मकवानपुर । मकवानपुरको बकैयामा भएको निःशुल्क आँखा शिविरमा ८० जनाको आँखा परीक्षण गरिएको छ ।
शनिबार बकैया गाउँपालिका वडा नम्बर ५ ले राजदमार स्वास्थ्य सेवा केन्द्रमा गरेको आँखा शिविरमा ८० जनाको आँखा परीक्षण गरिएको हो । बकैया ४ का ३ जना, बकैया ७ का ४ जना र बकैया ५ का ७२ जनाको आँखा परीक्षण गरिएको वडा सचिव देवराज लामिछानेले जानकारी दिए ।सफल फार्मेसी तथा आँखा क्लिनिक, आँखा अस्पतालका डा. रमेश अधिकारी सहितको टिमले आँखा परीक्षण गरेका थिए ।
शिविरमा आँखा परीक्षण गरिएको मध्य १६ जनाको शल्यक्रिया गर्नुपर्ने देखिएको लामिछानेले बताए ।उनीहरूको आँखाको अप्रेसन एकहप्तापछि राजदमार स्वास्थ्य सेवा केन्द्रमा हुने बताइएको छ ।
मकवानपुर । मकवानपुर जिल्ला हेटौंडा उपमहानगरपालिका वडा न १७ राजदेवी मन्दिर परिसरमा शनिबार फरक माहोल थियो । कार्यक्रमको लागि खचाखच हल भरिएको थियो, तर उस्तो साह्रो उल्लाष र रौनकता देखिदैनथ्यो।
कार्यक्रममा गण्डकी प्रदेशको पूर्व प्रदेश प्रमुख सिता पौडेल, बागमती प्रदेशको पुर्व मुख्यमन्त्री डोरमणी पौडेलेलगायत पाटीका विभिन्न तहका नेता तथा कार्यकर्ताको उपस्थिती थियो । कार्यक्रमको अग्रभागमा राखिएको थियो बालकुमारी थापाको तस्बीर ।
सन्दर्भ थियो, नेकपा एमाले पार्टी सेल्टर दाता बालकुमारी थापाको स्मृतिमा आयोजना गरिएको सम्मान कार्यक्रम । पार्टी सेल्टर दातामा निधन भएको ४ वर्षपछि उनको बासस्थान नजिकै मन्दिर परिसरमा आयोजना गरिएको कार्यक्रममा थापा जस्तै दुई नेतृहरु उनकै नामबाट सम्मानीत भए । गण्डकी प्रदेशको पूर्व प्रमुख तथा नेकपा एमाले स्थायी कमिटी सदस्य सिता पौडेललगायतले उनीहरुलाई सम्मान गरेका हुन् ।
कार्यक्रममा सहभागी सबै नेता तथा कार्यकर्ताहरुले पार्टी आमाको नामले चिनिने स्व. बालकुमारी थापाले पार्टीमा गरेको योगदानको कदर गरे, स्मरण गरे । आफूहरुले थापाको जीवनीबाट पाठ सिकेको भन्दै योगदानलाई पछ्याउनु पर्ने बताए ।
थापालाई कसले कसरी सम्झिए यहाँ क्लिक गरेर भिडियो हेर्न सकिनेछ ।
कार्यक्रममा एमाले मकवानपुरको लागि अगुवाइ गर्ने हस्तिको रुपमा परिचित बालकुमारी थापाका सहयोद्धाहरु तारा लामा र सिता लामिछानेलाई नगद सहित सम्मान गरिएको थियो । उनीहरुलाई बालकुमारी थापा स्मृति केन्द्रको आयोजना तथा अखिल नेपाल महिला संघ मकवानपुरको समन्वयमा भएको कार्यक्रममा केन्द्रकी अध्यक्ष तथा जुनेली श्रेष्ठले केन्द्रमार्फत मकवानपुरको राजनीति तथा समाज सेवामा योगदान गर्ने महिलालाई सम्मान गरिने बताइन् ।
“हामी कुन पार्टी वा दलको मान्छे भनेर हेर्ने छौनौ, पहिलो पटक भएकाले हामीले आफ्नै पार्टीका योद्धालाई सम्झियौ, तर आगामी वर्षबाट हामी पार्टीभन्दा माथि उठेर महिलाको योगदानलाई सम्मान गर्नेछौ” श्रेष्ठले भनिन् ।
महिलाहरुको योगदानलाई खोजि गर्ने, अभिलेखिकरण गर्ने र सम्मान तथा हौसला प्रदान गर्ने उद्देश्यका साथ बालकुकारी थापा स्मृति केन्द्र स्थापना गरिएको सचिव सुमित्रा काफ्लेले बताइन् ।
को हुन् तारा र सीता
तारा : वि.स २०१९ साल असार १५ मा मकवानपुरको फाखेल ४ कफ्लेनी (हाल इन्द्र सरोवर) मा आमा मानकुमारी लामा र बुबा मानबहादुर लामाको सन्तानको रुपमा जन्मेकी तारा लामा वि.स २०३२ सालमा पार्टी सम्पर्कमा आएकी थिइन् । मकवानपुरले कम्युनिष्ट आन्दोलनमा आफ्नो उर्जाशिल समय खर्चेकी लामाले गाउँदेखि शहरी स्तरमा पार्टी कमिटी विस्तार र मजबुतीको लागि योगदान गरिन् ।
वि.स २०६४ सालमा पार्टी सदस्य लिएकी लामा २०३८ मै अनेमसंघ मकवानपुरको जिल्ला सचिव भएकी थिइन् । पार्टी काममा लागिपर्दा जेल जीवन समेत भोग्नु परे पनि उनीले सधैं आफ्नो मातहतका महिलाहरुलाई जोश प्रदान गर्ने गरेकी छिन् । “हाम्रो पालको राजनीति ज्यानै माया मारेर गर्नु पथ्र्यो, अहिले जस्तो थिएन” सम्मान ग्रहण पछि उनले भनिन् “आफ्नो ज्यान र परिवारभन्दा पार्टीको माया लाग्थ्यो ।”
सीता : वि.स २००५ जेष्ठ १५ गते धादिङ जिल्लाको ७ घुम्तीमा आमा विष्णुमाया पण्डित बुवा ठूले पण्डितको सन्तान सीताको १० वर्षकै उमेरमा विवाह भएको थियो । मकवानपुर जिल्ला चित्लाङ निवासी केशव लामीछानेसँग विवाहपछि मकवानपुर आएकी सीता २०३६ सालदेखि कम्युनिष्ट आन्दोलनमा लागिन् ।
वि.स २०३८ सालमा अध्ययन समुहमा आवद्ध भएकी उनी पार्टी टोल कमिटीमा २०४० सालमा नगरसम्मेलन तयारी समितीमा २०४१ मा वडा कमिटीमा आवद्ध २०५३ सालमा सक्रिय भइन् । सानैदेखी बिद्रोही स्वभावको सीता आफूमाथि समेत हिंसा हुँदासम्म आफूलाई सम्हालेर पार्टीको निर्देशनमा अडिग नेतृ मानिन्छिन् ।
पार्टी लडाकुहरुलाई भूमीगत काममा सहयोग गरेको, सुरक्षा दिएको साथै बस्ति, टोल स्तरदेखि जिल्ला तहसम्म संगठन विस्तार र सुदृढीकरणमा योगदान वापतसम्मान गर्दै उनीहरुलाई सम्मान गरिएको केन्द्रकाे सचिव सुमित्रा काफ्लेले बताइन् ।
निर्माण व्यवसायीले डिभिजन सडकमा लगाए ताला
Tags: No Comments
मकवानपुर । निर्माण व्यवसायी संघ मकवानपुरले सडक डिभिजन कार्यालय हेटौंडामा ताला लगाएका छन् । निर्माण व्यवसायी सरकारको विकास निर्माणको काम गरेबापतको भुक्तानी नपाएपछि आन्दोलित हुदै डिभिजन सडकमा ताला लगाएका हुन् ।
विभिन्न क्षेत्रमा निर्माणको कार्य सम्पन्न हुँदा समेत भुक्तानी नपाएकाे विराेधमा निर्माण व्यवसायीले भुक्तानी निकासा माग गर्दै डिभिजन सडक कार्यालय हेटौंडामा शुक्रबार तालाबन्दी गरी धर्ना दिएका छन् । निर्माण व्यवसायी संघ मकवानपुरले डिभिजन सडकमार्फत भएका कामको भुक्तानीको निकासाका लागि माग गर्दै धर्ना र तालाबन्दी गरिएको हो ।
कार्यालयकाे मुख्यद्वारमा संघ मकवानपुर अध्यक्ष बालगोपाल कँडेललगायतका निर्माण व्यवसायीले तालाबन्दी गरी विरोध जनाएका थिए । संघले सडक र पुल निर्माण गरिएको २५ करोड भन्दा बढी रकम भुक्तानी नपाएको जनाएको छ । गत फागुनदेखि नै निर्माणको कामको बिलसहित भुक्तानी माग गर्दासमेत भुक्तानी पाएका छैनन् । सडक डिभिजन कार्यालय, हेटौंडा मातहतका मकवानपुर, बारा र पर्सा जिल्लामा भएका कामको भुक्तानी नपाएपछि तीन जिल्लाका निर्माण व्यवसायी संयुक्त रूपमा धर्नामा बसेका थिए ।
निर्माण व्यवसायीले लगाएको ताला प्रहरीले खोलेको थियो । सडक डिभिजन कार्यालय, हेटौंडाका प्रतिनिधि र धर्नामा बसेका निर्माण व्यवसायी संघ मकवानपुरका पदाधिकारीबिच छलफल भएको थियो । छलफलमा निर्माण व्यवसायीले तत्काल भुक्तानीको व्यवस्था गर्न माग गरेपछि सडक डिभिजनका कर्मचारीले भुक्तानीका लागि पहल गर्ने प्रतिबद्धता जनाएका थिए ।
संघ मकवानपुरका अध्यक्ष कँडेलले व्यवसायीले काम सम्पन्न गरेर भुक्तानी माग गरेकाे लामाे समय हुँदा समेत भुक्तानी नपाएपछि धर्ना र तालाबन्दी गरिएको जानकारी दिए । निर्माण व्यवसायीको माग तत्काल सम्बोधन नभएमा थप आन्दोलनका कार्यक्रम गर्न संघ बाध्य हुने समेत उनले बताए । ‘कार्यालयमा ताला लगाउनु रहर हाेइन बाध्यता हाे’ कँडेलले भने आफ्नाे सम्पत्ति वैंकमा राखेर लगानि गरि निर्माण गरेका काम सम्पन्न भईसकेपछि पनि भुक्तानी नहुँदा यस्ताे कदम चाल्न बाध्य भएका हाैं ।’ ‘निर्माण व्यवसायीलाई राज्यले पिडामा पारेकाे छ हाम्राे माग तत्काल सम्बाेधन नभए शसक्त रुपमा सडकमै आन्दाेलनमा उत्रने छौं’ उनले भने ।
संघका अनुसार डिभिजन सडकलगायतका कार्यालय र स्थानीय तहका ५० करोड रुपियाँभन्दा बढी रकम निर्माण व्यवसायीले भुक्तानी पाउन बाँकी रहेको छ । काम गरेको बिलसहित भुक्तानीलाई अनुरोध गर्दा समेत विभिन्न बहानामा भुक्तानी नपाएको संघले जनाएकाे छ ।
संघले डिभिजन सडक मार्फत निर्माण व्यवसायीले करिब १७ करोड रुपियाँ निर्माणको कामबापत भुक्तानी पाउन बाँकी रहेको भन्दै तत्काल भुक्तानीको व्यवस्था मिलाउन माग गरेको छ । स्थानिय तहहरुबाट १५ कराेड भुक्तानी हुन बाँकी रहेकाे छ भने पुल निर्माणकाे १२ कराेड, सडक निर्माणकाे १५ कराेडसम्म भुक्तानी रहेकाे संघले जनाएकाे छ । जिल्लाभर करिव ५० कराेड रकम भुक्तानी बाँकी रहेकाे बताइएकाे छ ।
मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सदनबाट विश्वासकाे मत प्राप्त नगरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२) अनुसार सरकार गठनका लागि आह्वान गरेका छन् ।
राष्ट्रपति पौडेलले शुक्रबार राति संविधानको धारा ७६ को उपधारा २ बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन् । असार ३० गते आइतबार साँझ ५ बजेभित्र प्रतिनिधिसभामा दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठनका लागि आह्वान गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
शुक्रबार प्रतिनिधिसभाबाट विश्वासको मत नपाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल पदमुक्त भएका थिए । त्यसलगत्तै संविधानविद्सँग परामर्श गरेका राष्ट्रपतिले नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन् ।
संविधानविद्हरूले संविधानको धारा ७६ (२) अनुसार नै नयाँ सरकार गठनका लागि आह्वान गर्न सुझाव दिएका थिए ।
यसैवीच नयाँ सरकारको दाबी गर्न शुक्रबार राती नै नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरू शीतल निवास जाने लागेका छन् । शुक्रबार राति सवा ९ बजे नयाँ सरकारकाे दाबी पेस गर्न दलका नेताहरू शीतल निवास जान लागेको एमाले प्रमुख सचेतक महेश बर्तौलाले बताए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा विश्वासको मत गुमाएपछि आजै राष्ट्रपतिले नयाँ सरकार गठन गर्न आह्वान गरेका थिए । कांग्रेसका सांसदको हस्ताक्षरसहित एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीमा दाबी गर्ने तयारी गरेका हुन् ।

चितवन । अविरल वर्षाको कारण पहिरो जादा नारायणगढ–मुग्लिङ सडकखण्डमा दुई वटा बस त्रिशुली नदीमा खसेको छ ।
नारायणगढ–मुग्लिङ सडकको सिमलतालमा लेदोसहितको पहिरोले बगाउँदा दुईवटा बस त्रिशूली नदीमा बेपत्ता भएका हुन । ती बसमा चालकसहित ६५ यात्रु रहेका बताइएको छ ।
चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आज बिहान ३:३० बजे दुई बस त्रिशूलीमा खसेका हुन् । काठमाडौँबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको एञ्जल बस त्रिशूलीमा खसेको यादवले जानकारी दिए ।
उनका अनुसार गौर जाँदै गरेको बसमा ४१ र काठमाडौँ जाँदै गरेको बसमा २४ जना रहेका प्रारम्भिक जानकारी दिए। उनले भने, ‘हामी घटनास्थलमा छौँ । पानी परिरहेकाले छ । उद्धारको काम थालिएको छ । पहिरो पन्छाउन सुरु गरिएको छ ।’
बसमा रहेका यात्रुको यकिन विवरण भने प्राप्त भइ नसकेको बताइएको छ ।