मकवानपुर । मकवानपुरकाे हेटौडामा सोमबार शिक्षक दौड तथा महिला शिक्षक स्लो स्कुटी प्रतियाेगिता भएको छ । सहिद सप्ताह अन्तरगत हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडा कार्यालयको आयोजना तथा नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरको व्यवस्थापनमा प्रतियाेगिता भएकाे हाे ।
पुरुष शिक्षक दौडमा मकवानपुरगढी गाउँपालिकाकाे भानु माध्यामिक विद्यालयका मुकेश चौलागाई प्रथम, भानु माविकै दुर्लभ कुमार दुलाल द्वितीय भएका छन् । यसैगरी हेटौंडा–४ मा रहेकाे नवोदय शिशु सदनका राम कंशाकार तृतीय हुँदा मकवानपुरगढीकाे शारदा माविका दिनेश सुवेदी चौथो स्थानमा रहे । नवोदय शिशु सदनका अविरल शाक्यले सान्त्वना परस्कार प्राप्त गरे ।
स्लो स्कुटी प्रधिस्पर्धामा हेटौंडा–१४ स्थित भृकुटी माविकी सिर्जना थिङ प्रथम, हेटौँडा–४ स्थित ब्रह्मदिक एकेडेमीकी सुजिता बोम्जन द्वितीय र ब्रह्मदिककै मुना लामा तृतीय भए । पुरुष शिक्षक दौडमा ३४ जनाको सहभागिता रहेको थियो भने महिला शिक्षक स्लो स्कुटी प्रतियोगितामा ४० जनाको सहभागिता रहेको नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुर अध्यक्ष श्रीराम दाहालले बताए ।

प्रतियाेगितामा पुरूष शिक्षक तर्फ दाैडमा प्रथम हुनेले ७ हजार, द्वितीय हुनेले ५ हजार, तृतीय हुनेले ३ हजार, चाैथाे हुनेले २ हजार र सान्त्वना हुनेले १ हजार प्राप्त गरे । यस्तै महिला शिक्षक तर्फ स्लाे स्कुटी प्रतियाेगितामा प्रथम हुनेले ७ हजार, द्वितीय हुनेले ५ हजार र तृतीय हुनेले ३ हजार पुरस्कार प्राप्त गरे ।
दौड प्रतियोगिता ४ नम्बर वडा कार्यालयबाट शुरू भई शितलमहल चोक, ओमभवन चोक, भैरवरोड, मिलनचोक हुँदै ४ नम्बर वडा कार्यालयमै आइपुगेको थियोे । स्लो स्कुटी प्रतियोगिता भने हुप्रचौरमा भएको थियो । शिक्षक संगठन अध्यक्ष दाहालको सभाध्यक्षता तथा पूर्व युवा तथा खेलकुद मन्त्री पुरूषोत्तम पौडेलको प्रमुख आतिथ्यमा भएकाे कार्यक्रमा ४ नम्बर वडाध्यक्ष नवीन सिग्देलको विशेष आतिथ्यमा रहेको थियो ।

