मकवानपुर । मकवानपुरकाे हेटौडामा जारी तेस्रो राष्ट्रिय रोटरी भेट्रान्स फुटबल प्रतियोगितामा झापाको पूर्वेली भेट्रान्स क्लब फाइनलमा प्रवेश गरेको छ ।
आइतबार हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा भएको सेमीफाइनलम खेलमा नवजनजागृति भेट्रान्स सिमरालाई १–० गोलले हराउँदै पूर्वेली भेट्रान्स फाइनलमा प्रवेश गरेको हो । प्रतियोगितामा पूर्वेली भेट्रान्सकाे तर्फबाट रमेश गुरुङ्गले गोल गरेका थिए । गरुङ्गकाे गोल नै निर्णायक बन्न पग्यो । म्यान अफ द म्याच गुरुङ्ग घोषित भए ।
रोटरी क्लब अफ मकवानपुरकाे आयोजनामा भएकाे प्रतियोगिता अन्तरगत दोस्रो सेमीफाइनल खेल सोमबार बिहान हुनेछ । सोमबार काठमाडौंको फ्रिडम फाइटर भेट्रान्सले सर्लाहीको हरिवन भेट्रान्सकाे सामना गर्नेछ । प्रतियोगिताको फाइनल खेल ३१ गते हुने भनिएपनि वर्षाको कारण खेल तालिकामा परिवर्तन भएकाे आयोजकले जनाएकाे छ । प्रतियाेगिताकाे फाइनल १ असोजमा हुनेछ ।
प्रतियोगिताको १५ टिमले सहभागिता जनाएका छन् । जलन प्राथमिक उपचार केन्द्र निर्माण सहयोगकाे लागि आयोजना गरिएकाे प्रतियोगिताको विजेताले २ लाख २ हजार २२२ रुपैयाँ र उपविजेताले एकलाख १ हजार १११ रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको उत्कृष्ट प्रशिक्षकले १० हजार प्राप्त गर्नेछन् भने उत्कृष्ट खेलाडी, गोलरक्षक, डिफेन्डर, मिडफिल्डर र फरवार्डले जनही नगद ५ हजार रुपैयाासहित ट्रफी प्राप्त गर्ने छन् ।
रोटरी मकवानपुरको आयोजनामा २०७२ सालमा पहिलो पटक राष्ट्रिय र २०७३ सालमा दोस्रो पटक अन्तराष्ट्रिय प्रतियोगिता संचालन भएकाे थियाे । हेटौंडामा नै पहिलो पटक आयोजना गरिएकाे ८ ए साईड भेट्रान्स प्रतियोगिताकाे पहिलाे र दोस्राे संस्करण चितवन भेट्रान्स क्लबले हात पारेकाे थियाे ।

