मकवानपुर । मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठान कोही कसैकाे नीजि सम्पत्ती नभइ प्रदेशको गौरवको आयोजना रहेको बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बताएका छन् । प्रतिष्ठानको चौथो वाषिर्कोत्सवको अवसरमा शुक्रबार हेटौंडामा मुख्यमन्त्रीले यस्तो बताएका हुन् ।
‘प्रतिष्ठान प्रदेश सरकारको अभिन्न अंग हो’ मुख्यमन्त्री जम्कट्टेलले भने ‘स्वास्थ्य क्षेत्रकाे लागि दक्ष जनशक्ति उत्पादन गर्ने स्थापना भएकाे हाे ।’ ‘अरु प्रतिष्ठान संघीय सरकारबाट स्थापना भएका भए पनि मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठान बाग्मती प्रदेश सरकारबाट स्थापना भएकाे र प्रतिष्ठानकाे ऐन प्रदेशले पारित गरेकाे हाे’ उनले भने । उनले स्वास्थ्य क्षेत्रमा डाक्टर पढ्न र नर्स पढ्न चाहनेले पढ्न नपाएकाे बताए । ‘हाम्रो ऐन काेटा निर्धारण हुने गरी बनेकाे छ’ उनले भने ‘देशमा डाक्टर पढ्न कोटा निर्धारण गर्ने नियम तोडिनुपर्छ । पढ्न इच्छा हुनेलाई पढ्न दिइनु पर्ने उनले बताए ।
‘सरकारले विद्यार्थीबाट लिने फि को एउटै मापदण्ड बनाउनुपर्छ’ उनले भने । प्रतिष्ठानले अहिले ४ वटा विषय मात्रै पढाइरहेकाेले २८० विद्यार्थी छन् । बनिरहेकाे संरचनाले पूर्णता पाएपछि हजारौं विद्यार्थी पढाउन सक्ने उनले जानकारी दिए । प्रतिष्ठान प्रदेश गौरवको आयोजना भएकाेले कानूनले दिएको काम गर्ने बताउँदै उनले भने ‘संस्थालाई विवादरहित बनाउँदै अगाडि बढाउनु पर्छ ।’
हेटौंडा अस्पताल संघीय सरकारले प्रादेशिक अस्पताल बनाएको जानकारी दिदै उनले ५ वटा अस्पतालहरु प्रादेशिक अस्पतालको रुपमा विकास गर्ने उनले बताए । प्रतिष्ठानले गर्दा नै हेटौंडा अस्पताल सुधार भएकोले अन्य भ्रममा नपर्न समेत उनले आग्रह समेत गरे । बागमती प्रदेश भरी स्वास्थ्य जनशक्ति उत्पादन गर्ने प्रतिष्ठान भएकाेले लक्ष्यमा अगाडि बढ्नु पर्ने उनकाे भनाई थियाे ।
मकवानपुर । अहिले मनसुनी वायुको प्रभाव रहेकाेले शुक्रबारदेखि आइतबारसम्म देशभर साधारणदेखि पूर्णतया बदली रहने भएकाेले देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनी बायुकाे प्रभावले कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेशमा साधरणतया देखि पूर्णतया बदली रही बाँकी भूभागमा आंशिक देखि साधरणतया बदली रहेको छ । कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेशको थोरै स्थानहरूमा चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।
शुक्रबारदेखि गण्डकी प्रदेशका केही स्थानहरूमा, कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा मधेश र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले प्रकाशित गरेकाे बुलेटिनबाट जानकारी दिएको छ।
अहिले बिहान कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारण देखि पूर्णतया बदली रही बाँकी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ। कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। साथै मधेस प्रदेशका एक–दुई स्थानमा भारी वर्षा पनि भइरहेको छ।
शुक्रबार दिउँसो देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र गण्डकी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
राति देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ। बागमती, मधेस, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरू साथै बाँकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको साथै कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।
मकवानपुर । बागमती प्रदेश सरकारको आर्थिक वर्ष २०८१/०८२ को बजेट बहुमतले पारित भएको छ । बिहीबारको प्रदेशसभा बैठकले प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट बहुमतले पारित गरेको हो । प्रदेश सभाकाे दोस्राे कार्यकालकाे चौथी अधिवेशनकाे ३१ औ बैठकले बजेट पारित गरेकाे हाे ।
गत असार १ गते प्रदेश सभामा पेश भएकाे बजेट सम्बन्धमा प्रदेश सभामा असार ६ बाट छलफल सुरु भएकाे थियाे । प्रदेश सरकारका तर्फका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले अर्थ सम्बन्धीमा प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक र विनियोजन विधेयक संसदमा पेस गरेका थिए । सभामुख भुवन कुमार पाठकले प्रदेश सभाकाे बिहीबार राती बसेकाे तेस्राे बैठकमा प्रदेश सरकारको अर्थ सम्बन्धी विधेयक र विनियोजन विधेयक प्रदेशसभामा निर्णायार्थ पेस गरेकोमा बहुमतले पारित भएकाे हो ।
प्रदेशसभाको बैठकले ९ जना सांसदहरूले राखेको खर्च कटौतीको प्रस्ताव अस्वीकृत गरेकाे छ । प्रदेश सरकारकाे तर्फबाट आर्थिक मामिला मन्त्री थपलियाले गत असार १ गते आर्थिक वर्ष २०८१/०८२ का लागि ६४ अर्ब ५४ लाख रुपैयाँ बजेट प्रदेश सभमा प्रस्तुत गरेका थिए । प्रदेश सरकारले चालु आर्थिक वर्षको तुलनामा १ अर्ब ८४ करोड रुपैयाँ बढीको बजेट ल्याएकाे थियो ।
बजेट पारित भएसँगै सभामुख पाठकले प्रदेश सभाकाे अर्काे बैठक आज शुक्रबार दिउँसो ३ बजेबस्ने गरी बिहीबारकाे बैठक स्थगित गरे ।
मकवानपुर । मकवानपुर प्रहरीले जिल्लाकाे भिन्दाभिन्दै ठाँउबाट ३ सय ३० किलाे लागूऔषध गाँजासहित ३ जनालाई नियन्त्रणमा लिएकाे छ । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर १ सामरी पुल नजिकैबाट १७५ किलाे गाँजासहित १ जना र हेटौडा उपमहानगरपालिका १५ रातोमाटेबाट १५५ किलाे गाँजा सहित २ जनालाई नियन्त्रणमा लिइएकाे मकवानपुर प्रहरीले जनाएकाे छ ।
प्रहरीका अनुसार भिमफेदीबाट १७५ किलो गाँजासहित हेटौडा उपमहानगरपालिका वडा नम्बर ४ बस्ने बर्ष ५१ को पुर्ण बहादुर रुम्बालाई नियन्त्रणमा लिइएकाे हाे भने हेटौडा १५ बाट १५५ किलाे गाँजासहित चितवन राप्ती नगरपालिका–२ गड्यौली बस्ने बर्ष ३६ को सुनिल मुक्तान र राप्ती–१ लोथर बस्ने बर्ष २० को अनिल भन्ने धन बहादुर स्याङतानलाई नियन्त्रणमा लिइएकाे हाे ।
भीमफेदी १ मा बा.३ ख ४६१ नम्बरको मिनी ट्रकमा गाँजा लुकाई छिपाई ल्याएको छ भन्ने सूचनाको आधारमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौडा र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी चेक गर्दा ट्रकको पछाडी पट्टी मुनी फल्स बटम बनाई लुकाई छिपाई राखेको अबस्थामा गाँजा १७५ किलो बरामद भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरी टोलीले ट्रक र ट्रक चालक रुम्बालाई उक्त गाँजासहित नियन्त्रणमा लिएको हो । सो बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यसैगरी चितवनबाट पथलैयातर्फ जादै गरेको ना.५ ख १११८ नम्बरको डिब्बा ट्रकलाई हेटौडा १५ रातोमाटेमा चेक हुटमा फल्स बटम बनाई लुकाई छिपाई राखेको अवस्थामा १६ पोकामा १५५ किलो गाँजा बरामद भएकाे प्रहरीले जानकारी दिएकाे छ । प्रहरीले ट्रकसहित ट्रक चालक मुक्तान र ट्रकमा सवार स्याङ्तानलाई उक्त परिमाणकाे गाँजासहित नियन्त्रणमा लिइएकाे हाे ।
मकवानपुर । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० को नतिजा सार्वजनिक गरेको छ । बिहीबार विहान सार्वजनिक नतिजा अनुसार ४७.८६ प्रतिशत परीक्षार्थीले मात्र ‘ग्रेडिङ’ प्राप्त गरेका छन् ।
सार्वजनिक नतिजा अनुसार २ लाख ४२ हजार ९२ जना विद्यार्थीले मात्रै कक्षा ११ मा पढ्न पाउने भएका हुन् । यस वर्ष देशभरका ५ लाख ४ हजार ४१४ विद्यार्थीले एसइईमा सहभागिता जनाएको बाेर्डले जनाएकाे छ । नियमिततर्फ चार लाख ६७ हजार र ग्रेड वृद्धितर्फ २१ हजार परीक्षार्थी सहभागी थिए । परीक्षामा सहभागी भएकामध्ये ५२.१४ प्रतिशत परीक्षार्थीले ननग्रेड (एनजी) ल्याएका छन् ।
बोर्डले यस वर्ष लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गरेको हो । जसमा सैद्धान्तिक र आन्तरिकको मूल्याङ्कन फरक–फरक रूपमा गर्ने व्यवस्था छ । विद्यार्थीले सैद्धान्तिकतर्फ हरेक विषयमा न्यूनतम ३५ प्रतिशत अंक ल्याउनुपर्छ । आन्तरिकतर्फ २५ पूर्णांकको परीक्षामा भने ४० प्रतिशत अंक ल्याउनुपर्छ । लेटर ग्रेडिङ निर्देशिकाअनुसार सैद्धान्तिक र आन्तरिकतर्फ प्राप्त अंकलाई ग्रेडमा रूपान्तरण गरिने छ
विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ पूर्णांकको परीक्षा हुने विषयमा ३५ प्रतिशत अर्थात २६.२५ अंक पाएको छैन भने प्रमाण पत्रमा एनजी (नन ग्रेडेड) उल्लेख हुनेछ । र ग्रेड वृद्धि परीक्षा नदिइ कक्षा ११ मा पढ्न पाउने छैनन् । साथै कुनै एक विषयमा आन्तरिकतर्फ १० र सैद्धान्तिकतर्फ न्यूनतम २६.२५ अंक नल्याएको अवस्थामा विद्यार्थीले मूल प्रमाणपत्र नपाउने बोर्डले जनाएको छ । विद्यार्थीले २ विषयमा ग्रेड वृद्धि परीक्षा दिन पाउनेछन् ।
दुईभन्दा बढी विषयमा न्यूनतम ३५ प्रतिशत अंक नपाएका र ग्रेड वृद्धि परीक्षा दिँदा पनि ३५ प्रतिशत अंक ल्याउन नसकेका परीक्षार्थीले अर्को वर्ष एनजी लागेको विषयमा मात्र परीक्षा दिन पाउनेछन् ।
१५ चैत्र २०८० देखि २७ चैत २०८० सम्म संचालन भएको एसइई परीक्षामा मकवानपुर जिल्लामा २६ वटा केन्द्रबाट ६ हजार विद्यार्थी सहभागी भएका थिए । जिल्लामा नियमित तर्फ ५ हजार ७ सय ५०, प्राविधिक धार तर्फ २ सय ६४ जना विद्यार्थी सहभागी थिए । यसैगरी भने पुरक तर्फ १ सय ४९ जना सहभागी थिए । नियमित, प्राविधिक तर्फ र पुरक गरी ६ हजार १ सय ७१ जना विद्यार्थी एसइई परीक्षामा सामेल रहेकाे शिक्षा विकास तथा समन्वय ईकाई मकवानपुरले जनाएको छ ।
एसइई परीक्षाका लागि मकवानपुरका १० स्थानीय तह मध्ये ९ स्थानीय तहका २६ वटा विद्यालयमा परीक्षा केन्द्र कायम गरिएको थियाे । सामुदायिक तर्फ १ सय र संस्थागत तर्फ ३६ विद्यालय गरी १ सय ३६ विद्यालयका विद्यार्थी एसइई परीक्षामा सामेल थिए ।
बाेर्डले गत वर्ष असार २४ मा एसईईको नतिजा सार्वजनिक गरेको थियो ।