मकवानपुर । मकवानपुरका क्रियाशील पत्रकार रुपक कालिराज ‘स्वर्गीय उदय सिंह पाठक पत्रकारिता पुरस्कार’ बाट सम्मानित भएका छन् । बस्तीपुर जेसीज हाँडीखोलाकाे १३ औं पदस्थापना कार्यक्रममा कालिराजलाई उक्त पुरस्कारद्वारा सम्मानित गरिएकाे हाे ।
यसैगरी उक्त कार्यक्रममा ओम बृद्धाआश्रमका अध्यक्ष सिद्धिलाल श्रेष्ठलाई सामाजसेवी पुरस्कार प्रदान गरिएकाे छ । कालिराज र श्रेष्ठलाई ७ हजार २ सय २ रुपैयाँ नगद सहित दोसल्ला र सम्मानपत्र साथ सम्मानित गरिएकाे हाे । जेसीज वर्ष २०२४ का अध्यक्ष अमृत पाठकका परिवार र प्रतिनिधि सभा सदस्य दीपक बहादुर सिंहले उनीहरुलाई सम्मानित गरेका हुन् ।
पदस्थापन कार्यक्रममा प्रतिनिधि सभा सदस्य एवं पुर्व ऊर्जा राज्यमन्त्री सिंहले जेसीजले देखाएको नेतृत्व हस्तान्तरणको शैलीबाट राजनीतिक दल तथा नेताहरुले पनि पाठ सिक्नुपर्ने बताए । ‘नेताहरू ५ पटक मन्त्री बन्दा पनि पदको लोभ त्याग्दैनन् र हस्तान्तरणको कला बुझ्दैनन्, तर जेसीजले गरेको पद हस्तान्तरणबाट नेताहरूले सिक्नुपर्छ।’ उनले भने । दलमा पनि जेसीज जस्तो नेतृत्व हस्तान्तरण गर्ने शैलीको विकास गरिनु पर्नेमा उनले जोड दिए । आफू घुस नलिने र जनताको हित हुने काममा मात्र लाग्ने घोषणा गर्दै सिंहले भने ‘म कहिल्यै पनि घुस खाँदिन र खान पनि दिँदिन। म जनताको शिर निहुरिने, जनहित विपरीत हुने काम गर्दिन।’ उनले युवालाई सक्रिय राजनीतिमा आउन आग्रह गर्दै युवाहरूले नै देशकाे जिम्मेबारी वहन गर्दै बचाउन सक्ने बताए ।
पदस्थापना तथा पुरस्कार वितरण कार्यक्रममा नवनिर्वाचित अध्यक्ष अमृत पाठकसहितका पदाधिकारीलाई पदभार हस्तान्तरण गरिएकाे छ। हेटौंडा-१९ मा आयाेजना गरिएकाे कार्यक्रममा वर्ष २०२३ का अध्यक्ष जेसिज प्रेम बहादुर गोङ्बाले वर्ष २०२४ का लागि निर्वाचित पाठकलाई पद हस्तान्तरण गरेका हुन् । जेसीजका नवनिर्वाचित कार्यकारिणी उपाध्यक्ष हरेराम हटुवाल (निर्मल) र सञ्जोग उप्रेती र उपाध्यक्षमा लोक लामा मोक्तान, रविन लामा, सोवित वाईबा र दिनेश चौलागाई,कोषाध्यक्ष सन्देश पण्डित,महासचिव सुरज बर्तौला र कानुनी सल्लाहकार सन्दिप पाठक सहितका पदाधिकारीहरुले पदभार ग्रहण गरेका छन् ।

नवनिर्वाचित अध्यक्ष पाठकले पदभारपछि आफ्नो कार्यकालमा गरिब तथा विपन्न विद्यार्थीहरूको स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिने बताए । उनले आर्थिक रूपमा विपन्न परिवारका बालबालिकाहरू स्वास्थ्य सेवा र गुणस्तरीय शिक्षाबाट वञ्चित हुन नदिन पहल गर्ने जानकारी दिए । ‘हाम्रो समाजमा गरिबी र असमानता छन् । सबैका लागि गुणस्तरीय शिक्षा र स्वास्थ्य सुनिश्चित गर्नु मेरो प्राथमिकता हुनेछ’ उनले भने । यसैगरी मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले जेसीजले युवाहरूका लागि रोजगारीका अवसर सिर्जना गर्ने तथा क्षमता विकासका कार्यक्रम सञ्चालन गरी सशक्त बनाउन आग्रह गरे । यसकाे लागि आफ्नाे र गाउँपालिकाकाे साथ र सहयोग सधै रहने प्रतिबद्धता समेत उनले बताए ।

