मकवानपुर । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी नायब महानिरिक्षक(डीआईजी) बिष्णु कुमार केसीले प्रहरीकाे आचरण र व्यवहार सुधारकाे पहल गर्ने बताएका छन् ।
ट्राफिक प्रहरीले गर्ने व्यवहार बारे गुनासो रहेको तथा प्रहरीले गर्ने व्यहारले हैरानी भएकाे जनगुनासाे आएकाेले सुधार गर्न कडाइका साथ लागि पर्ने उनले बताए । आइतबार हेटौडामा संचारकर्मीसँगकाे भेटघाटमा अपराध एकैपटक निर्मुल गर्न नसिकने भएकाेले प्रदेशका दश जिल्लामा अपराध न्यूनीकरण गरिदै लैजाने उनले बताए । अपराध १५ प्रतिशत घटाउने लक्ष्य रहेकाे उनले जानकारी दिए ।
बागमती प्रदेश कार्यालयमा केही अघी मात्रै सरुवा भएका केसीले मकवानपुरका खानी क्षेत्रबाट ३ वटा सिमेन्ट उद्योगमा टिप्परले ओभरलोड चुनढुङ्गा ल्याइरहेकाेमा उक्त कार्य नियन्त्रण गर्ने बताए । सवारीका साधनको ओभरलोडको समस्या प्रदेशका सबैजसो जिल्लामा भएकाले यसलाई रोक्नका लागि काम गरिने उनले बताए ।
डीआईजी केसीले लागूऔषध नियन्त्रणका लागि प्रभावकारी काम गर्ने प्रतिवद्धता समेत जनाए । बागमती प्रदेशमा लागूऔषध नियन्त्रणमा विशेष अभियान सञ्चालन गरिने बताउँदै उनले अफिम खेती फडानी गर्ने कामलाई तिव्रता दिइएको बताए । उनले अवैध रुपमा उत्खनन हुने नदीजन्य पदार्थ नियन्त्रणमा प्रहरीले कडाइका साथ काम गर्ने बताए ।
प्रदेशभित्रको अपराध न्यूनिकरण गर्दै शान्ति सुरक्षा कायम राख्ने दायित्व प्रहरीको भएकोले समुदायसँग सचेतनामुलक कार्यक्रम गर्दै न्युनिकरण गरिदै लगिने उनले बताए । मकवानपुरमा सिसि क्यामरा ५५ वटा जोड्ने लक्ष्य रहेकाे हाल १५ वटा जडान भइ संचालनमा रहेकाे बताउँदै उनले नयाँ खरिदको विकल्प बजेट व्यवस्था नभएकाेले स्थानीय तहहरूको समन्वयबाट मात्रै संभावना रहेकाे जनकारी दिए ।

