मकवानपुर । मकवानपुरकाे हेटौंडामा सह योग शिक्षक प्रशिक्षण सुरु भएकाे छ । हेटौंडाकाे १० नम्बर वडाका ४ स्थानमा एकैपटक सह याेग शिक्षक प्रशिक्षण सुरु भएकाे हाे ।
पतंजली याेग जिल्ला समितिकाे आयाेजना तथा पतंजली योग महिला समिति,पतंजली योग युवा समिति, पतंजली योग नगर समितिकाे सहआयाेजना सुरु योग शिक्षक प्रशिक्षण १० नम्बर वडा कार्यालय हेटौंडा उपमहानगरपालिकाे प्रवर्द्धनमा भएकाे हाे । हेटौडा १० काे आदर्शटाेल,डा.टाेनी हेगन स्मृति पार्क,न्युरेनी र भुटनदेवी याेग साधना केन्द्र भुटनदेवीटाेलमा शनिवारदेखि निरन्तर सह याेग शिक्षक तालिम सुरु भएकाे छ ।
गराै याेग रहाै निराेग भन्ने नाराका साथ सुरु भएकाे सह याेग शिक्षक तालिममा पतन्जली याेग समिति मकवानपुर अध्यक्ष रामकृष्ण थापा, महिला समिति अध्यक्ष शशिकला थापा, टाेनि हेगन स्मृति पार्कका अध्यक्ष इन्द्र प्रसाद नेपाल लगायतले प्रशिक्षण दिने उक्त तालिम निशुल्क रुपमा प्रदान गरिएकाे छ ।
सबैभन्दा ठुलाे धर्म मानिसलाई स्वस्थ बनाउने भएकाे हुँदा पतन्जली याेग समिति मकवानपुरले दशकाेैदेखि याेग साधनाका क्षेत्रमा लागिपरिरहेकाे बताउदै जिल्ला अध्यक्ष रामकृष्ण थापाले भने “प्रतिकुल माैसमका कारण मानिसहरुमा नयाँ नयाँ किसिमका राेग तथा महामारीले चुनाैति रहेकाे छ,यसबाट बच्नका लागि याेग नै प्रमुख माध्यम हाे ।”
विगत १५ बर्षदेखि निरन्तर पतंजलि योग जिल्ला समिति मकवानपुरबाट याेग साधना ध्यान जस्ता प्रशिक्षणहरु विभिन्न समयमा सन्चालन भई रहेकाे छ । कार्यक्रम नियमति संचालन हुने भएकाेले निशुल्क रुपमा स्वास्थ्य प्राप्तिका लागि सवैलाई सहभागी हुन पतंजली योग महिला समिति अध्यक्ष शशिकला थापाले अनुराेध गरिन् ।
मकवानपुर । मकवानपुरकाे हेटौडा उपमहानगरपालिका र बकैया गाउँपालिकामा भएकाे छुट्टा छुट्टै घटनामा एक जनाकाे मृत्यु भएकाे छ भने एक जना वेपत्ता भएका छन् ।
हेटौंडा–१९, नेवारपानीस्थित कोशिस पेट्रोलपम्प नजिकै पुर्व–पश्चिम सडकखण्डमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा–९ का २५ वर्षीय अभिषेक सुवेदी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।
सोमबार बिहान नवलपरासीबाट झापाको लागि सिमेन्ट लोड लिएर आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख २०८६ नम्बरको ट्रकले हेटौंडाबाट मनहरीतर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०२२ प २५०२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सुवेदी गम्भीर घाइते भएका थिए ।
घाइते सुवेदीलाई उपचारको लागि हेटौंडा अस्पताल ल्याइएकोमा डाक्टरले मृत घोषणा गरेको मकवानपुर प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए । हो । ट्रक चालक दाङको गडुवा गाउँपालिका–२ का २३ वर्षीय चन्द्र प्रसाद चौधरीलाई नियन्त्रणमा लिइएकाे छ ।
यसैगरी मकवानपुरकाे बकैया गाउँपालिकामा बाढिले बगाउँदा एक जना बेपता भएको छ । १६ भदौमा बकैया ६ जस्पल बस्ने ४२ वर्षीय नानिमाया तितुङलाई स्थानीय कैलेनी खाेलाले बगाइ वेपत्ता बनाएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।
नानिमाया बाराकाे निजगढ १० लालबाट घर फर्कने क्रममा कैलेनी खोला तर्ने क्रममा बगाएकाे थियाे । इलाका प्रहरी कार्यालय निजगढसँग समन्वयमा खोजतलास जारी रहेको प्रहरीले जनाएकाे छ ।
मकवानपुर । पितालाई सम्मान–भक्ति प्रकट गर्दै सोमबर बुबाको मुख हेर्ने दिन मनाइँदै छ । अन्धकाररूपी संसारमा ज्ञान एवं कर्मको दिव्यज्योति प्रदान गरेर अघि बढ्न सिकाउने गुरुका रूपमा रहेका पितालाई मनपर्ने विभिन्न खानेकुरा, लत्ताकपडालगायत दिँदै सम्मान गरिन्छ ।
भाद्र कृष्ण कुसे औंसीमा बाबुको सम्मान गरिने परम्परा छ । बुबालाई पिता, बाबा, तात, ड्याडी, पापा शब्दले चिनिन्छ । यस दिनलाई अर्को शब्दमा पितृऔंसी, पितृ दिवस, गोर्कण औंसी, कुसेऔंसी पनि भनिन्छ । आमापछिको द्वितीय गुरुका रूपमा पितालाई शास्त्रले वर्णन गरेको छ । महत्वपूर्ण धार्मिक कार्य गर्नुअघि पनि पितृकै स्मरण गर्ने चलन छ । पितालाई संरक्षण, रक्षा र पालनपोषण गर्ने चरित्रका रूपमा शास्त्रमा उल्लेख छ ।
औंसीका दिन आफूलाई कर्म दिने मुख हेर्न छोराछोरी बुवा भएको ठाउँमा पुग्ने गरेका छन् । बुबालाई भेट्दा आफ्नो क्षमताअनुसार मिठाई, लड्डु तथा विभिन्न खाद्यपदार्थ खुवाउने चलन छ ।पिता जीवित हुनेले मिठामिठा परिकार बनाएर खुवाउँछन् । लुगाफाटो तथा विविध उपहार दिएर पितालाई खुसी बनाउँछन् । विवाहित महिलाले माइतमा गएर बुबाबाट आर्शिवाद लिने चलन छ ।
औंसीका दिन बाबु नहुनेले विभिन्न तीर्थस्थलमा गई तपर्ण तथा श्राद्ध गर्ने परम्परा छ । गोर्कणमा श्राद्ध गर्नु भारत कासीको गयामा श्राद्ध गर्नुसरह फल मिल्ने धार्मिक विश्वास रहेको संस्कृतिविद् बताउँछन् । चन्द्रमती, सूर्यमती र बाग्मतीको संगम त्रिवेणी तीर्थमा स्नान गरी विधिपूर्वक श्राद्ध र पिण्डदान गरी भगवान् गोकर्णेश्वर महादेव र हनुमान दर्शन गर्नाले पितृमुक्त हुन्छन् ।
पुराणमा उल्लेख भएअनुसार पिताको स्मरणमा मानसम्मान र मृतात्माको मंगल कामना गर्दै धुन्धुकारीजस्तो पुत्र होइन, गोकर्णजस्तो पितृको उद्धार गर्ने पुत्रको कामना गरिएको छ । औंसीका दिन बाबु नहुनेले ब्राह्मणलाई सिदा दान पनि गर्दै छन् ।
हिन्दू धर्म परम्परामा जल दान र अन्नदानको विशेष महत्व हुन्छ । पितृ औंसी तथा गोकर्ण औंसीका नामले समेत चिनिने यसदिन आफूलाई जन्म दिई लालनपालन गरी हुर्काएकोमा बाबुप्रति कृतज्ञता ज्ञापन गरी सम्मान गरे राम्रो फल मिल्ने विश्वास छ ।
आज कुशे औंशी
वैदिक सनातन हिन्दू संस्कारमा कुश सांस्कृतिक र धार्मीक महत्व भएकाे पवित्र वनस्पतीकाे रुपमा लिइन्छ । आज औंशी अर्थात चन्द्रबिनाको चूक झै अँध्यारो रात, आजको दिनमा कुशलाई घरमा ल्याइन्छ । कुशको महिमालाई श्रीमद्भागवत् गीता, गरुँड पुराण, यथर्व वेद र विष्णु पुराणमासमेत वर्णन गरिएको छ । हिन्दूधर्मको दैनिकी र संस्कारहरु अत्यन्तै वैज्ञानिक छन्, गीता र वेद नै आविष्कारका जननि हुन् । आधुनिकताको खोल ओढेर सनातन संस्कारउपर खिस्सीट्यूरी गर्ने जमातले पनि अहिले सनातन संस्कार र व्यबहारीक पक्षलाई घनीभूत आत्मसाथ गर्न थालेका छन् ।
कुशकाे वैज्ञानीक महत्व पनि प्रमाणीत भइको छ । वैज्ञानीक भाषामा Eragrostis cynosuroides भनिने कुश एउटा धार्मिक आस्था बोकेको धारीलो घाँस हो । नेपालको तराईदेखि पहाडसम्म सहजै पाइने वनस्पती कुशको जराबाट बिभिन्न प्रकारका औषधीहरु पनि बनाइन्छ । परापूर्वकालमा पाठशालामा अध्यनरत शिष्यशिष्याहरुको परीक्षा लिने क्रममा कुशको धारीलो घाँसलाई खाली हातले काट्न लगाइन्थ्यो, यसो गर्दा कुशको धारले हात नकाटीकन जसले कुश भेला पार्न सक्छ उसलाई अव्बल मानिन्थ्यो । कुश वैदिक सनातन संस्कारको देवकर्म र पितृकर्म दुबैमा अनिवार्य वनस्पती हो ।
एउटा वैज्ञानिक प्रयोगका क्रममा एकमुठ्ठि कुशलाई बिकिरणहरु माझमा राख्दा कुशले सम्पूर्ण बिकिरणहरुलाई आफूबाट परिवर्तित गरेको पाइएकाे बताइन्छ । यसप्रकारले सनातन संस्कारमा कुशको सदासर्वदा प्रयोगले प्राचीन विज्ञानको अभिलेख र प्रभावकारी व्यबहारीक जीवनशैली प्रस्तुत गरेको छ । वैज्ञानिकरुपमै सिद्ध यस अदभूत् कुशबाट बनेका औंठीहरु र अन्य सांस्कृतिक प्रयोगमा पीढि दर पीढि हिन्दू धर्मले सामान्य जीवनमा समेत प्रयोग गर्न सबैलाई प्रोत्साहीत गर्दछ । दाहिने हातको औंलामा कुशलाई औंठीका रुपमा प्रयोग गर्दा वातावरणमा भएका गतल तरङ्ग र विकिरणहरुलाई निस्तेज गर्ने विश्वाश र विज्ञानतः प्रमाणीत सिद्धान्तहरुले स्पष्ट पार्छन् ।
मोतीराम जयन्ती मनाइदैं
राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको एक सय ५९औँ जन्मजयन्ती आज विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ । विसं १९२३ भाद्र २५ गते कृष्ण कुशे औँसीका दिन कुमाउगढका पण्डित दयाराम भट्ट र रिपुमर्दिनीदेवीको कोखबाट काठमाडौको भोसिको टोलमा जन्मेर विसं १९५३ भाद्र कृष्ण कुशे औँसीकै दिन ३० वर्षको उमेरमा निधन भएका मोतीराम भट्टले नेपाली साहित्यको श्रीवृद्धिमा योगदान पुर्याएका थिए ।
कहाँसम्म्को आँट लौ हेर तिन्को
रिसाएर आँखा पनि तर्न लागे
एकै पल्ट आँखा घुमाई दिनाले
कती मर्न लागे कती डर्न लागे
कुशे औंसी त नेपाली जीनशैलीमा धेरैनै महत्व बोकेको चाड हो । एकार्फ कुश भित्राउने चटारो भनें बुवाको मुख हेर्ने चटारे अर्कोतर्फ रहन्छ । यसै चटारोका बिचमा आजको दिन नेपाली साहित्य नक्षत्रका यूगकवी मोतीराम भट्ट को जन्मजयन्ती पनि हो । माथिको श्रृङ्गार रस मोतीराम भट्टको सृजनाबाट प्रस्तुत गर्यौं ।
दरबार हाइस्कूलमा गनिएका राणा खान्दानकाबिच शिक्षा लिने अवसर प्राप्त थोरै नेपालीमध्ये मोतिराम ६ बर्षकै कलिलो उमेरमा स-परिवार भारतको बनारसतर्फ लागेका थिए । प्रवास बसाइको सिलसिलामा मोतीरामले उर्दू साहित्यको पनि गहन अध्यन गरेको पाइन्छ जसको फलस्वरूप् केही उर्दू भाषाका नाटक समेत उनले लेखेका थिए । नेपाली साहित्यिक कौशलतालाई मलजल गर्न र यसको विकासकालागि उनले आफ्नो जीवनको अत्यन्त कम समयमा गरेको प्रयास अतूलनीय छ । नेपाली साहित्यमा समालोचनाको प्रारम्भ गर्ने मोतीरामलाई आदिकवी भानुभक्तसंगै श्रद्धापूर्वक लिइने पहिलो नाम पनि हो । साहित्यिक अग्रतामात्र नभई उनमा राष्ट्रियता र नेपालीपनमा गर्व थियो भन्ने कुरा उनको यो लेखनले स्पष्ट पार्छः
आदिकवि भानुभक्त आचार्य र मोतीराम भट्ट एकअर्काका पर्यायवाची मानिन्छन् । साथीको विवाहमा भानुभक्तको केहि फुटकर कविताहरु सुनेको मोतीरामले त्यस्पश्चात भानुभत्तका कृतीहरुलाई जनमानसमा उजागरगर्न अथक प्रयास गरेको पाइन्छ । भानुभक्तका फुटकर कविताहरू र अन्य कृतीका बारेमा मोतीरामले अध्ययन, उत्खनन गरी नेपाली समाजमा उजागर नगरेको भए शायद आज भानुभक्तका सबै कृतीहरु हामीमाझ हुने थिएनन् । भानुभक्तको जीवनी पनि मोतीरामले नै लेखेका हुन् ।
नेपाली भाषाको पहिलो मासिक पत्रिका गोरखा भारतजीवनुलाई बनारसमै रहेर व्यवस्थापन तथा प्रकाशनको श्रेय उनै मोतीराम भट्टलाई जान्छ । नेपाली साहित्यिक भिडका अद्वितीय तथा आफ्नो नाम जस्तै अत्यन्तै चम्किला मोतीरामका कृतीहरु मनोवेग प्रवाह, गजेन्द्रमोक्ष, प्रल्हाद भक्तिकथा लगायतका आज पनि उपयोगी र महत्वपूर्ण छन् । उनका नाटकहरू शकुन्तला, प्रियःदर्शिका र पद्मावतीको चर्चा बेला बेला अग्रज साहित्यकारहरूले अत्यन्तै सम्मानकासाथ गरिरहन्छन् । मित्र देवशमशेर जंग बहादुर राणाको अनुरोधमा शारदाुको नाट्य निर्देशन गरी प्रधानमन्त्री वीरशमशेरको दरवारमा मञ्चन समेत गरीएको थियो । त्यसपश्चात कहिंकतै शारदाुलाई मञ्चन गरिएको बारे त्यति चर्चा पाइदैन । जाँदा जाँदै हाम्रा अग्रज श्रद्धेय मोतीराम भट्टको यो साहित्यिक भाव केवल यहाँहरुकालागि हाम्रो पात्रोमाः
नेपाली भाषामा गजलको प्रारम्भ यीनै महान मोतीरामले गरेका हुन् । उनका गजलमा प्रेम पाइन्छ, नारी संगत र सामिप्यता पाइन्छ । श्रृंगाररसले भरिएका उनका गजलहरू अत्यन्तै लोभलाग्दा छन्ः
यी सानै उमेर देखि मन हर्न लागे ।
यस्नै सुन्दरीले जुलुम् गर्न लागे ।।
यता हेर्यो यतै मेरा नजरमा राम प्यारा छन् ।
उता हेर्यो उतै मेरा नजरमा राम प्यारा छन् ।।
वर्तमान समयमा गजललाई अध्ययन गर्ने अथवा पछ्याउने पुस्ताले पक्कैपनि उनका श्रृंगाररसका भावहरूबाट प्रभावित भएर आफ्ना रचनाहरूमा मोतीराम भट्टलाई सम्झिनै रहन्छन् ।
नेपाली साहित्यको शृङ्गार रसलाई योगदान दिएका युवाकवि भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलोपटक प्रकाशनमा ल्याउनुका साथै नेपालमा छापाखानासमेत भित्र्याएका थिए । यही छापाखानामार्फत नेपालमा पत्रकारिताको सुरुआत भएको हो । दिवसका अवसरमा आज नेपाली शिक्षा परिषद्लगायत विभिन्न संस्थाले कार्यक्रम आयोजना गर्दैछन् ।
दुइ आखी भौ त तयार छन् तरबार पाे किन चाहियाे ।
तिमी आफैं मालिक भैगयौ सरकार पाे किन चाहियाे ।
मकवनापुर जिल्ला लिगः आइतबार नामटार र कम्वाइन विजयी, ३ खेल स्थगित
Tags: No Comments
मकवानपुर । मकवानपुरकाे हेटौडामा जारी जिल्ला लिग फुटबल प्रतियोगिता अनतर्गत आइतबार दुई खेल खेलाइएकाे छ । आइतबारकाे लागि तय गरिएकाे ५ खेल मध्ये वर्षाका कारण २ खेलमा खेलाइएकाे हाे ।
मकवानपुर जिल्ला फुटबल संघले हेटौंडा–६ स्थित गौरीटार रंगशालामा १ खेल र हेटौंडा–११ स्थित सिमटार खेल मैदानमा एक गरी दुई खेल खेलाइएकाे जनाएकाे छ । आइतबार गौरीटार रंगशालामा भएको खेलमा हटिया स्पोर्टस लाई एफसी नामटारले २–१ गोलले हरायाे । नामटारको जीतमा सविन गोल र सन्दीप भोलनले एक/एक गोल गरे । यस्तै हटियाका लागि सुरज तामाङले एक मात्रै गोल गरे । उक्त खेलकाे म्यान अफ द म्याच नामटारका सविन घोषित भए ।
यस्तै सिमलटार मैदानमा भएको खेलमा हेटौंडा–७ लाई ३–० गोलअन्तरले हराउँदै न्यू कम्वाइन विजयी भएकाे छ । कम्वाइनलाई जीत दिलाउन सुरज थिङले दुई र विशाल भोलनले एक गोल गरे । उक्त खेलकाे म्यान अफ द म्याच कम्वाइनका सुरज घोषित भए ।
प्रतियोगिता अन्तर्गत आइतबार ३ खेल वर्षाका कारणले स्थगित भएको थियाे । शनिबार स्थगित भएर आइतबार बिहान हुने भनिएको हेटौंडा भेट्रान्स र सक्षम युवा क्लब बिचकाे खेल, दिउँसोकाे लागि तय गरिएकाे पिप्ले युवा क्लब र रियल स्टार क्लब तथा मल्टिभिजन र पदमपोखरी युथबीच खेल स्थगित भएको हो । स्थगित खेलहरुको बारे सोमबार निर्णय गरिने जिल्ला फुटबल संघले जनाएको छ ।
जिल्ला लिग अन्तरगत सोमबार समेत ४ खेलहरु हुने भएका छन् । सिमलटार खेल मैदानमा शहीद स्मृति र हाडिखाेला युवा क्लब बिच दिउँसाे १ बजे खेल हुनेछ । त्यसैगरी दिउँसाे ४ बजे एफी चाइना र प्रगतिशील क्लब बिच प्रतिष्पर्धा हुने छ । गौरीटार रंगशालामा पशुपति युवा क्लब र युनाइटेड नाइन बिच दिउँसाे १ बजे तथा परेली युवा क्लब र एफसी पोताला बिच खेल हुने आयोजकले जनाएकाे छ ।
१४ भदौबाट सुरु लिगको प्रतियोगिताको फाइनल खेल असोज ९ गते हुनेछ । लिग विजेताले नगद १ लाख रुपैयाँ प्राप्त गर्ने छन् भने प्रदेशस्तरीय लिगमा सहभागिता जनाउने छन् । उपविजेता टिमले ५० हजार रुपैयाँ र विधागत उत्कृष्ट खेलाडीहरुले नगद पुरस्कार प्राप्त गर्नेछन् । जिल्लामा रहेका २८ वटा क्लवलाई वर्गीकरण गर्ने गरी जिल्ला लिग सुरु गरिएको हो । फुटबल संघमा आबद्ध रही अघिल्लो पटकको लिग खेलेका २८ क्लवलाई ४ समूहमा विभाजन गरि प्रतियाेगिता संचालन गरिएकाे हाे ।
प्रत्येक समूहको पहिलो, दोस्रो र तेस्रो हुने क्लव ए, चौथो र पाँचौ हुने क्लव वी, तथा छैठौं र सातौं हुने क्लव सी श्रेणीमा रहने जिल्ला फुटबल संघले जनाएकाे छ । यसअघि भएको जिल्ला लिगको उपाधि न्यु डाँफे युथ क्लबले जितको थियो भने हटिया स्र्पोटर्स एकेडेमी उपविजेता बनेको थियो। कोरोना संक्रमणको कारण २०७६ सालपछी जिल्ला लिग हुन सकेको थिएन ।
मकवानपुर । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकाेटाले कृषि प्रविधि विकास आजकाे आवश्यकता भएकाे बताएका छन् । बी.पी. चिन्तन प्रतिष्ठान मकवानपुरले शनिबार आयोजना गरेको “नेपालमा कृषि क्रान्तिः सम्भावना र चुनौती” विषयक विचार गोष्ठीलाई सम्बाेधन गर्दै उनले यस्तो बताएका हुन् ।
‘हामी एक्काइसौ शताब्दीमा सूचना, प्रविधि र नवीनतम विकासमा लाग्छौं’ देवकाेटाले भने ‘ती विकासलाई “कृषि प्रविधि” केन्द्रीत गर्नु पर्ने आजको आवश्यकता हो ।’ नेपालमा कुल घर परिवार संङ्ख्याको ६२ प्रतिशत कृषिमा आश्रित छन् । कुल जनसङ्ख्याको ६७ प्रतिशत कृषिमै निर्भर रहेको नेपाल जस्तो मुलुकमा कृषि क्षेत्रको विकास सबैभन्दा उत्तम विकल्प भएकाे उनले बताए ।
उनले बी.पी. कोइराला र पुष्पलाल श्रेष्ठजस्ता व्यक्तित्वहरुमा कृषिप्रतिको आमूल परिवर्तनको सोच रहेकाे बताए । ‘समयको त्यो आयाममा वास्तविक किसानलाई जग्गा, किसानका हक अधिकारको बारेमा यथेष्ठ आवाज उठेको थियो’ उनले भने ‘उहाँहरु कृषि क्रान्तिका अग्रणी हुनुहुन्थ्यो।
नेपाल कृषिप्रधान मुलुक भएको हुदाँ यस क्षेत्रको विकासको विकल्प छैन।’ ‘जग्गा खण्डीकरण र वास्तविक किसानभन्दा इतर व्यक्तिले जग्गाको स्वामित्व लिंदा कृषिमा अपेक्षित सुधार देखिदैन’ उनले भने । राज्यले बीउ, बिजन, मलखाद, बजारका क्षेत्रमा यथेष्ट सहयोग नगर्दा उत्पादनमा कमी आएकाे उनले बताए ।
उनले चुनौतीहरुका बावजूद नवीनतम प्रविधिको अधिक प्रयोगले कृषि उत्पादनमा वृद्धी गर्न सकिने जानकारी दिए । ‘कृषिका धरै सम्भावना छन् । डोल्पाको माटोे होस वा मनाङको, माटो र बालीको अध्ययन गरी कुन बालीनाली उपयुक्त हुन्छ त्यो लगाउनु पर्छ’ उनले भने ‘प्रविधिको विकासमा केन्द्रीत हुन सकेका उपलब्धी हासिल गर्न सकिन्छ। खेर गएका हरेक डाँडाकाँडा कृषिले भरिभराउ हुनसक्छन्।’
‘नेपालमा पनि कृषिक्षेत्रलाई प्रविधिमैत्री बनाउन सकियो भने रोजगारीको खोजिमा भौतारिदै विदेशीने युवाहरुलाई स्वदेशमा कृषि उद्यममा लगाउन सकिन्छ’ उनले भने ‘कृषिक्षेत्रको दक्ष जनशक्ति त नेपाल जस्तो कृषि प्रधान देशको लागि गहना हुन् । दक्षता र क्षमताको कदर पनि आवश्यक छ ।’
प्रतिष्ठान अध्यक्ष विष्णु प्रसाद लामिछानेकाे सभाध्यक्षता तथा प्रदेश प्रमुख देवकाेटाकाे प्रमुख आतिथ्यतामा भएकाे गोष्ठीमा विपि चिन्तन प्रतिष्ठानका स-अध्यक्ष पुष्पराज पराजुली, नेपाली काङ्ग्रेस जिल्ला सभापति बुद्द लामा, प्रतिष्ठानका उपाध्यक्ष जयराम लामिछाने, काँग्रेस मकवानपुर पूर्व सभापति रघुरमण न्याैपाने, कृषि कार्यालय चितवनको प्रमुख झलक कंडेल, प्रतिष्ठानका केन्द्रीय सदस्य देवि प्रसाद आचार्य लगायतकाे उपस्थिति थियाे ।
हेर्नुहाेस भिडियो