मकवानपुर । मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठान कोही कसैकाे नीजि सम्पत्ती नभइ प्रदेशको गौरवको आयोजना रहेको बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बताएका छन् । प्रतिष्ठानको चौथो वाषिर्कोत्सवको अवसरमा शुक्रबार हेटौंडामा मुख्यमन्त्रीले यस्तो बताएका हुन् ।
‘प्रतिष्ठान प्रदेश सरकारको अभिन्न अंग हो’ मुख्यमन्त्री जम्कट्टेलले भने ‘स्वास्थ्य क्षेत्रकाे लागि दक्ष जनशक्ति उत्पादन गर्ने स्थापना भएकाे हाे ।’ ‘अरु प्रतिष्ठान संघीय सरकारबाट स्थापना भएका भए पनि मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठान बाग्मती प्रदेश सरकारबाट स्थापना भएकाे र प्रतिष्ठानकाे ऐन प्रदेशले पारित गरेकाे हाे’ उनले भने । उनले स्वास्थ्य क्षेत्रमा डाक्टर पढ्न र नर्स पढ्न चाहनेले पढ्न नपाएकाे बताए । ‘हाम्रो ऐन काेटा निर्धारण हुने गरी बनेकाे छ’ उनले भने ‘देशमा डाक्टर पढ्न कोटा निर्धारण गर्ने नियम तोडिनुपर्छ । पढ्न इच्छा हुनेलाई पढ्न दिइनु पर्ने उनले बताए ।
‘सरकारले विद्यार्थीबाट लिने फि को एउटै मापदण्ड बनाउनुपर्छ’ उनले भने । प्रतिष्ठानले अहिले ४ वटा विषय मात्रै पढाइरहेकाेले २८० विद्यार्थी छन् । बनिरहेकाे संरचनाले पूर्णता पाएपछि हजारौं विद्यार्थी पढाउन सक्ने उनले जानकारी दिए । प्रतिष्ठान प्रदेश गौरवको आयोजना भएकाेले कानूनले दिएको काम गर्ने बताउँदै उनले भने ‘संस्थालाई विवादरहित बनाउँदै अगाडि बढाउनु पर्छ ।’
हेटौंडा अस्पताल संघीय सरकारले प्रादेशिक अस्पताल बनाएको जानकारी दिदै उनले ५ वटा अस्पतालहरु प्रादेशिक अस्पतालको रुपमा विकास गर्ने उनले बताए । प्रतिष्ठानले गर्दा नै हेटौंडा अस्पताल सुधार भएकोले अन्य भ्रममा नपर्न समेत उनले आग्रह समेत गरे । बागमती प्रदेश भरी स्वास्थ्य जनशक्ति उत्पादन गर्ने प्रतिष्ठान भएकाेले लक्ष्यमा अगाडि बढ्नु पर्ने उनकाे भनाई थियाे ।

