सेवाको ब्यवस्था गरेको छ । त्यस्तै पालिकाले गर्भवती महिलालाई प्रयोगशालाको पनि सुविधा उपलब्ध गराएको अध्यक्ष कालाखेतीले जानकारी दिए।
पालुङ। जाजरकाेट भूकम्प पीडितलाई पालुङ जेसीजले राहत रकम उपलब्ध गराएकाे छ । थाहा नगरपालिकामा क्रियाशिल पालुङ जेसीजले भूकम्पका कारण पीडितहरुलाई राहत उपलब्ध गराउन २५ हजार २५ रुपैंया नेपाल जेसीज मार्फत पठाएको छ ।
कात्तिक १७ गते मध्यरात जाजरकोट केन्द्रबिन्दु भई गएको भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिम क्षेत्रमा पठाउनको लागि जेसीज सदस्यहरुको सक्रियतामा स्थानीय स्तरमा संकलन गरी नेपाल जेसीज मार्फत उक्त रकम नेपाल जेसीजको खातामा मंगलबार जम्मा गरिएको पालुङ जेसीज बर्ष २०२३ का कानुनी सल्लाहकार निरज रायमाझीले बताए ।
भूकम्प गए लगत्तै पालुङ जेसीजले स्थानीय स्तरमा संकलन गरेकाे र जेसीजको बिपत राहत कोषमा जम्मा भएको रकम सहयाेग गरिएकाे रायमाझीले जानकारी दिए । ‘मानवताको सेवा नै जीवनको सर्बोत्तम कार्य हो’ भन्ने जेसीजको नारालाई आत्मसाथ गर्दै भूकम्प पीडितहरुको घाउमा थोरै भएपनि मलम लगाउनको लागि पालुङ जेसीजले नेपाल जेसीज मार्फत सहयोग रकम पठाईएको पालुङ जेसीज बर्ष २०२३ का अध्यक्ष एपम् नेपाल जेसीज बर्ष २०२४ का लागि राष्ट्रिय उपाध्यक्ष पदका उम्मेद्वार संगम कार्कीले बताए ।
मकवानपुर । यातायातकाे सुविधाबाट वञ्चित हेटौंडा–१ शिखरकोट (ध्याङसिंटार) का बासिन्दा सडक सुबिधाबाट लाभाम्वित हुने भएका छन् ।
हेटौंडा–१ शिखरकोट (ध्याङसिंटार) का स्थानीयले हेटौंडा बजारसम्म आउन धेरै समय खर्चनु पर्ने भएपछि हेटौंडा १ शिखरकोट र हेटौडा ११ स्मारक जोडिने गरी सडक स्तरीकरणकाे कामले निरन्तराता पाएकाे छ । हेटौंडा उपमहानगरपालिका र हेटौंडा १ नम्बर वडा कार्यालयको लगानीमा हेटौंडा–११ बनदेबी बाट सडक स्तरीकरणको कामले निरन्तरताले बिकट गाउँमा रहेका स्थानिय सडक सुबिधाबाट लाभाम्बित हुने भएका हुन् ।
उपमहानगर र वडा नम्बर १ बाट छुट्याइएको बजेट बाट गत आर्थिक बर्षमा ३० लाख बराबरको काम भएको थियो । बहुबर्षे योजनामा झै काम भैरहेको हेटौंडा–११ बनदेबी बाट उकालो लाग्दै जाने सडकमा गत आर्थिक बर्षमा उपमहानगरले २० र १ नम्बर वडा बाट १० लाख रुपियाँ गरी ३० लाख बराबरको काम भएको थियो ।
चालु आर्थिक बर्ष २०८०/०८१ मा उपमहानगरपालिकाले बिनियोजन गरेको ५० लाख रुपियाँ बजेटले बुधबारबाट सडकको स्तरीकरण सुरु गरीएको छ । उपमहानगरले बिनियोजन गरेको बजेटबाट थालिएको स्तरीकरणको कामलाई नगर उपप्रमुख राजेश बानियाँले शिलान्यास गरेका छन् । करीब ८७० मिटर लामो सडकको शिखरकोट पुगेर उनले शिलान्यास गरेका हुन् । सडक निर्माण सम्पन्न भएसँगै हेटौंडा ११ हुँदै बजारसम्म आउन करिब २० मिनेटको समय लाग्ने स्थानीयको भनाई छ । अहिले भैरबडाँडा हुँदै बजारसम्म आउँने करिब २ घण्टा बन्दा बढि समय लाग्ने स्थानीय नामग्याल सिन्तानले बताए ।
सडकको शिलान्यास गर्दै कार्यवाहक नगर प्रमुख समेत रहेका बानियाँले पूर्वाधार निर्माणको कामलाई बिशेष प्राथमिकतामा राखेर अघि बढिरहेको बताए । उनले तत्कालिन नगरपालिकासँग जोडिएका गाउँपालिका लक्षित बिकासलाई उपमहानगरले अघि बढाएको भन्दै उनले जनताको भावनालाई समेट्दै अहिलेको नेतृत्व अघि बढ्ने बताए । उनले उपमहानगर भित्र रहेर पनि धेरै वडाका ठाउँहरु बिकट रहेको भन्दै त्यस्ता क्षेत्रलाई प्राथमिकतामा राखेर अघि बढ्न तत्पर रहेको बताए । हेटौंडा–११ स्मारक सम्म जोडिनका लागि आगामि दिनमा पनि बजेट निर्माण प्रकृयामा ध्यान दिन प्रतिबद्धता जनाए ।
सडक स्तरीकरणको शिलान्यास कार्यक्रममा हेटौंडा १ का वडा अध्यक्ष सबिन न्यौपानेले शिखरकोट क्षेत्रमा रहेको स्वास्थ्य र खानेपानीको समस्या समाधानका लागि आपू तत्पर रहेकाे बताए । बजार क्षेत्र भन्दा पर ग्रामीण भेगलाई ध्यान दिँदै वडा कार्यालयले काम गरिरहेको उनले बताए ।
सडक स्तरीकरण समितिका अध्यक्ष लवाङ सिन्तानको अध्यक्षतामा भएको कार्यक्रममा कार्यपालिका सदस्य इश्वरी रसाईली, वडा सदस्यहरु सोनामसिंह व्लोन, मनु दाहाल, वडा सचिव गंगा राई, प्राबिधिक छठु साह, नेपाली काग्रेस १ नम्बर इकाई सभापति हरीकृष्ण महर्जन, स्थानीय समाजसेवी नामग्याल सिन्तान लगाएको उपस्थिति थियो ।
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकाका चेपाङ्गहरूले स्वास्थ्य र शिक्षामा प्राथमिकता दिन गाउँपालिकालाई आग्रह गरेका छन् ।
गाउँपालिका र चेपाङ्ग समुदायका अग्रज व्यक्तित्वबीच आज बुधबार मनहरीमा भएको अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरूले यस्तो सवाल उठाएका हुन् । चेपाङ्ग समुदायका अगुवाहरुले विकास निर्माणका कार्यहरुमा सो समुदायलाई समेट्नु पर्ने माग गरेका छन् । चेपाङ्गलाई रोजगारीको व्यवस्था गरी आत्मनिर्भर बनाउन पनि उनीहरुले अनुरोध गरे ।
कार्यक्रममा बागमती प्रदेशका पूर्वराज्यमन्त्री सन्तबहादुर चेपाङ्गले आफ्नो कार्यकालमा चेपाङ्ग जातिका लागि उल्लेखनीय कार्य गरेको दावी गरे । हालसम्म १ अर्ब ६० करोँड लगानी गरी चेपाङ्ग समुदायको लागि स्तरोन्नतीका कार्यक्रमहरु ल्याइएको उनले दाबी गरे ।
गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले चेपाङ्ग समुदाय लक्षित बजेट निर्माणका लागि सबैको सल्लाह अनुसार अघि बढ्ने बताए । सीमान्तकृत चेपाङ्ग समुदायको निशुल्क शिक्षा र स्वास्थ्यका लागि गाउँपालिकाले बजेट विनियोजन गरेको बताउँदै आवश्यकता अनुसार वडा कार्यालयको सीफारीस अनुसार सेवा लिन आग्रह गरे ।
कार्यक्रममा उपाध्यक्ष सीता पुलामी मगर, ४ नं वडाअध्यक्ष प्रकास थापा, १ नं वडाअध्यक्ष शिव खनाल र ३ नं वडाअध्यक्ष अनन्त प्रकाश अर्याल, सामाजिक विकास शाखा प्रमुख ज्ञानेन्द्र ढकाल र ४५ जना चेपाङ्ग समुदायका अग्रज व्यक्तीहरुको उपस्थिती रहेको थियो ।
आदीवासी जनजाती समुह मकवानपुरको सहजीकरण र गाउँपालिकाको आयोजनामा अन्तरक्रिया भएको थियो ।

