मकवानपुर । महालक्ष्मी साहित्य पुरस्कार, २०८० महाकाव्यकार मुना अर्याललाई प्रदान गरिने भएको छ । मातृभूमि साहित्य समाज मकवानपुर र महालक्ष्मी विकास बैंकले संयुक्त रुपमा प्रदान गर्ने उक्त पुरस्कारबाट मकवानपुरकी साहित्यकार अर्याललाई सम्मान गरिने आइतबार हेटौडामा पत्रकार भेटघाट गरी जानकारी दिइएकाे हाे ।
भाषा, साहित्यको क्षेत्रमा योगदान पुऱ्याउने साहित्य सेवीहरूलाई २०५९ सालदेखि प्रत्येक वर्ष निरन्तर रूपमा प्रदान गरिँदै आएको उक्त पुरस्कारको राशी ५१ हजार रहेको छ । हालसम्म उक्त पुरस्कारबाट २० जना साहित्यकार सम्मानित भइसकेका छन् । समाजले २०५९ सालमा यती फाइनान्ससँगकाे सहकार्यमा उक्त साहित्य पुरस्कारको स्थापना गरेकाे हाे । यती फाइनान्स महालक्ष्मी विकास बैंकसँग मर्ज भएपछि २०७४ सालबाट साहित्य पुरस्कारको नाम महालक्ष्मी साहित्य पुरस्कार भएको हाे ।
त्यस्तै, समाजसेवी ईश्वर मैनालीले आफ्नो बुबाको स्मृतिमा स्थापित केशवलाल स्मृति मातृभूमि पत्रकारिता पुरस्कार २०८० हेटौंडा सन्देश दैनिकका सम्पादक माधवप्रसाद न्यौपानेलाई प्रदान गरिने भएको छ । उक्त पुरस्कारका राशी भने नगद १० हजार रहेको छ । यसैगरी मकवानपुर श्री सम्मानबाट मकवानपुरका अग्रज शिक्षाप्रेमी बद्रीनाथ शर्मा अर्याललाई सम्मानित गरिने भएको छ ।
सम्मान तथा पुरस्कार ५ असोज शनिबार हेटौंडामा एक कार्यक्रमकाे आयोजना गरी प्रदान गरिने समाजका अध्यक्ष कृष्ण प्रसाद दाहालले जानकारी दिए । मातृभूमि साहित्य समाज, मकवानपुर भाषा, साहित्य, कला, सङ्गीत र संस्कृतिको संरक्षण/संवर्द्धन गर्ने उद्देश्यले २०५६ सालमा स्थापित संस्था हो। भाषा, साहित्यको क्षेत्रमा सामाजिक उत्तरदायित्व मार्फत यथासम्भव योगदान पुऱ्याउने उद्देश्यले बैंकले उक्त पुरस्कार स्थापना गरेकाे हाे ।
कार्यक्रममा समाजका प्रमुख संरक्षक मुक्तिगोविन्द वैद्य, संस्थापक अध्यक्ष ह्यग्रीव आचार्य, वैंकका शाखा प्रवन्धक अनन्तराज धिताल लगायतकाकाे उपस्थिती रहेको थियो ।

