मकवानपुर । मकवानपुरको हेटौंडामा वडा स्तरीय खेलकुद प्रतियोगिता हुने भएको छ । हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडाको आयोजना तथा शैक्षिक सुधार समिति वडा नम्बर– ४ को व्यवस्थापनमा प्रथम वडा स्तरीय खेलकुद प्रतियोगिता हुने भएको हो ।
आगामी माघ २६ र २७ गते हेटौंडाको हुप्राचौरमा वृहत खेलकुद प्रतियोगिता हुने शुक्रबार हेटौंडामा पत्रकार भेटघाट गरि जानकारी दिएको हो । ४ नम्बर वडामा रहेको सामुदायिक र सस्थागत विद्यालयका विद्यार्थीहरुको सहभागिता रहने प्रतियोगितामा माघ २५ गतेसम्म नाम दर्ता गराउनु पर्ने ४ नम्बर वडा अध्यक्ष नवीन सिग्देलले जानकारी दिए । प्रतियोगितामा एथलेटिक्स, रिलेदौड, लङ्गजम्प, ट्रिपल जम्प, सटपुट, भलिबल, फुटबल र क्रिकेटलगायतका खेलहरु हुनेछन् ।
अध्यक्ष नवीन सिग्देलले विद्यालय स्तरबाटनै खेलाडीहरु उत्पादन गर्नसके मात्र खेलकुदलाई प्रबर्द्धन गर्न सकिने बताए । प्रतियोगिताकामा विजेताहरुलाई प्रमाणपत्र मात्र वितरण गरिने उनले जानकारी दिए । कार्यक्रमको अन्त्यमा उत्कृष्ट विद्यालयलाई पुरस्कृत गरिने बताईएको छ ।
४ नम्बर वडाले सस्थागत र सामुदायिक विद्यालयबिच समन्वयन गरेर विद्यालय स्तरका कार्यक्रमहरु गरिरहँदा विद्यालयहरुबिचको विभेद अन्त्य गरेको उनले दाबी गरे ।
खेलकुद प्रतियोगिता पश्चात वडाले जिल्ला स्तरीय शिक्षक भलिवल, शिक्षक उत्प्रेरणा तथा शैक्षिक अन्तक्रिया, ईसीडी शैक्षिक सामाग्री निर्माण तालिम लगाएतका कार्यक्रमहरु आयोजना गर्ने तयारीमा गरिएको शैक्षिक सुधार समिति अध्यक्ष श्रीराम दाहालले जानकारी दिए ।
वडाले यसअघि वृहत शैक्षिक प्रदर्शनी, नृत्य तथा गायन प्रतियोगिता गरेको बताईएको छ ।
मकवानपुर । मकवानपुरको मनहरीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत मनहरी गाउँपालिका–६, सुनादेवीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालक चितवन माडी नगरपालिका–१२ का २० वर्षीय कोरेस चेपाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
विहीबार साँझ चितवनबाट हेटौँडातर्फ आउँदै गरेको ना ७ ख १७९६ नम्बरको ट्रकले विपरित दिशाबाट जाँदै गरेको बागमती प्र ०६ ००१ प ४५३७ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक चेपाङ घाइते भएका थिए ।
चेपाङलाई उपचारका लागि चितवनस्थित पुरानो मेडिकल कलेज लगिएकोमा विहीबार नै डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार ट्रक चालक फरार रहेकोमा खोजी कार्य भइरहेको छ ।
मकवानपुर । मकवानपुरकाे हेटौडामा जारी छैठाैं संस्करणको शहीद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता अन्तरगत सशस्त्र प्रहरी बलकाे एपीएफ क्लब अन्तिम आठमा प्रवेश गरेकाे छ।
जिल्ला फुटबल संघ मकवानपुरकाे आयोजनामा भएकाे प्रतियाेगितामा विहीबार भएको खेलमा एपीएफ क्लबले मच्छिन्द्र क्लबलाई ४-३ ले पराजित गर्दै प्रतियोगिताको अन्तिम आठमा स्थान बनाएको छ। निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा सकिएपछि खेल ट्राइब्रेकरमा धकेलिएकाे थियाे ।
एपीएफका गोलरक्षक एञ्जल श्रेष्ठले उत्कृष्ट प्रदर्शन गर्दै टाइब्रेकरका दुई प्रहार बचाए। खेलमा म्यान अफ दी म्याच घोषित हुँदै उनले नगर १० हजार प्राप्त गरे । अब एपीएफले अन्तिम आठको चरणमा थ्री स्टार क्लबसँग प्रतिस्पर्धा गर्नेछ। हेटौंडा–६ गौरिटारमा जारी प्रतियोगिता अन्तरगत शुक्रबारकाे खेल राजारानी धनकुटा र पुलिस क्लबबीच हुने आयाेजकले जनाएकाे छ ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद १५ लाख हात पार्नेछ भने उपविजेताले १० लाख प्राप्त गर्नेछ । त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान बुलेट मोटरसाइकल हात प्राप्त गर्ने छन् भने विधागत उत्कृष्ट हुने खेलाडी तथा प्रशिक्षकले जनही २५ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जानकारी दिएकाे छ ।
प्रतियोगितामा एक विदेशी क्लब, नेपालमा रहेका ८ वटा ए डिभिजन फुटबल क्लब, आयोजक टोली सहित मोफसलका तीन गरी १२ वटा टोेलीको सहभागिता रहेको आयोजक जनाएको छ ।
मकवानपुर । मकवानपुरकाे हेटौडामा निर्माण व्यवसायीहरुका लागि दुई दिने व्यवस्थापन तालिम आयोजना गरिएको छ । नेपाल निर्माण व्यवसायी महासंघको आयोजनामा तथा निर्माण व्यवसायी संघ मकवानपुरको संयोजनमा विहीबारबाट सुरुभएको तालिममा निर्माणसम्बन्धी व्यवस्थापनका विषयमा प्रशिक्षण दिइने भएको छ ।
तालिमको शुभारम्भमा निर्माण व्यवसायी संघ मकवानपुरका अध्यक्ष बाल गोपाल कंडेलले निर्माण व्यवस्थापनसम्बन्धी अनुभवको अभावमा निर्माण व्यवसायमा विभिन्न समस्या आउने गरेका बताए । निर्माण व्यवसायमा आउने समस्या समाधानकाे लागि निर्माण व्यवसायीमा व्यवस्थापनसम्बन्धी ज्ञान आवश्यक भएको बताए । कंडेलले कुनै पनि योजना निर्माणका विभिन्न चरणमा व्यवस्थापकीय पक्ष महत्वपूर्ण हुने भएकोले तालिमको आयोजना गरिएको भन्दै निर्माण व्यवसायीलाई आफूले लिएको काम समयमा गुणस्तरीय रुपमा सम्पन्न गर्न आग्रह समेत गरे ।
तालिममा बिमा, निर्माणको कामको प्रगति, भुक्तानीलगायतका निर्माण व्यवस्थापनका बारेमा ईन्जिनियर घनश्याम गौतमले प्रशिक्षण दिएका छन् । तालिममा करिब ६० जना निर्माण व्यवसायीको सहभागिता रहेको निर्माण व्यवसायी संघ मकवानपुरका महासचिव राजेन्द्रप्रसाद चौलागाईले जानकारी दिए ।
मकवानपुर । मुक्तक मञ्च मकवानपुरले मुक्तक वाचनकाे १३ औं श्रृङ्खला आयाेजना गरेकाे छ । विहीबार मञ्च मकवानपुरले मुक्तक वाचन शृङ्खला आयोजना गरी मुक्तक दिवस मनाएकाे हाे ।
हरेक वर्ष माघ १८ गते मुक्तक दिवस मनाउने मुक्तक मञ्च केन्द्रीय समितिले निर्णय गरे बमाेजिम विहीबार पहिलाे मुक्तक दिवस मनाइएकाे हाे । हेटौडामा आयोजित कार्यक्रममा मसान उपासक, अजिता ओझा, सानु खनाल,किसन पौडेल, विष्णु गौतम, वैकुण्ठ लामिछाने, मिथिला अधिकारी,मनाेज पाेखरेल, सुभाष सजललगायत एक दर्शनभन्दा बढीले मुक्तक वाचन गरेका थिए । कार्यक्रममा मुना अर्याल, मुक्तिगाेविन्द वैद्य, राजकुमार लामिछाने मधु ढुंगानालगायतकाे उपस्थिति रहेकाे थियाे ।
यसैगरी माघ २७ गते मुक्तक मञ्च मकवानपुरको दोस्रो वार्षिक उत्सव तथा पहिलो अधिवेशन कार्यक्रम हुने मञ्च अध्यक्ष डीबी बर्तौलाले जानकारी दिए । उक्त दिन पोखराका मुक्तककार दीपक समीप,रौतहटका हरिकृष्ण काफ्ले र मकवानपुरका बिर्खे अन्जान सम्मानित गर्ने कार्यक्रम रहेको उनले बताए ।
मञ्च मकवानपुरका अध्यक्ष डीबी बर्तौलाको अध्यक्षतामा भएको कार्यक्रममा मुक्तक मञ्च मकवानपुरका सल्लाहकार ह्याग्रीव आचार्यको प्रमुख आतिथ्यता रहेको थियो ।

राष्ट्रिय मुक्तक पुरस्कार उषा शेरचनलाई
यसैगरी यस वर्षको राष्ट्रिय मुक्तक पुरस्कार उषा शेरचनलाई प्रदान गरिने भएकाे छ । नेपाली मुक्तक क्षेत्रमा अतुलनीय योगदान पुर्याउनुभएकी कवि, गीतकार तथा मुक्तककार शेरचरलाई उक्त पुरस्कारबाट सम्मानित गरिने भएकाे हाे ।
मुक्तक दिवसको अवसरमा शुक्रवार पोखरामा आयोजित समारोहमा मुक्तक मञ्च पोखराले शेरचनलाई ३३ हजार ३ सय ३३ नगद राशीकाे पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो।
![]()
