मकवानपुर । सरकारले सातामा दुई दिन सरकारी बिदा दिने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सोमबारबाट लागु हुने गरी साताकाे शनिबार र आइतबार दुई दिन बिदा दिने निर्णय गरेको हो।
सरकारकाे उक्त निर्णय राजपत्रमा प्रकाशित भएकाे छ । मन्त्रिपरिषद्को निर्णय केही घण्टामै राजपत्रमा प्रकाशित भएको हो। यो बिदा सरकारी कार्यालय र शैक्षिक संस्थाको हकमा लागू हुने बताइएकाे छ । पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको असहजताका कारण यस्तो निर्णय गरेको सरकारको प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले बताए ।
सोमबारबाट लागू हुने गरी सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाहरूमा शनिबार र आइतबार बिदा दिने, शैक्षिक संस्थाबाहेक उल्लिखित कार्यालय तथा निकायहरूको कार्यालय समय बिहान ९ः०० बजेदेखि अपराह्न ५ः०० बजेसम्म हुने निर्णय राजपत्रमा प्रकाशित भएको हो । कात्तिक महिनाकाे १६ गतेदेखि माघ महिनाकाे १५ गतेसम्म ३ महिनाकाे लागि भने कार्यालय समय बिहान ९ः०० बजेदेखि अपराह्न ४ः०० बजेसम्म कायम गर्ने गरी गरिएकाे निर्णय राजपत्रमा प्रकाशित छ ।
दुई दिन सार्वजनिक विदा सम्बन्धमा यस्तो देखिन्छ प्रचलनः
- २०४७ सालमा अदालतहरूमा साताको दुई दिन बिदा दिने अभ्यास गरिएको थियो।
- २०४८ सालमा तत्कालीन प्रशासन सुधार आयोगले खर्च कटौती र प्रशासनिक सहजताका लागि दुई दिने बिदाको सिफारिस गरेको थियो। आयोगकै सिफारिसका आधारमा २०५६ सालमा काठमाडौँ उपत्यकामा साताको दुई दिन बिदा दिन सुरु गरियो, तर त्यो लामो समय टिक्न सकेन असफल भएको थियो ।
- पछिल्लो समय २०७७ मङ्सिरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको समितिले आन्तरिक पर्यटन प्रवर्द्धनका लागि दुई दिने बिदाको सिफारिस गरेको थियो। त्यसपछि २०७९ सालमा पनि केही समय परीक्षण गरिए पनि अन्ततः सरकार एक दिने बिदाकै निर्णयमा फर्किएको थियो।
नेपालमा कार्यालय समय र बिदाको सुरुवातः
- नेपालमा कार्यालय समय र बिदाको सुरुवात राणाकालदेखि भएको पाइन्छ।
•|सर्वप्रथम देव शमशेरले बिहान १० देखि ५ बजेसम्मको कार्यालय समय तोकेका थिए। पछि भीम शमशेरले यसलाई १० देखि ४ बजेसम्म झारेका थिए। देव शमशेरकै पालादेखि शनिबार बिदा दिने चलन सुरु भएकोमा भीम शमशेरले शुक्रबार आधा दिन र शनिबार पूर्ण बिदाको व्यवस्थालाई संस्थागत गरेका थिए।
•| त्यस्तै, पद्म शमशेरले मौसम अनुसार (कात्तिकदेखि माघसम्म १०–४ र फागुनदेखि कात्तिकसम्म १०–५) कार्यालय समय तोक्ने प्रचलन चलाएका थिए।

