मकवानपुर । मकवानपुर प्रहरीले लागूपदार्थ सेवन गरी सवारी चलाउने १२ जनालाई पक्राउ गरेको छ । प्रहरीद्वारा सञ्चालित ‘अप्रेशन ड्रप’ अन्तर्गत सोमबार उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर र जिल्ला प्रहरी कार्यालय मकवानपुरको संयुक्त टोलीले ६५ वटा सवारी जाँच गरिएकोमा १२ जना चालकले लागूऔषध सेवन गरी सवारी चलाएको पाइएको हाे । मनहरी गाउँपालिका अन्तर्गतकाे सडकखण्डमा गरेको आकस्मिक सुरक्षाजाँचको क्रममा उनीहरु पक्राउ परेका हुन् । ‘अपरेशन ड्रप’ अन्तर्गत यसअघि मकवानपुर प्रहरीले १८ जनालाई पक्राउ गरेको थियो ।
लागूऔषध सेवन गरी सवारी चलाउँदा दुर्घटनाको जोखिम अत्यधिक बढाउने भएकाले चेकजाँच गरिएको प्रहरीले जनाएकाे छ । सडक सुरक्षालाई मध्यनजर गर्दै आगामी दिनमा चेकजाँचलाई निरन्तरता दिइने भएकाे छ । मकवानपुर प्रहरीले चालकलाई लागूऔषध सेवन नगरी जिम्मेवार ढंगले सवारी चलाउन आग्रह समेत गरेकाे।

