मकवानपुर । बागमती प्रदेश सरकारको आर्थिक वर्ष २०८१/०८२ को बजेट बहुमतले पारित भएको छ । बिहीबारको प्रदेशसभा बैठकले प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट बहुमतले पारित गरेको हो । प्रदेश सभाकाे दोस्राे कार्यकालकाे चौथी अधिवेशनकाे ३१ औ बैठकले बजेट पारित गरेकाे हाे ।
गत असार १ गते प्रदेश सभामा पेश भएकाे बजेट सम्बन्धमा प्रदेश सभामा असार ६ बाट छलफल सुरु भएकाे थियाे । प्रदेश सरकारका तर्फका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले अर्थ सम्बन्धीमा प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक र विनियोजन विधेयक संसदमा पेस गरेका थिए । सभामुख भुवन कुमार पाठकले प्रदेश सभाकाे बिहीबार राती बसेकाे तेस्राे बैठकमा प्रदेश सरकारको अर्थ सम्बन्धी विधेयक र विनियोजन विधेयक प्रदेशसभामा निर्णायार्थ पेस गरेकोमा बहुमतले पारित भएकाे हो ।
प्रदेशसभाको बैठकले ९ जना सांसदहरूले राखेको खर्च कटौतीको प्रस्ताव अस्वीकृत गरेकाे छ । प्रदेश सरकारकाे तर्फबाट आर्थिक मामिला मन्त्री थपलियाले गत असार १ गते आर्थिक वर्ष २०८१/०८२ का लागि ६४ अर्ब ५४ लाख रुपैयाँ बजेट प्रदेश सभमा प्रस्तुत गरेका थिए । प्रदेश सरकारले चालु आर्थिक वर्षको तुलनामा १ अर्ब ८४ करोड रुपैयाँ बढीको बजेट ल्याएकाे थियो ।
बजेट पारित भएसँगै सभामुख पाठकले प्रदेश सभाकाे अर्काे बैठक आज शुक्रबार दिउँसो ३ बजेबस्ने गरी बिहीबारकाे बैठक स्थगित गरे ।

