मकवानपुर । मकवानपुर प्रहरीले जिल्लाकाे भिन्दाभिन्दै ठाँउबाट ३ सय ३० किलाे लागूऔषध गाँजासहित ३ जनालाई नियन्त्रणमा लिएकाे छ । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर १ सामरी पुल नजिकैबाट १७५ किलाे गाँजासहित १ जना र हेटौडा उपमहानगरपालिका १५ रातोमाटेबाट १५५ किलाे गाँजा सहित २ जनालाई नियन्त्रणमा लिइएकाे मकवानपुर प्रहरीले जनाएकाे छ ।
प्रहरीका अनुसार भिमफेदीबाट १७५ किलो गाँजासहित हेटौडा उपमहानगरपालिका वडा नम्बर ४ बस्ने बर्ष ५१ को पुर्ण बहादुर रुम्बालाई नियन्त्रणमा लिइएकाे हाे भने हेटौडा १५ बाट १५५ किलाे गाँजासहित चितवन राप्ती नगरपालिका–२ गड्यौली बस्ने बर्ष ३६ को सुनिल मुक्तान र राप्ती–१ लोथर बस्ने बर्ष २० को अनिल भन्ने धन बहादुर स्याङतानलाई नियन्त्रणमा लिइएकाे हाे ।
भीमफेदी १ मा बा.३ ख ४६१ नम्बरको मिनी ट्रकमा गाँजा लुकाई छिपाई ल्याएको छ भन्ने सूचनाको आधारमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौडा र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी चेक गर्दा ट्रकको पछाडी पट्टी मुनी फल्स बटम बनाई लुकाई छिपाई राखेको अबस्थामा गाँजा १७५ किलो बरामद भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरी टोलीले ट्रक र ट्रक चालक रुम्बालाई उक्त गाँजासहित नियन्त्रणमा लिएको हो । सो बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यसैगरी चितवनबाट पथलैयातर्फ जादै गरेको ना.५ ख १११८ नम्बरको डिब्बा ट्रकलाई हेटौडा १५ रातोमाटेमा चेक हुटमा फल्स बटम बनाई लुकाई छिपाई राखेको अवस्थामा १६ पोकामा १५५ किलो गाँजा बरामद भएकाे प्रहरीले जानकारी दिएकाे छ । प्रहरीले ट्रकसहित ट्रक चालक मुक्तान र ट्रकमा सवार स्याङ्तानलाई उक्त परिमाणकाे गाँजासहित नियन्त्रणमा लिइएकाे हाे ।

