मकवानपुर । मकवानपुरकाे हेटौडामा निर्माण व्यवसायीहरुका लागि दुई दिने व्यवस्थापन तालिम आयोजना गरिएको छ । नेपाल निर्माण व्यवसायी महासंघको आयोजनामा तथा निर्माण व्यवसायी संघ मकवानपुरको संयोजनमा विहीबारबाट सुरुभएको तालिममा निर्माणसम्बन्धी व्यवस्थापनका विषयमा प्रशिक्षण दिइने भएको छ ।
तालिमको शुभारम्भमा निर्माण व्यवसायी संघ मकवानपुरका अध्यक्ष बाल गोपाल कंडेलले निर्माण व्यवस्थापनसम्बन्धी अनुभवको अभावमा निर्माण व्यवसायमा विभिन्न समस्या आउने गरेका बताए । निर्माण व्यवसायमा आउने समस्या समाधानकाे लागि निर्माण व्यवसायीमा व्यवस्थापनसम्बन्धी ज्ञान आवश्यक भएको बताए । कंडेलले कुनै पनि योजना निर्माणका विभिन्न चरणमा व्यवस्थापकीय पक्ष महत्वपूर्ण हुने भएकोले तालिमको आयोजना गरिएको भन्दै निर्माण व्यवसायीलाई आफूले लिएको काम समयमा गुणस्तरीय रुपमा सम्पन्न गर्न आग्रह समेत गरे ।
तालिममा बिमा, निर्माणको कामको प्रगति, भुक्तानीलगायतका निर्माण व्यवस्थापनका बारेमा ईन्जिनियर घनश्याम गौतमले प्रशिक्षण दिएका छन् । तालिममा करिब ६० जना निर्माण व्यवसायीको सहभागिता रहेको निर्माण व्यवसायी संघ मकवानपुरका महासचिव राजेन्द्रप्रसाद चौलागाईले जानकारी दिए ।

