मकवानपुर । मकवानपुरकाे हेटौडामा जारी छैठाैं संस्करणको शहीद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता अन्तरगत सशस्त्र प्रहरी बलकाे एपीएफ क्लब अन्तिम आठमा प्रवेश गरेकाे छ।
जिल्ला फुटबल संघ मकवानपुरकाे आयोजनामा भएकाे प्रतियाेगितामा विहीबार भएको खेलमा एपीएफ क्लबले मच्छिन्द्र क्लबलाई ४-३ ले पराजित गर्दै प्रतियोगिताको अन्तिम आठमा स्थान बनाएको छ। निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा सकिएपछि खेल ट्राइब्रेकरमा धकेलिएकाे थियाे ।
एपीएफका गोलरक्षक एञ्जल श्रेष्ठले उत्कृष्ट प्रदर्शन गर्दै टाइब्रेकरका दुई प्रहार बचाए। खेलमा म्यान अफ दी म्याच घोषित हुँदै उनले नगर १० हजार प्राप्त गरे । अब एपीएफले अन्तिम आठको चरणमा थ्री स्टार क्लबसँग प्रतिस्पर्धा गर्नेछ। हेटौंडा–६ गौरिटारमा जारी प्रतियोगिता अन्तरगत शुक्रबारकाे खेल राजारानी धनकुटा र पुलिस क्लबबीच हुने आयाेजकले जनाएकाे छ ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद १५ लाख हात पार्नेछ भने उपविजेताले १० लाख प्राप्त गर्नेछ । त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान बुलेट मोटरसाइकल हात प्राप्त गर्ने छन् भने विधागत उत्कृष्ट हुने खेलाडी तथा प्रशिक्षकले जनही २५ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जानकारी दिएकाे छ ।
प्रतियोगितामा एक विदेशी क्लब, नेपालमा रहेका ८ वटा ए डिभिजन फुटबल क्लब, आयोजक टोली सहित मोफसलका तीन गरी १२ वटा टोेलीको सहभागिता रहेको आयोजक जनाएको छ ।

