मकवानपुर । बागमती प्रदेशमा सञ्चालनमा रहेको सुरक्षित आप्रवासन प्रभावकारी कार्यान्वयन, समन्वय सुदृढीकरण तथा आगामी रणनीति निर्धारणका लागि प्रदेश कार्यक्रम समन्वय समितिको बैठ भएको छ।
श्रम, रोजगार तथा यातायात मन्त्रालय, बागमती प्रदेशको आयोजनामा , श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापाको अध्यक्षतामा सम्पन्न बैठकले कार्यक्रमको प्रगति समीक्षा गर्दै विभिन्न रणनीतिक निर्णयहरू गरेको छ।
बैठकमा चालु आर्थिक वर्ष २०८२।०८३ मा सञ्चालित गतिविधि तथा प्राप्त उपलब्धिहरूको विस्तृत समीक्षा गरिएको थियो।
बैठकमा विगतका निर्णयहरूको कार्यान्वयन अवस्थाको मूल्याङ्कन गर्दै सुधारका लागि आवश्यक निर्देशन दिइएको मन्त्रालयले जनाएको छ।
साथै, कार्यक्रम समन्वय तथा कार्यान्वयन एकाइबाट भएका निर्णयहरूलाई औपचारिक रूपमा अनुमोदन गरिएको छ।
कार्यक्रमको दिगोपना सुनिश्चित गर्न स्थानीय तहमा प्रदान गरिँदै आएको प्राविधिक सहयोगलाई क्रमशः न्यूनीकरण गर्दै लैजाने रणनीति समेत बैठकले तय गरेको छ। यसका साथै प्रदेश सुशासन केन्द्रसँग सहकार्य गरी क्षमता विकासका कार्यक्रमहरू सञ्चालन गर्ने निर्णय पनि गरिएको छ।
बैठकलाई सम्बोधन गर्दै श्रम, रोजगार तथा यातायात मन्त्रीले सुरक्षित आप्रवासन कार्यक्रमलाई थप प्रभावकारी, परिणाममुखी र दिगो बनाउनु अहिलेको आवश्यकता रहेको बताए। उनले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको अधिकार, सुरक्षा र सम्मान सुनिश्चित गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गरे।
“सुरक्षित आप्रवासन कार्यक्रमले श्रमिकलाई सही सूचना, सीप र मनोसामाजिक सहयोग उपलब्ध गराउँदै आएको छ। यसलाई अझ सुदृढ बनाउँदै स्थानीय तहसम्म संस्थागत रूपमा स्थापित गर्न आवश्यक छ,” मन्त्री थापाले भने।
उनले कार्यक्रम कार्यान्वयनमा सबै तहका सरकारबीच समन्वय अपरिहार्य रहेको उल्लेख गर्दै आगामी दिनमा सहकार्यलाई अझ मजबुत बनाइने बताए।
बैठकमा स्वास्थ्य निर्देशनालय र स्वास्थ्य तालिम केन्द्रले मनोसामाजिक सेवा प्रवाह सम्बन्धी प्रगति विवरण प्रस्तुत गरेका थिए। उक्त प्रस्तुतीकरणपछि सहभागीहरूबीच विस्तृत छलफल भएको थियो।
बैठकले सुरक्षित आप्रवासन कार्यक्रमलाई संस्थागत रूपमा मजबुत बनाउन आवश्यक कार्यविधि तर्जुमा गर्ने तथा आगामी आर्थिक वर्षका लागि बजेट विनियोजन सम्बन्धमा सिफारिस गर्ने निर्णय समेत गरेको छ।
बैठकमा बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा, श्रम, रोजगार तथा यातायात मन्त्रालयका सचिव, स्वीस विकास सहयोगका प्रतिनिधि, प्रदेशका विभिन्न मन्त्रालयका प्रतिनिधि, स्थानीय तहका प्रमुख, जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रतिनिधि लगायत सरोकारवाला निकायहरूको सहभागिता रहेको थियो।
मन्त्रालयका अनुसार बैठकबाट कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि स्पष्ट मार्गचित्र तय भएको र आगामी दिनमा समन्वयलाई थप सुदृढ बनाउँदै लैजाने विश्वास लिइएको छ।
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडाको केन्द्रमा रहेको हुप्र लोकतान्त्रिक चौर अझ आकर्षक र सुविधा सम्पन्न बन्ने भएको छ ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं. ४ अन्तरगत रहेकाे लाेकतान्त्रिक चाैर लाई सुविधा सम्पन्न र आकर्षक चाैरकाे रूपमा विकास गरिने भएकाे छ ।
सबेरै हिड्न आउने, व्यायाम गर्न आउने, फुर्सदमा बालबालिकाको खेल्ने स्थान, युवाको खेलकुदको अभ्यासको उत्साह र अपरान्ह टहलिन आउने जेष्ठ नागरिकको शान्त उपस्थितिले पहिचान बनाउदै गएको चौरलाई नयाँ स्वरुपमा विकास गर्न लागिएको हो ।
दैनिक ५ हजार भन्दा बढीले उपस्थिति जनाउने हुप्र लोकतान्त्रिक चौरलाई करिव ३ कराेडकाे बजेट व्यवस्थापन गरि बागमती प्रदेशकै खुल्ला नमुना चाैरकाे रूपमा विकास गर्न लागिएको हो । हेटौंडा नगरलाई महिला मैत्री सहर निर्माण परियाेजना अन्तरगत चाैरकाे मास्टर प्लान बनाउने कार्य अन्तिम चरणमा पुगेकाे र मास्टर प्लान बनेसंगै निर्माण कार्यकाे लागि बाेलपत्र आव्हान गरिने भएको हो । यसको लागि महिला मैत्री शहर निर्माण परियाेजना र अन्य श्राेतबाट बजेटकाे व्यवस्थापन गरिने भएको छ ।
हेटौंडा उपमहानगरपालिका ४ नं. वडाध्यक्ष नवीन सिग्देलले चाैरलाई फुटबल, भलिवल र क्रिकेट खेल मैदानलाई थप व्यवस्थित बनाईने, खुल्ला जीम मर्मत र थप गर्ने, बालबालिका खेल्ने, जेष्ठ नागरिककाे लागि विशेष स्थलकाे व्यवस्था गर्ने, विभिन्न स्थान बस्ने र आराम गर्ने स्थान बनाईने, गेट र मञ्च थप सुविधाजनक र आकर्षक बनाईने बताए । यसअघि सार्वजनिक शाैचालय, हिँड्ने ट्रय्याक, भलिवल काेर्ट निर्माण गरिएकाे र क्रिकेट केज बनाउने कार्य भइरहेको छ ।
‘चौरलाई केवल खाली मैदानका रूपमा मात्र नभई बहुउद्देश्यीय सार्वजनिक स्थलका रूपमा रूपान्तरण गरिँदैछ’ उनले भने ‘चाैरलाई महिला, बालबालिका, अपाङ्ग र खेलमैत्री बनाउन विशेष ध्यान दिईएकाे छ ।’ वडा कार्यालयकाे व्यवस्थापनमा मर्मत र नियमित सरसफाई गरिदै आएकाे चाैरमा हालै ४ वटा हाईमाक्स जडान गरि रातमा पनि चाैर क्षेत्र उज्ज्यालाे बनाउने व्यवस्था गरिएकाे छ ।
मकवानपुर । मकवानपुर प्रहरीले लागूपदार्थ सेवन गरी सवारी चलाउने १२ जनालाई पक्राउ गरेको छ । प्रहरीद्वारा सञ्चालित ‘अप्रेशन ड्रप’ अन्तर्गत सोमबार उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर र जिल्ला प्रहरी कार्यालय मकवानपुरको संयुक्त टोलीले ६५ वटा सवारी जाँच गरिएकोमा १२ जना चालकले लागूऔषध सेवन गरी सवारी चलाएको पाइएको हाे । मनहरी गाउँपालिका अन्तर्गतकाे सडकखण्डमा गरेको आकस्मिक सुरक्षाजाँचको क्रममा उनीहरु पक्राउ परेका हुन् । ‘अपरेशन ड्रप’ अन्तर्गत यसअघि मकवानपुर प्रहरीले १८ जनालाई पक्राउ गरेको थियो ।
लागूऔषध सेवन गरी सवारी चलाउँदा दुर्घटनाको जोखिम अत्यधिक बढाउने भएकाले चेकजाँच गरिएको प्रहरीले जनाएकाे छ । सडक सुरक्षालाई मध्यनजर गर्दै आगामी दिनमा चेकजाँचलाई निरन्तरता दिइने भएकाे छ । मकवानपुर प्रहरीले चालकलाई लागूऔषध सेवन नगरी जिम्मेवार ढंगले सवारी चलाउन आग्रह समेत गरेकाे।
मकवानपुर । सरकारले सातामा दुई दिन सरकारी बिदा दिने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सोमबारबाट लागु हुने गरी साताकाे शनिबार र आइतबार दुई दिन बिदा दिने निर्णय गरेको हो।
सरकारकाे उक्त निर्णय राजपत्रमा प्रकाशित भएकाे छ । मन्त्रिपरिषद्को निर्णय केही घण्टामै राजपत्रमा प्रकाशित भएको हो। यो बिदा सरकारी कार्यालय र शैक्षिक संस्थाको हकमा लागू हुने बताइएकाे छ । पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको असहजताका कारण यस्तो निर्णय गरेको सरकारको प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले बताए ।
सोमबारबाट लागू हुने गरी सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाहरूमा शनिबार र आइतबार बिदा दिने, शैक्षिक संस्थाबाहेक उल्लिखित कार्यालय तथा निकायहरूको कार्यालय समय बिहान ९ः०० बजेदेखि अपराह्न ५ः०० बजेसम्म हुने निर्णय राजपत्रमा प्रकाशित भएको हो । कात्तिक महिनाकाे १६ गतेदेखि माघ महिनाकाे १५ गतेसम्म ३ महिनाकाे लागि भने कार्यालय समय बिहान ९ः०० बजेदेखि अपराह्न ४ः०० बजेसम्म कायम गर्ने गरी गरिएकाे निर्णय राजपत्रमा प्रकाशित छ ।
दुई दिन सार्वजनिक विदा सम्बन्धमा यस्तो देखिन्छ प्रचलनः
- २०४७ सालमा अदालतहरूमा साताको दुई दिन बिदा दिने अभ्यास गरिएको थियो।
- २०४८ सालमा तत्कालीन प्रशासन सुधार आयोगले खर्च कटौती र प्रशासनिक सहजताका लागि दुई दिने बिदाको सिफारिस गरेको थियो। आयोगकै सिफारिसका आधारमा २०५६ सालमा काठमाडौँ उपत्यकामा साताको दुई दिन बिदा दिन सुरु गरियो, तर त्यो लामो समय टिक्न सकेन असफल भएको थियो ।
- पछिल्लो समय २०७७ मङ्सिरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको समितिले आन्तरिक पर्यटन प्रवर्द्धनका लागि दुई दिने बिदाको सिफारिस गरेको थियो। त्यसपछि २०७९ सालमा पनि केही समय परीक्षण गरिए पनि अन्ततः सरकार एक दिने बिदाकै निर्णयमा फर्किएको थियो।
नेपालमा कार्यालय समय र बिदाको सुरुवातः
- नेपालमा कार्यालय समय र बिदाको सुरुवात राणाकालदेखि भएको पाइन्छ।
•|सर्वप्रथम देव शमशेरले बिहान १० देखि ५ बजेसम्मको कार्यालय समय तोकेका थिए। पछि भीम शमशेरले यसलाई १० देखि ४ बजेसम्म झारेका थिए। देव शमशेरकै पालादेखि शनिबार बिदा दिने चलन सुरु भएकोमा भीम शमशेरले शुक्रबार आधा दिन र शनिबार पूर्ण बिदाको व्यवस्थालाई संस्थागत गरेका थिए।
•| त्यस्तै, पद्म शमशेरले मौसम अनुसार (कात्तिकदेखि माघसम्म १०–४ र फागुनदेखि कात्तिकसम्म १०–५) कार्यालय समय तोक्ने प्रचलन चलाएका थिए।
मकवानपुर । नेपाली सेनामा आकर्षणको दर घट्दै आएको अवस्थालाई मध्यनजर गर्दै यसमा प्रभवकारिताको खोजी सुरु गरिएको छ ।
सेवामा नयाँ पुस्ताको आकर्षण बढाउन समय सापेक्ष प्रभावकारीता खोजी गरिरहेका छौ मध्यपृतना हेट क्वाटर सुपारेटारका पृतनापती बिष्णु कुमार खड्काले भन्नुभयो ।
नेपाली सेनाको भर्ना छनोट निर्देशनालय, जंगी अड्डाको आयोजनामा भर्ना छनोट सम्बन्धी एकदिने वर्कशप गरिएको गरिएको छ । अन्यत्र जस्तै प्राविधिक तर्फ हाम्रो सेवामा पनि सबै समूह छन् तर,त्यसबारे जानकारी नै कमी भएजस्तो लागेर कार्यक्रम गरिएको पृतनापती खड्काले सहीखबरसँग भन्नुभयो ।
सहजताको लागि सेनामा भर्ना हुंदा सबै पद (फलोअर्स पद बाहेक) को दरखास्त संकलन अनलाईन गर्ने व्यवस्था गरिएको भर्ना छनोट निर्देशनालयका निर्देशक सहायक रथी रोज प्रताप राणाले बताउनु भयो ।
परीक्षाहरुको नतिजा तत्कालै प्रकाशन र सबै भर्ना केन्द्रहरुको नतिजा अनलाईन गर्ने व्यवस्था गरिएको, विभिन्न पदहरुको पाठ्यक्रम समय सापेक्ष रुपमा पुनरावलोकन गरिएको, भर्ना छनौट कार्यमा तालिम प्राप्त जनशक्ति खट्टिने व्यवस्था अनलाइन मार्फत दरखास्त दस्तुर तिर्ने प्रणालीको समेत व्यवस्था गर्न लागिएको राणाले बताउनुभयो ।
भर्ना छनौट आचार संहिता २०७६ लागु तथा अनियमित कार्यमा संलग्न हुनेलाई शून्य सहनशिलताको नीति अवलम्बन गरिएको उहाँले बताउनुभयो । भर्ना छनोट निर्देशनालयका निर्देशक सहायक रथी राणाका अनुसार भर्ना प्रक्रियालाई सरल, सहज र विश्वसनीय बनाउने गरी कार्यक्रम अघि बढाइएको बढाउन सधै तत्पर रहेको छ । सेनाको कुनै पनि समूहमा भर्नाका क्रममा कुनै पनि प्रकारको लेनदेन र भनसुन नहुने उहाँले बताउनुभयो ।
यसैगरी, खुला पदपूर्ति शाखाका प्रमुख सेनानी निरज भण्डारीले भर्ना छनोट प्रक्रियाका विभिन्न चरणबारे जानकारी गराउनुभयो भने अर्का प्रमुख सेनानी रवि केसीले नेपाली सेनामा प्रवेशका लागि आवश्यक विविध प्रक्रिया र मापदण्डबारे सहभागीलाई बुझाइमा सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा हेटौंडाको विभिन्न क्याम्पसका विद्यार्थी तथा प्राध्यापक, सञ्चारकर्मी, तथा नेपाली सेनाका विभिन्न पदमा कार्यरत अधिकृतहरूको उपस्थिति रहेको थियो।
नेपाली सेनाले राष्ट्र सेवामा समर्पित संस्थामा योग्य, दक्ष र क्षमतावान व्यक्तिहरूलाई सधैं प्रोत्साहन गरिने खड्काले बताउनुभयो । आकर्षणको लागि विभिन्न कोटाको व्यवस्था बारे पनि कार्यक्रममा जानकारी गराइएको थियो । सेनाले तस प्रकारको कार्यक्रम इटहरी, बुटवल, पोखरा र हेटौंडामा सम्पन्न गरेको बताईएको छ ।