मकवानपुर । मकवानपुरकाे हेटौडामा जारी जिल्ला लिग फुटबल प्रतियोगिता अनतर्गत आइतबार दुई खेल खेलाइएकाे छ । आइतबारकाे लागि तय गरिएकाे ५ खेल मध्ये वर्षाका कारण २ खेलमा खेलाइएकाे हाे ।
मकवानपुर जिल्ला फुटबल संघले हेटौंडा–६ स्थित गौरीटार रंगशालामा १ खेल र हेटौंडा–११ स्थित सिमटार खेल मैदानमा एक गरी दुई खेल खेलाइएकाे जनाएकाे छ । आइतबार गौरीटार रंगशालामा भएको खेलमा हटिया स्पोर्टस लाई एफसी नामटारले २–१ गोलले हरायाे । नामटारको जीतमा सविन गोल र सन्दीप भोलनले एक/एक गोल गरे । यस्तै हटियाका लागि सुरज तामाङले एक मात्रै गोल गरे । उक्त खेलकाे म्यान अफ द म्याच नामटारका सविन घोषित भए ।
यस्तै सिमलटार मैदानमा भएको खेलमा हेटौंडा–७ लाई ३–० गोलअन्तरले हराउँदै न्यू कम्वाइन विजयी भएकाे छ । कम्वाइनलाई जीत दिलाउन सुरज थिङले दुई र विशाल भोलनले एक गोल गरे । उक्त खेलकाे म्यान अफ द म्याच कम्वाइनका सुरज घोषित भए ।
प्रतियोगिता अन्तर्गत आइतबार ३ खेल वर्षाका कारणले स्थगित भएको थियाे । शनिबार स्थगित भएर आइतबार बिहान हुने भनिएको हेटौंडा भेट्रान्स र सक्षम युवा क्लब बिचकाे खेल, दिउँसोकाे लागि तय गरिएकाे पिप्ले युवा क्लब र रियल स्टार क्लब तथा मल्टिभिजन र पदमपोखरी युथबीच खेल स्थगित भएको हो । स्थगित खेलहरुको बारे सोमबार निर्णय गरिने जिल्ला फुटबल संघले जनाएको छ ।
जिल्ला लिग अन्तरगत सोमबार समेत ४ खेलहरु हुने भएका छन् । सिमलटार खेल मैदानमा शहीद स्मृति र हाडिखाेला युवा क्लब बिच दिउँसाे १ बजे खेल हुनेछ । त्यसैगरी दिउँसाे ४ बजे एफी चाइना र प्रगतिशील क्लब बिच प्रतिष्पर्धा हुने छ । गौरीटार रंगशालामा पशुपति युवा क्लब र युनाइटेड नाइन बिच दिउँसाे १ बजे तथा परेली युवा क्लब र एफसी पोताला बिच खेल हुने आयोजकले जनाएकाे छ ।
१४ भदौबाट सुरु लिगको प्रतियोगिताको फाइनल खेल असोज ९ गते हुनेछ । लिग विजेताले नगद १ लाख रुपैयाँ प्राप्त गर्ने छन् भने प्रदेशस्तरीय लिगमा सहभागिता जनाउने छन् । उपविजेता टिमले ५० हजार रुपैयाँ र विधागत उत्कृष्ट खेलाडीहरुले नगद पुरस्कार प्राप्त गर्नेछन् । जिल्लामा रहेका २८ वटा क्लवलाई वर्गीकरण गर्ने गरी जिल्ला लिग सुरु गरिएको हो । फुटबल संघमा आबद्ध रही अघिल्लो पटकको लिग खेलेका २८ क्लवलाई ४ समूहमा विभाजन गरि प्रतियाेगिता संचालन गरिएकाे हाे ।
प्रत्येक समूहको पहिलो, दोस्रो र तेस्रो हुने क्लव ए, चौथो र पाँचौ हुने क्लव वी, तथा छैठौं र सातौं हुने क्लव सी श्रेणीमा रहने जिल्ला फुटबल संघले जनाएकाे छ । यसअघि भएको जिल्ला लिगको उपाधि न्यु डाँफे युथ क्लबले जितको थियो भने हटिया स्र्पोटर्स एकेडेमी उपविजेता बनेको थियो। कोरोना संक्रमणको कारण २०७६ सालपछी जिल्ला लिग हुन सकेको थिएन ।

