मकवानपुर । राष्ट्रिय मानसिक स्वास्थ्य स्वावलम्बन सङ्गठन कोशिशले मकवानपुरकाे बकैया गाउँपालिका वडा नम्बर ६ जुनेली बस्तिकी एक महिलालाई जिविकोपार्जन सहयोग गरेको छ ।
मानसिक स्वास्थ समस्याबाट पुनर्जीवन प्राप्त गरेकि मकवानपुर बकैया गाउँपालिका वडा नं ६ जुनेलेबस्ति निवासी झम्कलाल बज्यूकाे श्रीमती वर्ष ३२ की सरस्वती थिङ्ग बज्यूलाई कोशिशले मानसिक स्वास्थ्य समस्याको उपचार गरिसके पश्चात् पारिवारिक पुनर्मिलन गराएको थियो ।
थप जिविकोपार्जनको लागि दुई वटा ब्याउने बाख्राको साथमा एकवटा पाठी सहित तीन वटा बाख्रा सहयोग गरेको हाे। कोशिशको सहयोगमा मानसिक स्वास्थ्य समस्याको उपचार पश्चात् पारिवारिक पुनर्मिलन गराईसकेपछि पारिवारिक आर्थिक अवस्थामा र मानसिक स्वास्थ्यमा थप सुधार होस भन्ने उद्देश्यले जिविकोपार्जन सहयोग गरिएको कोशिशकाे अल्पकालीन आवास गृहका बरिस्ठ सामाजिक कार्यकर्ता मन्जु क्षेत्रीले बताइन् ।
सहयोग कार्यक्रममा बकैया गाउँपालिका वडा नम्बर ६ का वडा महिला वडा सदस्य माइलीमाया लाेप्चन, वडा सचिब मन्जु बज्यूको समेत उपस्थिति रहेको थियो । नेपालले मानसिक समस्या भएका ब्यक्तिहरूलाई उपचार गर्दै पुनस्थापना गर्नको लागि आर्थिक सहयोग समेत गरेकोमा वडा सदस्य लोप्चनले कोशिशको कामको प्रशंसा गरिन् ।
गैरसरकारी संस्थाबाट स्थानीय सरकारले यस्तै सहयोग र सहकार्यको अपेक्षा गरेको वडा सचिव बज्यूले बताइन् । एक वर्ष अघि हैटाडा वजारमा बेवारिसे अस्थामा उद्धार गरी उपचार गर्नको लागि जिल्ला प्रहरी कार्यलयबाट कोशिशलाई पत्रचार तथा सिफारिसपछि ती महिलालाई कोशिशले उपचारमा सहयोग गरेको थियो ।
जीविकोपार्जन सहयोगसँगै कोशिशले मानसिक स्वास्थ्य तथा मनोसामाजिक सु-स्वास्थ्य सम्बन्धि मनोशिक्षा कार्यक्रम तथा समन्वय कार्यक्रम गरि दुई दिन उक्त कार्यक्रम कोशिशले सञ्चालन गरेको थियो।

२०६५ सालमा स्थापित कोशिस, राष्ट्रिय मानसिक स्वास्थ्य स्वावलम्बन सगठन संस्थाले विगतका १६ वर्षदेखि नेपालमा मानसिक स्वास्थ्य तथा मनोसामाजिक सुस्वास्थ्यको प्रवर्द्धनमा योगदान पुर्याउँदै आएकाे छ।
हालसम्म देशका विभिन्न ठाउँका गरी १५ सय भन्दा बढी महिलाहरुलाई उद्दार उपचार गरी समुदायमा मर्यादित जीवन जिउनकाे लागि पूर्नमिलन गराउदै आएकाे तथा १५ हजारभन्दा बढी व्यक्तीहरुलाई मनोशिक्षा प्रदान गरी मनोसामाजिक सहयोग समेत पुर्याउँदै आएको कोसिस बागमती प्रदेश फोकल पर्सन सकुन्तला पाैडेलले जानकारी दिइन् ।
कार्यक्रममा बकैया गाउँपालिका उपाध्यक्ष भक्त बहादुर खत्रीलगायत वडा नम्बर ३,६,११ का वडा अध्यक्ष, महिला वडा सदस्य, स्वास्थ्य संयाेजक, महिला तथा बालबालिका साखा प्रमुख,सामाजिक विकास शाखा प्रमुख,स्वास्थ्य स्वयंसेविका टोल विकास संस्थाका अध्यक्ष, स्थानीय समाजसेवी, परिवारका सदस्यलगायत स्थानीयहरूको उपस्थिति रहेको थियो।
(लाभग्राहीको अनुमति लिएर नाम र फोटो प्रकाशन गरिएको हो – स.)
मकवानपुर । मकवानपुरकाे हेटौंडामा जारी वडास्तरीय टी–२० क्रिकेट प्रतियोगितामा वडा नम्बर ८ को ए र २ नम्बर वडाकाे टिम विजयी भएको छ । सोमबार बिहान भएको खेलमा वडा नम्बर १८ लाई ४ विकेटले हराउँदै ८ ‘ए’ टिम विजयी भएको हो । यसैगरी वडा नम्बर २ ले वडा नम्बर ९ बीलाई पराजित गरेकाे हाे ।
टस हारेर पहिला व्याटिङमा उत्रिएकाे १८ नम्बर वडा ८१ रनमा अलआउट भएको थियाे । वडा नम्बर ८ को ‘ए’ ले ६ विकेट गुमाएर ८५ रन बनाउँदै लक्ष्यलाई भेटायो । यस्तै १८ नम्बरका लागि निश्चल खतिवडाले सर्वाधिक ४२ रन बनाएका थिए । पहिलो खेलकाे म्यान अफ द म्याच ८ ए का जर्सी नम्बर १४ सुरज भट्टराई भए ।
प्रतियोगिता अन्तर्गत साेमबारकाे दोस्राे खेलमा वडा नम्बर २ र ९ को ‘बी’ बीच प्रतिस्पर्धा भएकाे थियाे । पहिले ब्याटिङ रोजेकाे ९ बीले निर्धारित २० ओभरकाे खेलमा ६ विकेटकाे क्षतिमा १११ रन बनायाे । ११२ रनकाे लक्ष्य पाएकाे २ नम्बर वडाले १२ औभरकाे खेलमा लक्ष्य भेट्टाएकाे हाे । खेलकाे म्यान अफ द म्याच २ नम्बर वडाका जर्सी नम्बर ५१ का शुभ कंसाकार भए । उनले खेलमा ४६ रन जाेडेका थिए । अहिले सोमबारकाे तेस्राे खेल वडा नम्बर १६ र वडा नम्बर ८ बीच भइरहेकाे छ ।
नेपाल खेलकुद महासंघ हेटौँडा–८ नम्बर वडा कमिटीको आयोजनामा जारी प्रतियोगिता ५ असोजसम्म सञ्चालन हुने छ । प्रतियाेगितामा प्रथम हुने टिमले ५० हजार रुपैंया प्राप्त गर्ने छन् । द्वितीय हुने टिमले २५ हजार रुपैंया प्राप्त गर्ने छन् । ‘खेलकुदको विकासको लागि स्थानीय तहदेखि केन्द्रसम्म भौतिक पूर्वाधार, व्यवसायीक र प्रतिस्पर्धा खेलकुद गतिविधि हाम्रो आधार’ भन्ने अभिप्रायले टि–२० क्रिकेट प्रतियोगिता आयोजना गरिएकाे प्रतियोगितका संयोजक धर्मराज पुडासैनीले जानकारी दिए । प्रतियोगितामा १९ वटा वडास्तरीय टाेलीकाे सहभागिता रहेकाे छ ।
मकवानपुर । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य घटाएको छ । आइतबारको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र डिजेल तथा मट्टितेल प्रतिलिटर ५ रुपैयाँ मूल्य घटाएको हो ।
घटेकाे मूल्य आइतबार मध्यराति १२ बजेदेखि लागू हुने निगमले जनाएकाे छ । मूल्य घटेपछि पहिलाे वर्ग अन्तरगत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १५६ रुपैयाँ र डिजेल तथा मट्टितेल प्रतिलिटर १४६ कायम भएको छ ।
त्यस्तै दोस्राे वर्ग अन्तरगत सुर्खेत र दाङ क्षेत्रमा पेट्रोलको मूल्य लिटरको १५८ रुपैयाँ र डिजेल तथा मट्टितेल १४८ रुपैयाँ पर्नेछ । काठमाडौं उपत्यका समेत तस्राे वर्ग अन्तरगत पोखरा र दिपायल क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १५९ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १४९ कायम भएको छ ।

मकवानपुर । महालक्ष्मी साहित्य पुरस्कार, २०८० महाकाव्यकार मुना अर्याललाई प्रदान गरिने भएको छ । मातृभूमि साहित्य समाज मकवानपुर र महालक्ष्मी विकास बैंकले संयुक्त रुपमा प्रदान गर्ने उक्त पुरस्कारबाट मकवानपुरकी साहित्यकार अर्याललाई सम्मान गरिने आइतबार हेटौडामा पत्रकार भेटघाट गरी जानकारी दिइएकाे हाे ।
भाषा, साहित्यको क्षेत्रमा योगदान पुऱ्याउने साहित्य सेवीहरूलाई २०५९ सालदेखि प्रत्येक वर्ष निरन्तर रूपमा प्रदान गरिँदै आएको उक्त पुरस्कारको राशी ५१ हजार रहेको छ । हालसम्म उक्त पुरस्कारबाट २० जना साहित्यकार सम्मानित भइसकेका छन् । समाजले २०५९ सालमा यती फाइनान्ससँगकाे सहकार्यमा उक्त साहित्य पुरस्कारको स्थापना गरेकाे हाे । यती फाइनान्स महालक्ष्मी विकास बैंकसँग मर्ज भएपछि २०७४ सालबाट साहित्य पुरस्कारको नाम महालक्ष्मी साहित्य पुरस्कार भएको हाे ।
त्यस्तै, समाजसेवी ईश्वर मैनालीले आफ्नो बुबाको स्मृतिमा स्थापित केशवलाल स्मृति मातृभूमि पत्रकारिता पुरस्कार २०८० हेटौंडा सन्देश दैनिकका सम्पादक माधवप्रसाद न्यौपानेलाई प्रदान गरिने भएको छ । उक्त पुरस्कारका राशी भने नगद १० हजार रहेको छ । यसैगरी मकवानपुर श्री सम्मानबाट मकवानपुरका अग्रज शिक्षाप्रेमी बद्रीनाथ शर्मा अर्याललाई सम्मानित गरिने भएको छ ।
सम्मान तथा पुरस्कार ५ असोज शनिबार हेटौंडामा एक कार्यक्रमकाे आयोजना गरी प्रदान गरिने समाजका अध्यक्ष कृष्ण प्रसाद दाहालले जानकारी दिए । मातृभूमि साहित्य समाज, मकवानपुर भाषा, साहित्य, कला, सङ्गीत र संस्कृतिको संरक्षण/संवर्द्धन गर्ने उद्देश्यले २०५६ सालमा स्थापित संस्था हो। भाषा, साहित्यको क्षेत्रमा सामाजिक उत्तरदायित्व मार्फत यथासम्भव योगदान पुऱ्याउने उद्देश्यले बैंकले उक्त पुरस्कार स्थापना गरेकाे हाे ।
कार्यक्रममा समाजका प्रमुख संरक्षक मुक्तिगोविन्द वैद्य, संस्थापक अध्यक्ष ह्यग्रीव आचार्य, वैंकका शाखा प्रवन्धक अनन्तराज धिताल लगायतकाकाे उपस्थिती रहेको थियो ।
मकवानपुर । मकवानपुरकाे हेटौडामा जारी तेस्रो राष्ट्रिय रोटरी भेट्रान्स फुटबल प्रतियोगितामा झापाको पूर्वेली भेट्रान्स क्लब फाइनलमा प्रवेश गरेको छ ।
आइतबार हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा भएको सेमीफाइनलम खेलमा नवजनजागृति भेट्रान्स सिमरालाई १–० गोलले हराउँदै पूर्वेली भेट्रान्स फाइनलमा प्रवेश गरेको हो । प्रतियोगितामा पूर्वेली भेट्रान्सकाे तर्फबाट रमेश गुरुङ्गले गोल गरेका थिए । गरुङ्गकाे गोल नै निर्णायक बन्न पग्यो । म्यान अफ द म्याच गुरुङ्ग घोषित भए ।
रोटरी क्लब अफ मकवानपुरकाे आयोजनामा भएकाे प्रतियोगिता अन्तरगत दोस्रो सेमीफाइनल खेल सोमबार बिहान हुनेछ । सोमबार काठमाडौंको फ्रिडम फाइटर भेट्रान्सले सर्लाहीको हरिवन भेट्रान्सकाे सामना गर्नेछ । प्रतियोगिताको फाइनल खेल ३१ गते हुने भनिएपनि वर्षाको कारण खेल तालिकामा परिवर्तन भएकाे आयोजकले जनाएकाे छ । प्रतियाेगिताकाे फाइनल १ असोजमा हुनेछ ।
प्रतियोगिताको १५ टिमले सहभागिता जनाएका छन् । जलन प्राथमिक उपचार केन्द्र निर्माण सहयोगकाे लागि आयोजना गरिएकाे प्रतियोगिताको विजेताले २ लाख २ हजार २२२ रुपैयाँ र उपविजेताले एकलाख १ हजार १११ रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको उत्कृष्ट प्रशिक्षकले १० हजार प्राप्त गर्नेछन् भने उत्कृष्ट खेलाडी, गोलरक्षक, डिफेन्डर, मिडफिल्डर र फरवार्डले जनही नगद ५ हजार रुपैयाासहित ट्रफी प्राप्त गर्ने छन् ।
रोटरी मकवानपुरको आयोजनामा २०७२ सालमा पहिलो पटक राष्ट्रिय र २०७३ सालमा दोस्रो पटक अन्तराष्ट्रिय प्रतियोगिता संचालन भएकाे थियाे । हेटौंडामा नै पहिलो पटक आयोजना गरिएकाे ८ ए साईड भेट्रान्स प्रतियोगिताकाे पहिलाे र दोस्राे संस्करण चितवन भेट्रान्स क्लबले हात पारेकाे थियाे ।