मकवानपुर । मकवानपुरको मनहरीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत मनहरी गाउँपालिका–६, सुनादेवीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालक चितवन माडी नगरपालिका–१२ का २० वर्षीय कोरेस चेपाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
विहीबार साँझ चितवनबाट हेटौँडातर्फ आउँदै गरेको ना ७ ख १७९६ नम्बरको ट्रकले विपरित दिशाबाट जाँदै गरेको बागमती प्र ०६ ००१ प ४५३७ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक चेपाङ घाइते भएका थिए ।
चेपाङलाई उपचारका लागि चितवनस्थित पुरानो मेडिकल कलेज लगिएकोमा विहीबार नै डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार ट्रक चालक फरार रहेकोमा खोजी कार्य भइरहेको छ ।

