मकवानपुर । मकवानपुर जिल्लाका १० वटा राजनीतिक दल मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको वार्षिकोत्सव कार्यक्रममा सहभागी नहुने भएका छन् । प्रतिष्ठानले शुक्रबार हेटौंडामा चौथो वार्षिकोत्सव मनाउने तयारी गरिरहँदा जिल्लामा क्रियाशील राजनीतिक दलले विरोधस्वरुप कार्यक्रममा सहभागी नहुने निर्णय बिहीबार गरेका हुन् ।
नेपाली कांग्रेस पार्टी मकवानपुरकाे हेटौंडा–२ स्थित कार्यालयमा बिहीबार बसेको बैठकले २०८१ असार १४ गतेकाे मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडाको चौथो वार्षिक उत्सव कार्यक्रममा मकवानपुर जिल्लाका १२ वटा राजनीतिक दलहरु सहभागी नहुने निर्णय संयुक्त विज्ञप्ती मार्फत गरेकाे हुन् ।
नेकपा एमालेका बाहेकका दलहरुले जिल्लामा रहेको संगठितरुपमा हेटौंडा प्रादेशिक अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा संघीय कानून विपरित प्रदेश ऐन २०७६ जारी गरी गाभ्ने निर्णयको विरोधमा चरणबद्ध आन्दोलनका कार्यक्रमहरु घोषणा गर्दै आइरहेका छन् । संयुक्त बैठक चरणबद्ध आन्दोलनका कार्यक्रमहरु निरन्तररुपमा अगाडी बढिरहने जनाइएको छ । जिल्लामा रहेका दलहरुले हेटौंडा अस्पताललाई प्रतिष्ठानमा गाभिएको विषयमा लामो समयदेखि आन्दोलन गरिरहेको छ ।
वैठकमा नेपाली कांग्रेस मकवानपुर सभापति बुद्ध लामा, नेकपा माओवादी केन्द्र जिल्ला अध्यक्ष भीम पाख्रिन, राष्ट्रिय स्वतन्त्र पार्टीका किशोर अर्याल, नेकपा एकीकृत समाजवादीका विष्णुप्रसाद दाहाल, राप्रपा नेपालका गुरुप्रसाद सापकोटा, राप्रपाका अर्जुनप्रसाद गौतम, नेकपाका राम सि, जनता समाजवादीका दीपक सिन्तान, नेकपा मालेका हरि अधिकारी, क्रान्तिकारी कम्युनिष्ट पार्टीका सद्धाम हुसेनलगायत सहभागी थिए ।
‘जिल्लाका दलहरु चरणबद्धरुपमा आन्दोलित भएको अवस्थामा सम्बद्ध पक्षबाट बेवास्ता गर्दागर्दै पनि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको छुट्टै अस्थित्व रहनेगरी समृद्धि र प्रगतिको शुभकामना दिन चाहान्छौं’ १० दलद्वारा जारी विज्ञप्तिमा भनिएकाे छ । दलहरुले बिहीबार साँझ हेटौंडामा पत्रकार सम्मेलन गर्दै हेटौंडा अस्पताललाई प्रतिष्ठानमा गाभ्ने त्रुटीपूर्ण ऐनका दफाहरु खारेज नगरेसम्म प्रतिष्ठानले आयोजना गर्ने कुनैपनि कार्यक्रममा सहभागी नहुने जनाएको छ ।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको वार्षिकोत्सव कार्यक्रम बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलकाे प्रमुख आतिथ्यतामा शुक्रबार बिहान हेटौडामा हुने भएकाे छ ।

