मकवानपुर । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका–१९, बस्तिपुरमा भएकाे रक्तदान कार्यक्रममा २४ जनाले रक्तदान गरेका छन् ।
टोल विकास संस्था नगर समन्वय समितिको आयोजनामा बिहीबार भएको रक्तदानमा २ जना महिला र २२ जना पुरुषले रक्तदान गरेका हुन् । विश्व वातावरण दिवसको अवसरमा समन्वय समितिले सप्ताहव्यापी कार्यक्रम गरी मनाउदै छ । कार्यक्रमकाे पहिलाे दिन बिहीबार समितिले रक्तदान कार्यक्रम गरेकाे अध्यक्ष ध्रुव प्रसाद अधिकारीले जानकारी दिए ।
रक्तसञ्चार केन्द्र हेटौंडाको प्राविधिक सहयोगमा रक्तदान भएको हो । टोल विकास संस्था नगर समन्वय समितिले बिहीबारदेखि जेठ २३ गतेसम्म विभिन्न कार्यक्रमको आयोजना गरी ५२ औं विश्व वातावरण दिवस सप्ताहव्यापी रुपमा मनाउँदै छ ।
रक्तदान कार्यक्रम नगर समन्वय समितिका अध्यक्ष अधिकारीको अध्यक्षता तथा हेटौंडा –१९ का वडा अध्यक्ष नरनाथ सुवेदीको प्रमुख आतिथ्यतामा भंएकाे थियो ।
मकवानपुर । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० को उपदफा (१) मा सार्वजनिक पद धारणा गरेको व्यक्तिले त्यस्तो पद धारण गरेको मितिले ६० दिनभित्र र पदमा वाहल रहेको व्यक्तिले आर्थिक वर्ष समाप्त भएको मितिले ६० दिन भित्र आफ्नो र आफ्नो परिवारको नाममा रहेको सम्पतिको स्रोत सहितको अद्यावधिक विवरण तोकिएको निकाय समक्ष पेश गर्नु पर्ने कानूनी व्यबस्था छ ।
तर नेपालका ६ हजार ७०५ जना कर्मचारीले आफ्नो विवरण नबुझाएको पाइएको छ । नेपालका कुल ७ लाख ४६ हजार ४ सय ६३ जना कर्मचारी मध्ये उल्लेखित सङ्ख्याका कर्मचारीले कानुन बमोजिम विवरण नबुझाएका हुन् । जसमा सबैभन्दा बढी संघीय स्तरका कर्मचारी रहेको छन् भने सबैभन्दा कम प्रदेशका कर्मचारी रहेका छन् ।
राष्ट्रिय सतर्कता केन्द्रले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सम्पत्ति विवरण नबुझाउने संघीयस्तरका कर्मचारी ५ हजार १८५ जना छन् । यसैगरी प्रदेश स्तरका ६६५ र स्थानीय स्तरका ८५५ जना रहेको राष्ट्रिय सतर्कता केन्द्रका प्रहरी नायब महानिरीक्षक निरन्जन विष्टले बताए ।
संघमा जम्मा ४ लाख ६६ हजार ३८१ जना कर्मचारी छन् भने प्रदेशमा १८ हजार ४१२ जना कर्मचारी छन् । यसैगरी स्थानीय कर्मचारीहरुको संङ्ख्या २ लाख ६१ हजार ६७० रहेका छन् ।
यसरी हेर्दा प्रदेशका झण्डै ४ प्रतिशत कर्मचारीहरुले आफ्नो सम्पत्ति विवरण नबुझाउने गरेको पाइएको छ । स्थानीय तहका जनप्रतिनिधी/पदाधिकारीहरुले सम्पत्ति विवरण पेश गर्ने सम्बन्धमा स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ११० मा व्यवस्था गरिएको छ । जस अनुसार (१) “सदस्यले पद धारण गरेको र प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले ६० दिनभित्र आफ्नो र आफ्नो परिवारको सदस्यको नाममा रहेको चल अचल सम्पत्तिको श्रोत सहितको अद्यावधिक विवरण प्रचलित कानूनले तोकेको ढाँचामा सम्बन्धित स्थानीय तहमा पेश गर्नु पर्नेछ” भनिएको छ ।
यसैगरी (२) उपदफा (१) बमोजिम पेश भएको सम्पत्तिको विवरण सम्बन्धित स्थानीय तहले अभिलेख राखी तीस दिनभित्र प्रदेश सरकार समक्ष पठाउनु पर्नेछ । तर जनप्रतिनिधि, उनीहरुले नियुक्त गरेका करारका कर्मचारीहरुले सम्पत्ति विवरण नबुझाउने गरेको पाइएको हो ।
भ्रष्टाचार निवारण ऐन २०५५ को दफा ५० बमोजिम सम्पत्ति विवरण नबुझाउने ६ हजार ७०५ जना पदाधिकारी तथा कर्मचारीहरुलाई ५ हजारको दरले जरीवानाको लागि केन्द्रले सिफारिस गरेको छ । जसमा संघतर्फ राष्ट्रिय किताबखाना (निजामती) मा ३ हजार ३८६ जना, राष्ट्रिय किताबखाना (शिक्षक) मा ८३१ जना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागमा ७९ जना, अन्य (राजनीतिक नियुक्ति र करार)का ८८९ जनालाई जरीवानाको लागि सिफारीस गरिएको केन्द्रका डिआइजी विष्टले बताए ।
यसैगरी प्रदेशतर्फ प्रदेश सभा सचिवालय ४७ जना र प्रदेश मन्त्रालयहरुमा ६१८ जनालाई कारवाहिको लागि सिफारीस गरिएको हो । स्थानीयतर्फ नगरपालिका तथा गाउँपालिकाका ८५४ जना र जिल्ला समन्वय समितिको १ जनालाई कारवारहीको लागि सिफारीस गरिएको हो ।
तथ्याङ्क अनुसार नेपाली सेनातर्फ भने सतप्रतिशतले सम्पत्ति विवरण बुझाएको देखिन्छ । सम्पत्ति विवरणमा मात्रै हैन आर्थिक पाटोका कामहरुमा पारदर्शिताको अभाव देखिएको छ । विकास व्यवस्थापन र सेवा प्रवाहको अनुगमन र अध्ययनका विभिन्न तथ्यहरु भेटिएको राष्ट्रिय सतर्कता केन्द्रका प्रहरी नायब महानिरीक्षक निरन्जन विष्टले बताए ।
कार्यलयहरुले खरिद कार्यमा पारदर्शीता नअपनाई मिलोमतो गरी प्रचलित कानून विपरित कार्यहरु गर्नेगरेको, सेवाग्राहीको बढी चाप हुने कार्यालयहरुमा बिचौलिया मार्फत कर्मचारीहरुले अनुचित लाभ लिने गरेका समेत अनुगमनको क्रममा भेटिएको प्रहरी नायब महानिरीक्षक विष्टले बताए । यसैगरी विभिन्न निगरानी निकायबीच काम कर्तव्य र अधिकारको स्पष्ट सीमांकन नभएको, एक आपसमा समन्वय गर्ने संयन्त्र विकास नभएको हुँदा छानविन कार्यमा दोहोरोपना र सुझाव कार्यान्वयन गर्ने निकायलाई समेत द्धिविधा उत्पन्न हुने गरेको बताइएको छ ।
जसले गर्दा विकास व्यवस्थापन र सेवा प्रवाहको अनुगमन र अध्ययनका क्रममा देखिएका समेत गलत अभ्यास भएको तथ्यहरु भेटिएको विष्टले बताए । विकास व्यवस्थापनका कार्यहरु तोकिएको कार्यतालिका अनुरुप सम्पन्न नहुने गरेको, विकास निर्माणका आयोजनासंग सम्बन्धित सरोकारवाला निकायबीच प्रभावकारी समन्वयको कमीले गर्दा समयमै कार्य गर्न बाधा उत्पन्न हुने एवं काममा दोहोरोपना देखिने गरेको, विकास निर्माण कार्यमा सम्झौता बमोजिम गुणस्तरको पालना नभएको पाइएको छ ।
यसैगरी एकै प्रकृतिका आयोजनाहरुमा समेत एकरुपता नहुने गरेको, अधिकांश विकास निर्माणका आयोजना तोकिएको समय सीमा तथा लागत भित्र सम्पन्न हुन नसकेको पाइएको विष्टले बताए । सुशासन केन्द्रले मकवानपुरको हेटौंडामा आयोजना गरेको कार्यक्रममा यस्तो तथ्याङ्क सार्वजनिक गरिएको हो । कार्यक्रममा बागमती प्रदेशका वन तथा वातावरण मन्त्री केशवप्रसाद पोखरेलले हाल कार्यान्वयनमा आएको अवस्थामा रहेका र यसमा संघीयताको प्रतिफल जनता माझ कसरी पु-याउने भन्ने प्रदेश सरकारले सधैं ध्यान दिइरहेको बताए ।
मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका जुरिखेतमा कार सडकबाट खस्दा २ जनाको मृत्यु भएको छ ।
हेटौंडा-भैसे-भीमफेदी- काठमाडौँ सडकखण्डको भीमफेदी ६ जुरिखेतमा कार सडकबाट २५० मिटर तल खसेको थियो । उक्त दुर्घटनामा एक बालिका सहित २ जनाको मृत्यु भएको छ मकवानपुर प्रहरीले जनाएको छ ।
काठमाडौबाट हेटौडातर्फ आउदै गरेको बा ६ च ९३७९ नम्बरको कार बुधबार अपरान्ह अनियन्त्रित भई सडकबाट २५० मिटर तल खस्दा ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । घाइते ५ जना मध्ये एक बालक र एक पुरुषको उपचारको क्रममा हेटौंडामा ज्यान गएको मकवानपुर प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए ।
प्रहरीका अनुसार घाइते अन्य २ महिला र १ पुरुष रहेकोमा उनीहरुको हेटौडास्थित मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ। घाईते र मृतकको पहिचान भने हालसम्म हुन नसकेको प्रहरीले जनाएको छ ।
मकवानपुर । आर्थिक मन्दी र बेराेजगारी रहेकाे भन्दै वैदेशिक राेजगारीमात्रै राेज्ने युवाहरुलाई उद्यमकाे नयाँ आयाम र संभावनाहरुबाट परिचित गराउने उद्देश्यले मकवानपुरकाे हेटाैडामा २ दिने नवप्रवर्तन उद्यमी विकास सम्मेलन सुरु भएकाे छ ।
उद्याेग संघ मकवानपुरकाे आयाेजनामा सम्मेलन गरिएकाे हाे । उद्याेग संघ हेटाैडाका अध्यक्ष बद्रीनाथ शर्माका अनुसार सम्मेलन युवाकाे लागि प्रभावकारी बन्नेछ । प्रविधि अनुसारकाे सिप र कला हुने हाे भने व्यवसायिक तथा उद्यमी बन्न धेरै संभावनहरु पनि छन् । जसलाई यस्ता सम्मेलनहरुले अवसर प्रदान गर्न सक्ने भएकाेले सम्मेलनकाे आयाेजना गरिएकाे हाे ।
कार्यक्रममा हेटौडा उपमहानगरपालिका प्रमुख मिना कुमारी लामाको घरेलु उद्याेगहरुलाई प्राेत्साहन गर्ने नीति आफूहरुले लिएकाे बताइन् । स्थानीय सरकारकाे रुपमा आफूहरुले तालिमसँगै उद्यमकाे लागि सहयाेग गर्ने गरेकाे उनले बताइन् ।
कार्यक्रममा उद्योग वाणिज्य भुमी तथा प्रशासन मन्त्रालय बागमती प्रदेशका सचिव राजेन्द्र कुमार केसी, उद्याेग संघका पुर्व अध्यक्ष स्वागतराज प्याकुरेल, हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थाप प्रमुख संगिता कुंवर, मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेडाई , मकवानपुर बहुमुखी क्याम्पस प्रमुख यम सिलवाललगायतले युवा उद्यमलाई प्राथमिता दिनु पर्ने बताए ।
दुई दिनसम्म संचालन हुने सम्मेलनमा उदाहरणीय उद्यमीहरुसँग प्यानल छलफल हुनेछ । जसबाट उद्यमका बारेमा टिप्सहरु प्राप्त हुने र आगामी दिनमा उद्यममा सफलताकाे लागि सहज हुने उद्योग संघ हेटाैडाका कार्यकारी निर्देशक शम्भुप्रसाद नेपालले जानकारी दिए ।
कार्यक्रममा बागमती प्रदेशका विभिन्न जिल्लाहरुबाट युवाहरुकाे उपस्थिति रहेकाे छ । युवाहरुले कार्यक्रममा सहभागी सफल उद्यमीहरुसँग आफूहरुकाे समस्या चुनाैती तथा जिज्ञासामाथी समेत अनुभव आदनप्रदान गर्ने अवसर पाउने बताइएकाे छ ।
मकवानपुर ।
कुवाको होस् वा झरनाको पानीको काम प्यास मेट्ने त हो
सडक होस् वा मेरो छाति तिम्रो पैतालाको काम टेक्ने त हो
तरबारसँग भागेर फूलको नजिक पुगेँ म, बल्ल सम्झेँ,
फूलको होस् या तरबारको धारको काम रेट्ने त हो ।
माथिका मुक्तक गीतकार सुवासचन्द्र ढुंगेलको हो । गीतसंगै मुक्तकलेखनमा समेत सक्रिय ढुंगेलले मकवानपुरको हेटौंडामा मंगलबार मुक्तक सुनाएका छन् ।
मुक्तक मञ्च मकवानपुर शाखाले ढुङ्गेलको मुक्तक सुनाउने चाजोपाजो मिलाएको हो । उनले एकल मुक्तक वाचन कार्यक्रममा माथिका जस्तै चोटिला ३० वटा मुक्तक सुनाएका थिए ।
मुक्तक वाचनको पहिलो सत्रमा ढुंगेलले १५ वटा र दोस्रो सत्रमा १५ वटा राजनीति, सामाजिक, समसामयिक, शृङ्गारिक भावका मुक्तक सुनाएका थिए । उनको ‘चोट के हो व्यथा के हो’ र ‘सुवास’ गीति एल्बम, भाँचिएको मन’ गजल संग्रह, ‘आनन्दै आनन्द’ भक्ति गीति एल्बम तथा ‘अक्षरका गोलीहरु’ मुक्तकसंग्रह प्रकाशित छन् ।
यस्तै ‘चोट के हो व्यथा के हो ?’ गीत ढुंगेलले लेखेका हुन् । उनका ‘जति चोट दिन्छौ देऊ मायालु’, ‘फूल झरे पनि काँडा झर्दैन’, ‘चिता बनाई जलाई नदेऊ’ लगायत ३ सय बढी गीतहरू सांगीतिक बजारमा छन् ।
कार्यक्रममा कमल नेपाल र मिथिला अधिकारीले ढुंगेलका थप ३/३ वटा मुक्तक वाचन गरेका थिए । कवि मुरारी सिग्देलले ढुंगेलको संक्षिप्त परिचय गराएका थिए ।
कार्यक्रममा मकवानपुरका गायक कृष्णगोपाल सिंह र अञ्जन दाहालले ढुङ्गेलले रचना गरेको गीत प्रस्तुत गरेका थिए ।
२०७८ पौष १७ गते स्थापित मुक्तक मञ्च मकवानपुर शाखाले स्थापना कालदेखि नै जिल्लाभित्र र बाहिरका मुक्तककारहरूमार्फत् प्रस्तुति गराउने, मुक्तक लेखन कार्यशाला, प्रतियोगिता, पुरस्कार तथा स्रष्टा सम्मानका कार्यक्रम गर्दै आएको छ ।
मुक्तक मञ्च मकवानपुरका अध्यक्ष सागर तिमल्सिनाको अध्यक्षता तथा सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलको प्रमुख आतिथ्यता भएको कार्यक्रमलाई सस्थाका सचिव सुवास सजलले सहजीकरण गरेका थिए ।
अन्त्यमा स्रष्टा ढुङ्गेलको यो मुक्तक
एकै दिनमा जानुपर्छ जन्त र मलाम कहिलेकाहीँ
फूल बन्छ यहाँ मन र बन्छ फलाम कहिलेकाहीँ
अनुहारमा पटक पटक थुक्न मन लाग्ने मान्छेलाई पनि
यो जिन्दगीको उद्घोष गर्नुपर्छ सलाम कहिलेकाहीँ ।