मकवानपुर । मकवानपुरकाे हेटौडामा सोमबार शिक्षक दौड तथा महिला शिक्षक स्लो स्कुटी प्रतियाेगिता भएको छ । सहिद सप्ताह अन्तरगत हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडा कार्यालयको आयोजना तथा नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरको व्यवस्थापनमा प्रतियाेगिता भएकाे हाे ।
पुरुष शिक्षक दौडमा मकवानपुरगढी गाउँपालिकाकाे भानु माध्यामिक विद्यालयका मुकेश चौलागाई प्रथम, भानु माविकै दुर्लभ कुमार दुलाल द्वितीय भएका छन् । यसैगरी हेटौंडा–४ मा रहेकाे नवोदय शिशु सदनका राम कंशाकार तृतीय हुँदा मकवानपुरगढीकाे शारदा माविका दिनेश सुवेदी चौथो स्थानमा रहे । नवोदय शिशु सदनका अविरल शाक्यले सान्त्वना परस्कार प्राप्त गरे ।
स्लो स्कुटी प्रधिस्पर्धामा हेटौंडा–१४ स्थित भृकुटी माविकी सिर्जना थिङ प्रथम, हेटौँडा–४ स्थित ब्रह्मदिक एकेडेमीकी सुजिता बोम्जन द्वितीय र ब्रह्मदिककै मुना लामा तृतीय भए । पुरुष शिक्षक दौडमा ३४ जनाको सहभागिता रहेको थियो भने महिला शिक्षक स्लो स्कुटी प्रतियोगितामा ४० जनाको सहभागिता रहेको नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुर अध्यक्ष श्रीराम दाहालले बताए ।

प्रतियाेगितामा पुरूष शिक्षक तर्फ दाैडमा प्रथम हुनेले ७ हजार, द्वितीय हुनेले ५ हजार, तृतीय हुनेले ३ हजार, चाैथाे हुनेले २ हजार र सान्त्वना हुनेले १ हजार प्राप्त गरे । यस्तै महिला शिक्षक तर्फ स्लाे स्कुटी प्रतियाेगितामा प्रथम हुनेले ७ हजार, द्वितीय हुनेले ५ हजार र तृतीय हुनेले ३ हजार पुरस्कार प्राप्त गरे ।
दौड प्रतियोगिता ४ नम्बर वडा कार्यालयबाट शुरू भई शितलमहल चोक, ओमभवन चोक, भैरवरोड, मिलनचोक हुँदै ४ नम्बर वडा कार्यालयमै आइपुगेको थियोे । स्लो स्कुटी प्रतियोगिता भने हुप्रचौरमा भएको थियो । शिक्षक संगठन अध्यक्ष दाहालको सभाध्यक्षता तथा पूर्व युवा तथा खेलकुद मन्त्री पुरूषोत्तम पौडेलको प्रमुख आतिथ्यमा भएकाे कार्यक्रमा ४ नम्बर वडाध्यक्ष नवीन सिग्देलको विशेष आतिथ्यमा रहेको थियो ।
मकवानपुर । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी नायब महानिरिक्षक(डीआईजी) बिष्णु कुमार केसीले प्रहरीकाे आचरण र व्यवहार सुधारकाे पहल गर्ने बताएका छन् ।
ट्राफिक प्रहरीले गर्ने व्यवहार बारे गुनासो रहेको तथा प्रहरीले गर्ने व्यहारले हैरानी भएकाे जनगुनासाे आएकाेले सुधार गर्न कडाइका साथ लागि पर्ने उनले बताए । आइतबार हेटौडामा संचारकर्मीसँगकाे भेटघाटमा अपराध एकैपटक निर्मुल गर्न नसिकने भएकाेले प्रदेशका दश जिल्लामा अपराध न्यूनीकरण गरिदै लैजाने उनले बताए । अपराध १५ प्रतिशत घटाउने लक्ष्य रहेकाे उनले जानकारी दिए ।
बागमती प्रदेश कार्यालयमा केही अघी मात्रै सरुवा भएका केसीले मकवानपुरका खानी क्षेत्रबाट ३ वटा सिमेन्ट उद्योगमा टिप्परले ओभरलोड चुनढुङ्गा ल्याइरहेकाेमा उक्त कार्य नियन्त्रण गर्ने बताए । सवारीका साधनको ओभरलोडको समस्या प्रदेशका सबैजसो जिल्लामा भएकाले यसलाई रोक्नका लागि काम गरिने उनले बताए ।
डीआईजी केसीले लागूऔषध नियन्त्रणका लागि प्रभावकारी काम गर्ने प्रतिवद्धता समेत जनाए । बागमती प्रदेशमा लागूऔषध नियन्त्रणमा विशेष अभियान सञ्चालन गरिने बताउँदै उनले अफिम खेती फडानी गर्ने कामलाई तिव्रता दिइएको बताए । उनले अवैध रुपमा उत्खनन हुने नदीजन्य पदार्थ नियन्त्रणमा प्रहरीले कडाइका साथ काम गर्ने बताए ।
प्रदेशभित्रको अपराध न्यूनिकरण गर्दै शान्ति सुरक्षा कायम राख्ने दायित्व प्रहरीको भएकोले समुदायसँग सचेतनामुलक कार्यक्रम गर्दै न्युनिकरण गरिदै लगिने उनले बताए । मकवानपुरमा सिसि क्यामरा ५५ वटा जोड्ने लक्ष्य रहेकाे हाल १५ वटा जडान भइ संचालनमा रहेकाे बताउँदै उनले नयाँ खरिदको विकल्प बजेट व्यवस्था नभएकाेले स्थानीय तहहरूको समन्वयबाट मात्रै संभावना रहेकाे जनकारी दिए ।
मकवानपुर । मकवानपुरका क्रियाशील पत्रकार रुपक कालिराज ‘स्वर्गीय उदय सिंह पाठक पत्रकारिता पुरस्कार’ बाट सम्मानित भएका छन् । बस्तीपुर जेसीज हाँडीखोलाकाे १३ औं पदस्थापना कार्यक्रममा कालिराजलाई उक्त पुरस्कारद्वारा सम्मानित गरिएकाे हाे ।
यसैगरी उक्त कार्यक्रममा ओम बृद्धाआश्रमका अध्यक्ष सिद्धिलाल श्रेष्ठलाई सामाजसेवी पुरस्कार प्रदान गरिएकाे छ । कालिराज र श्रेष्ठलाई ७ हजार २ सय २ रुपैयाँ नगद सहित दोसल्ला र सम्मानपत्र साथ सम्मानित गरिएकाे हाे । जेसीज वर्ष २०२४ का अध्यक्ष अमृत पाठकका परिवार र प्रतिनिधि सभा सदस्य दीपक बहादुर सिंहले उनीहरुलाई सम्मानित गरेका हुन् ।
पदस्थापन कार्यक्रममा प्रतिनिधि सभा सदस्य एवं पुर्व ऊर्जा राज्यमन्त्री सिंहले जेसीजले देखाएको नेतृत्व हस्तान्तरणको शैलीबाट राजनीतिक दल तथा नेताहरुले पनि पाठ सिक्नुपर्ने बताए । ‘नेताहरू ५ पटक मन्त्री बन्दा पनि पदको लोभ त्याग्दैनन् र हस्तान्तरणको कला बुझ्दैनन्, तर जेसीजले गरेको पद हस्तान्तरणबाट नेताहरूले सिक्नुपर्छ।’ उनले भने । दलमा पनि जेसीज जस्तो नेतृत्व हस्तान्तरण गर्ने शैलीको विकास गरिनु पर्नेमा उनले जोड दिए । आफू घुस नलिने र जनताको हित हुने काममा मात्र लाग्ने घोषणा गर्दै सिंहले भने ‘म कहिल्यै पनि घुस खाँदिन र खान पनि दिँदिन। म जनताको शिर निहुरिने, जनहित विपरीत हुने काम गर्दिन।’ उनले युवालाई सक्रिय राजनीतिमा आउन आग्रह गर्दै युवाहरूले नै देशकाे जिम्मेबारी वहन गर्दै बचाउन सक्ने बताए ।
पदस्थापना तथा पुरस्कार वितरण कार्यक्रममा नवनिर्वाचित अध्यक्ष अमृत पाठकसहितका पदाधिकारीलाई पदभार हस्तान्तरण गरिएकाे छ। हेटौंडा-१९ मा आयाेजना गरिएकाे कार्यक्रममा वर्ष २०२३ का अध्यक्ष जेसिज प्रेम बहादुर गोङ्बाले वर्ष २०२४ का लागि निर्वाचित पाठकलाई पद हस्तान्तरण गरेका हुन् । जेसीजका नवनिर्वाचित कार्यकारिणी उपाध्यक्ष हरेराम हटुवाल (निर्मल) र सञ्जोग उप्रेती र उपाध्यक्षमा लोक लामा मोक्तान, रविन लामा, सोवित वाईबा र दिनेश चौलागाई,कोषाध्यक्ष सन्देश पण्डित,महासचिव सुरज बर्तौला र कानुनी सल्लाहकार सन्दिप पाठक सहितका पदाधिकारीहरुले पदभार ग्रहण गरेका छन् ।

नवनिर्वाचित अध्यक्ष पाठकले पदभारपछि आफ्नो कार्यकालमा गरिब तथा विपन्न विद्यार्थीहरूको स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिने बताए । उनले आर्थिक रूपमा विपन्न परिवारका बालबालिकाहरू स्वास्थ्य सेवा र गुणस्तरीय शिक्षाबाट वञ्चित हुन नदिन पहल गर्ने जानकारी दिए । ‘हाम्रो समाजमा गरिबी र असमानता छन् । सबैका लागि गुणस्तरीय शिक्षा र स्वास्थ्य सुनिश्चित गर्नु मेरो प्राथमिकता हुनेछ’ उनले भने । यसैगरी मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले जेसीजले युवाहरूका लागि रोजगारीका अवसर सिर्जना गर्ने तथा क्षमता विकासका कार्यक्रम सञ्चालन गरी सशक्त बनाउन आग्रह गरे । यसकाे लागि आफ्नाे र गाउँपालिकाकाे साथ र सहयोग सधै रहने प्रतिबद्धता समेत उनले बताए ।
मकवानपुर । वडा स्तरीय वक्तृत्वकलामा असेज अधिकारी प्रथम भएका छन् । ११ नम्बर वडा स्तरीय बाल समूह सन्जालको आयोजना तथा ११ नम्बर वडा कार्यालय र सहिद स्मारक बिकास समितिको समन्वयमा आइतबार सहिद सप्ताह कार्यक्रम अन्तरगत भएको वक्तृत्वकलामा अधिकारी प्रथम भएका हुन् ।
बाल श्रम बाल शोषण र हिंसा अन्त्य गर्नुमा बालबालिकाको भूमिका विषयक वक्तृत्वकलामा आँचल सुवेदी दोस्रो, सायना सपकोटा तेस्रो भएका छन् । यस्तै सृष्टि उप्रेती सान्त्वना भइन् । उनीहरुले क्रमशः ५ हजार, ३ हजार र २/२ हजार नगद पुरस्कार तथा प्रमाणपत्र प्राप्त गरे । वडाका २५ जना बालबालिकाको सहभागिता रहेको वक्त्तृवकलाको निर्णायकमा आरती पाठक,अर्पण पराजुली र माया लामा रहेका थिए । कार्यक्रमका सहभागीहरुलाई आइतबारनै शहीद स्मारक विकास समिति सचिव रघुनाथ खुलालले पुरस्कार र प्रमाणपत्र वितरण गरे ।
सप्ताहव्यापी कार्यक्रम अनुसार माघ १५ गते सोमबार सास्कृतिक कार्यक्रम तथा पुरस्कार वितरण र शिक्षक खुल्ला दौड प्रतियोगिता तथा अन्तिक दिन माघ १६ गते प्रभातफेरी, शहीद प्रति सलामी, श्रीचन्द्र शर्मा स्मृति सम्मान पुरस्कार वितरण, प्रवचन तथा समापन कार्यक्रम हुने सहिद स्मारक बिकास समितिले जनाएकाे छ । १५ गते हुने साँस्कृतिक कार्यक्रममा गायक प्रकाश कटुवाल, भिमसेन खतिवडा, गायिका रिया खड्का लगायत राष्ट्रिय तथा स्थानीय कलाकारहरुको मनोरञ्जनात्मक प्रस्तुति रहने बताइएकाे छ ।
मकवानपुर । शहीद दिवसकाे अबसरमा जिल्लास्तरीय पुरूष शिक्षक दौड र महिला शिक्षक स्लाे स्कुटी रेस प्रतियाेगिता हुने भएकाे छ । हेटाैँडा उपमहानगरपालिका ४ नम्बर वडा कार्यालयकाे आयाेजना तथा नेपाल राष्ट्रिय शिक्षक संगठनकाे व्यवस्थापनमा प्रतियाेगिता हुने भएकाे हाे ।
पुरूष शिक्षककाे ३ हजार मिटर दाैड हुनेछ । माघ १५ गते हुप्राचाैरबाट शुरू हुने प्रतियाेगिता सहिद दिवस सप्ताहव्यापी क्रार्यक्रम अन्तरगत हुन लागेकाे हाे । विद्यालयले नै खेलकुदकाे प्रवर्द्वन गर्ने उदेश्यले शिक्षक केन्द्रीत प्रतियाेगिता आयाेजना गरिएकाे ४ नम्बर वडा अध्यक्ष नवीन सिग्देलले बताए । शिक्षकहरू खेलकुदप्रति आकर्षित भए स्वतः विद्यार्थीहरूकाे खेलप्रति रूचि बढ्ने भएकाेले प्रतियाेगिता आयाेजना गरिएकाे वडा अध्यक्ष सिग्देलले बताए ।
प्रतियाेगितामा पुरूष शिक्षक तर्फ दाैडमा प्रथम हुनेले ७ हजार, द्वितीय हुनेले ५ हजार, तृतीय हुनेले ३ हजार, चाैथाे हुनेले २ हजार र सान्त्वना हुनेले १ हजार प्राप्त गर्ने छन् । यस्तै महिला शिक्षक तर्फ स्लाे स्कुटी प्रतियाेगितामा प्रथम हुनेले ७ हजार, द्वितीय हुनेले ५ हजार र तृतीय हुनेले ३ हजार पुरस्कार प्राप्त गर्ने नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुर अध्यक्ष श्रीराम दाहालले जानकारी दिए । उनले इच्छुक शिक्षकहरूलाई प्रतियाेगितामा सहभागी हुनकाे लागि अनुराेध समेत गरे ।

