मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडाको केन्द्रमा रहेको हुप्र लोकतान्त्रिक चौर अझ आकर्षक र सुविधा सम्पन्न बन्ने भएको छ ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं. ४ अन्तरगत रहेकाे लाेकतान्त्रिक चाैर लाई सुविधा सम्पन्न र आकर्षक चाैरकाे रूपमा विकास गरिने भएकाे छ ।
सबेरै हिड्न आउने, व्यायाम गर्न आउने, फुर्सदमा बालबालिकाको खेल्ने स्थान, युवाको खेलकुदको अभ्यासको उत्साह र अपरान्ह टहलिन आउने जेष्ठ नागरिकको शान्त उपस्थितिले पहिचान बनाउदै गएको चौरलाई नयाँ स्वरुपमा विकास गर्न लागिएको हो ।
दैनिक ५ हजार भन्दा बढीले उपस्थिति जनाउने हुप्र लोकतान्त्रिक चौरलाई करिव ३ कराेडकाे बजेट व्यवस्थापन गरि बागमती प्रदेशकै खुल्ला नमुना चाैरकाे रूपमा विकास गर्न लागिएको हो । हेटौंडा नगरलाई महिला मैत्री सहर निर्माण परियाेजना अन्तरगत चाैरकाे मास्टर प्लान बनाउने कार्य अन्तिम चरणमा पुगेकाे र मास्टर प्लान बनेसंगै निर्माण कार्यकाे लागि बाेलपत्र आव्हान गरिने भएको हो । यसको लागि महिला मैत्री शहर निर्माण परियाेजना र अन्य श्राेतबाट बजेटकाे व्यवस्थापन गरिने भएको छ ।
हेटौंडा उपमहानगरपालिका ४ नं. वडाध्यक्ष नवीन सिग्देलले चाैरलाई फुटबल, भलिवल र क्रिकेट खेल मैदानलाई थप व्यवस्थित बनाईने, खुल्ला जीम मर्मत र थप गर्ने, बालबालिका खेल्ने, जेष्ठ नागरिककाे लागि विशेष स्थलकाे व्यवस्था गर्ने, विभिन्न स्थान बस्ने र आराम गर्ने स्थान बनाईने, गेट र मञ्च थप सुविधाजनक र आकर्षक बनाईने बताए । यसअघि सार्वजनिक शाैचालय, हिँड्ने ट्रय्याक, भलिवल काेर्ट निर्माण गरिएकाे र क्रिकेट केज बनाउने कार्य भइरहेको छ ।
‘चौरलाई केवल खाली मैदानका रूपमा मात्र नभई बहुउद्देश्यीय सार्वजनिक स्थलका रूपमा रूपान्तरण गरिँदैछ’ उनले भने ‘चाैरलाई महिला, बालबालिका, अपाङ्ग र खेलमैत्री बनाउन विशेष ध्यान दिईएकाे छ ।’ वडा कार्यालयकाे व्यवस्थापनमा मर्मत र नियमित सरसफाई गरिदै आएकाे चाैरमा हालै ४ वटा हाईमाक्स जडान गरि रातमा पनि चाैर क्षेत्र उज्ज्यालाे बनाउने व्यवस्था गरिएकाे छ ।

