मकवानपुर । साहित्यकार सरुभक्तलाई भीमदर्शन मुक्तक पुरस्कार प्रदान गरिएको छ । नेपाल मुक्तक प्रतिष्ठान काठमाडौले शुक्रबार मुक्तक दिवसको अवसरमा ५१ हजार रुपैयाँको उक्त पुरस्कार प्रदान गरेको हो।
यस्तै दिवसको अबसर मै अनुराधा ढकालको ‘आरब्ध’ मुक्तक कृतिलाई ३१ हजार रुपैयाँसहित ‘कृष्ण-रत्न-चेतन मुक्तक पुरस्कार’बाट सम्मानित गरिएको छ । २०७९ सालभरि प्रकाशित नेपाली मुक्तककृतिमध्ये उत्कृष्ट ठहरिएको ढकालको ‘आरब्ध’लाई उक्त सम्मान प्रदान गरिएको प्रतिष्ठानले जनाएको छ ।उक्त पुरस्कारहरु नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति तथा वरिष्ठ कवि बैरागी काँइलाले प्रदान गरेका थिए थियो।
दुवै पुरस्कार नेपाली आधुनिक मुक्तक साहित्यका प्रवर्तक भीमदर्शन रोका र कृष्णप्रसाद पराजुली, रत्नशम्सेर थापा र चेतन कार्कीको सम्मानमा स्थापित गरिएको प्रतिष्ठानले जानकारी दिएको छ । साथै कार्यक्रममा रत्नशम्सेर थापाको पहिलो मुक्तक कृति ‘शीतको रुनझुन’ को लोकार्पण समेत गरिएको थियो।
प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेको सभाअध्यक्षतामा भएको कार्यक्रममा समालोचक श्रीओम श्रेष्ठ रोदन, विमल भौकाजी, ज्ञानु पाण्डे, पुरस्कृत स्रष्टा अनुराधा ढकाल, रमेन्द्र शमशेर थापा, वियोगी बुढाथोकी, दिव्य गिरी लगायतका अग्रज स्रष्ट्रा साथै दिनेश शर्मा (हेटौंडा), सुनिल अधिकारी, राजेन्द्र घिमिरे सागर, मदन नेपाल, निर्मलरमण पराजुलीले मुक्तक वाचन गरेका थिए ।
प्रतिष्ठानका महासचिव यादव भट्टराईले सहजीकरण गरेको कार्यक्रममा अमेरिकाबाट आएका स्रष्टाहरु शेखर ढुङेल, सुन्दर जोशी, नेत्र बन्धु पोख्रेल, किस्मत भण्डारीसमेतको उपस्थिति रहेको थियो ।

