मकवानपुर । मकवानपुरकाे हेटौंडामा जारी वडास्तरीय टी–२० क्रिकेट प्रतियोगितामा वडा नम्बर ८ को ए र २ नम्बर वडाकाे टिम विजयी भएको छ । सोमबार बिहान भएको खेलमा वडा नम्बर १८ लाई ४ विकेटले हराउँदै ८ ‘ए’ टिम विजयी भएको हो । यसैगरी वडा नम्बर २ ले वडा नम्बर ९ बीलाई पराजित गरेकाे हाे ।
टस हारेर पहिला व्याटिङमा उत्रिएकाे १८ नम्बर वडा ८१ रनमा अलआउट भएको थियाे । वडा नम्बर ८ को ‘ए’ ले ६ विकेट गुमाएर ८५ रन बनाउँदै लक्ष्यलाई भेटायो । यस्तै १८ नम्बरका लागि निश्चल खतिवडाले सर्वाधिक ४२ रन बनाएका थिए । पहिलो खेलकाे म्यान अफ द म्याच ८ ए का जर्सी नम्बर १४ सुरज भट्टराई भए ।
प्रतियोगिता अन्तर्गत साेमबारकाे दोस्राे खेलमा वडा नम्बर २ र ९ को ‘बी’ बीच प्रतिस्पर्धा भएकाे थियाे । पहिले ब्याटिङ रोजेकाे ९ बीले निर्धारित २० ओभरकाे खेलमा ६ विकेटकाे क्षतिमा १११ रन बनायाे । ११२ रनकाे लक्ष्य पाएकाे २ नम्बर वडाले १२ औभरकाे खेलमा लक्ष्य भेट्टाएकाे हाे । खेलकाे म्यान अफ द म्याच २ नम्बर वडाका जर्सी नम्बर ५१ का शुभ कंसाकार भए । उनले खेलमा ४६ रन जाेडेका थिए । अहिले सोमबारकाे तेस्राे खेल वडा नम्बर १६ र वडा नम्बर ८ बीच भइरहेकाे छ ।
नेपाल खेलकुद महासंघ हेटौँडा–८ नम्बर वडा कमिटीको आयोजनामा जारी प्रतियोगिता ५ असोजसम्म सञ्चालन हुने छ । प्रतियाेगितामा प्रथम हुने टिमले ५० हजार रुपैंया प्राप्त गर्ने छन् । द्वितीय हुने टिमले २५ हजार रुपैंया प्राप्त गर्ने छन् । ‘खेलकुदको विकासको लागि स्थानीय तहदेखि केन्द्रसम्म भौतिक पूर्वाधार, व्यवसायीक र प्रतिस्पर्धा खेलकुद गतिविधि हाम्रो आधार’ भन्ने अभिप्रायले टि–२० क्रिकेट प्रतियोगिता आयोजना गरिएकाे प्रतियोगितका संयोजक धर्मराज पुडासैनीले जानकारी दिए । प्रतियोगितामा १९ वटा वडास्तरीय टाेलीकाे सहभागिता रहेकाे छ ।

