मकवानपुर। मकवानपुर प्रहरीले तेल ट्यांकरबाट ३ सय ९२ किलो लागूऔषध गाँजा बरामद गरेको छ।
मंगलबार बिहान काठमाडौंमा तेल अनलोड गरि पालुङ हुदै विरगंज तर्फ जादै गरेको ना ७ ख १७७१ को ट्याङकरबाट उक्त परिणामको लागूऔषध गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरी चौकी रातोमाटेबाट खटिएको टोलीले हेटौड १५ रातोमाटेबाट गाँजा सहितको उक्त ट्यांकर र दुईजना व्यक्तिलाई नियन्त्रणमा लिएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताए ।
प्रहरीका अनुसार ट्याङकर चालक मनहरी गाउँपालिका वडा नं. ९ ज्यामिरे बस्ने २६ वर्षीय रोशन पुरी र सोही स्थानका सहचालक २२ वर्षीय धन बहादुर मल्ललाई नियन्त्रणमा लिएको हो । तेल भर्ने पाँचवटा डिब्बाहरु मध्ये ३ नम्बरको डिब्बाभित्र २५ वटा पोका बनाई विरगंज तर्फ लादै गरेको अवस्थामा लागुऔषध गाँजा बरामद गरिएको प्रवक्ता अर्यालले जानकारी दिए ।
मकवानपुर । हाल देशभर मनसुनी र पश्चिमी वायुको प्रभाव कायम रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मनसुनी वायुको प्रभाव रहेको छ भने साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको प्रभाव रहेको छ ।
यसैगरी देशको पूर्वी र मध्य भागमा भारतको बिहार तथा आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । मनसुनी वायु तथा न्यून चापीय प्रणालीको आशिक प्रभावका कारण देशको पहाडी भूभागमा आंशिक बदली रही कोशी प्रदेश र बागमती प्रदेशको एक–दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
मंगलबार दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । यस्तै कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
महाशाखाका अनुसार मंगलबार राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी, मधेस र बागमती प्रदेशका थोरै स्थानहरूमा तथा गण्डकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
मकवानपुर । मकवानपुरगढी गाउँकार्यपलिका वडा नं २ मा अवस्थित चण्डिनीदेबी मन्दिरको जग्गा अतिक्रमण भएको प्रति स्थानीयले ध्यानाकर्षण जनाएका छन् ।
मन्दिर संरक्षण गर्दै अतिक्रमित जग्गा फिर्ता ल्याउन माग गर्दै स्थानीय चण्डिनीदेबी संरक्षण सरोकार संघर्ष समितिले आज मकवानपुरगढी गाउँपालिकाको ध्यानाकर्षण गराएका हुन् ।
ऐतिहासिक मकवानपुरगढी दरवारको समेत जग्गा अतिक्रमित भएको प्रति समितिले ध्यानाकर्षण गराएको हो । ऐतिहासिक, धार्मिक र महत्वपूर्ण पर्यटकीय महत्व बोकेको स्थलको संरक्षण गर्दै पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न उनीहरुले माग गरेका हुन् । चण्डिनीदेबी संरक्षण सरोकार संघर्ष समितिको तर्फबाट अध्यक्ष भिमसेन किङरिङ मगरले गाउँपालिका अध्यक्ष दोर्जे लामालाई ध्यानाकषर्ण पत्र बुझाएका हुन् । उनीहरुले १३४ जनाको हस्ताक्षर समितको ध्यानाकषर्ण पत्र बुझाएका हुन् । स्थानीय सबै राजनीतिक दलको समेत प्रतिनिधित्व गर्दै उनीहरुले मन्दिरको गरिमा र महत्वको बारेमा खोज गर्नको लागि समेत आग्रह गरेका छन् ।
नेपाल एकिकरणको सुरुवात भएको, विदेशी हस्तक्षेपबाट मुलुकलाई बचाउन वीर गोर्खालीले वीरता प्रदर्शन गरेको, नेपाली सेनाको संगठनको सुभारम्भ भएको स्थानको रुपमा परिचित मकवानपुरगढिको गरिमा महत्व उच्च राख्न समितिले ध्यानाकर्षण गराएको अध्यक्ष मगरले बताए ।
मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना पश्चात तीनै तहका सरकारहरु, सामाजिक संघ सस्था र व्यक्तिहरुबाट गढिको संरक्षण, प्रवर्दन र विकासको सुरुवात गरीएता पनि ऐतिहासिक मकवानपुरगढीको संरक्षण र विकासमा प्रयाप्त ध्यान पुग्न नसकेको समितिको निष्कर्ष छ । समितिले ऐतिहासिक सर्किट क्षेत्रको रुपमा रहेको ऐकिकरण बिजय पार्क फुर्लुङेश्वर महादेव मन्दिर, मकवानपुरगढी सानुगढी, ढुंगेगढी, जुंगे दरवार, चण्डिनीदेबीको मन्दिर संरक्षण र विकासको माग गरेको संघर्ष समिति सचिव ज्ञानेन्द्र शाहले बताए ।

ध्यानाकर्षण पत्र बुझाएपछी अध्यक्ष लामासँग सामूहिक तस्वीर खिचाउँदै संघर्ष समितिका पदाधिकारी, सदस्यहरू तथा सराेकारवालाहरु ।
मकवानपुरगढी दरवारभन्दा पुर्व तर्फ करिब २०० मिटर अगाडी वि.स १७७५ मा सेन वंशीय राजा माणिक सेनद्वारा निर्मित चण्डिनीदेवीको मन्दिर र काठको मौलो सहित स्थापना गरिएको स्थानमा हात्तीले पानीखाने पोखरी मन्दिरजाने सिडी, जग्गा नाप्ने जंगे पिलर समेत रहेको तथा समुदायद्वारा निर्मित गाउँघर क्लिनिक २०७० सालसम्म संचालन हुदै आएकोमा सो स्थानमा मकवानपुरगढी २ सोहि स्थान बस्ने राजेश थापाले सबै संरचना भत्काई त्यस आसपासको जग्गा अतिक्रमण गरि सार्वजनिक सम्पत्तीको दोहन भएको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।
यस क्षेत्रमा रहेको नेपाल टेलिकमको टावर निर्माण गराई सम्झौता समेत गरिएकोले सो सम्झौता रद्ध गरि टावर सहित निर्माण गरिएका घर टहरा हटाउन पनि माग गरिएको छ । चण्डिनीदेवीको मन्दिर आसपास क्षेत्रका सम्पूर्ण जग्गा घेरावरा तथा संरक्षण गराई सेन वंशीय राजाहरुको इस्ट देवताको रुपमा मान्दै आएको चण्डिनीदेवीको मन्दिर स्थापना गर्न माग गरिएको हो ।
ध्यानाकर्षण गराइए अनुसार स्थानीय सरकारले अभिभावकत्व ग्रहण नगरेमा आफूहरु थप संर्घषमा उत्रने उनीहरुले बताएका छन् ।
ध्यानाकर्षण पत्र बुझ्दै गाउँपालिका अध्यक्ष लामाले आफ्नो क्षेत्रभित्र रहेको पर्यटकीय गन्तव्यको संरक्षणमा तत्काल आफ्नो तर्फबाट काम थाल्ने प्रतिवद्धता व्यक्त गरे । गाउँपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत सत्यनारायण शाह सहितको उपस्थितीमा अध्यक्ष लामाले ऐतिहासिक क्षेत्रको संरक्षणार्थ अतिक्रमित जग्गा फिर्ता ल्याउने पहल थाल्ने बताए ।
स्थानीयद्वारा मन्दिरकाे करिव ७ कठ्ठा र गढीदरबारकाे करिव ८ विगाहा जमिन अतिक्रमित भएकाे बताइएकाे छ । अतिक्रमित जग्गा फिर्ताकाे लागि यस अघि पनि गाउँपालिकाले पत्र काटेकाे तर कार्यान्वयन नभएकाेले फेरी सराेकारवालाहरुले ध्यानाकर्षण गराएका हुन् ।
मकवानपुर । मकवानपुर सहितका जिल्लाबाट सहभागी कथाकारहरुकाे सहभागितामा पन्जाबको पिंगलवाडा अमृतसरमा अन्तर्राष्ट्रिय लघुकथा सम्मेलन आयोजना गरिएकाे छ ।
दुई दिवसीय लुघकथा सम्मेलन आइतबारसम्म भएकाे थियाे । मिन्नी कहानी लेखक मञ्च र लोकमञ्च पन्जाबको आयोजनामा भएकाे कार्यक्रममा भारतका विभिन्न राज्य तथा प्रदेश र नेपालबाट सहभागी भएका लघुकथाकारहरूले लघुकथा वाचन गरेका थिए ।
भारतका सुप्रसिद्ध लघुकथाकारहरू डा.बलराम अग्रवाल,डा.अशोक भाटिया,डा.श्यामसुन्दर दीप्ति,डा.नीरज शर्मा, कान्ता राय,अशोक दर्द, जगदीश राय कुलरियाँ राममूरत राही,सन्तोष सुपेकरले लघुकथा सम्बन्धमा मन्तव्य दिएका थिए । वरिष्ठ समीक्षक डाक्टर श्यामसुन्दर दीप्तिले सम्मेलनमा वाचन भएका लघुकथाको समीक्षा गरेका थिए ।
वरिष्ठ लघुकथाकार जगदीश राय कुलरियांको संयोजन तथा नेपालबाट हयाग्रीव आचार्यकाे अध्यक्षता भएकाे सम्मेलनमा नेपालका लघुकथाकार किशन पौडेल, रमेश मोहन अधिकारी, डीबी बर्तौला, माधव पोखरेल, मिथिला अधिकारी,विष्णु प्रसाद गौतमले आ–आफ्ना लघुकथा वाचन गरेका थिए । कार्यक्रममा नेपालबाट साहित्यकार राजबाबु पहाडी, सिताराम दाहाल,अप्सरा पुडासैनीलगायतकाे सहभागिता रहेको थियो ।

मकवानपुर । मकवानपुर हेटौंडामा रही पत्रकारितामा सक्रिय नेपाल पत्रकार महासंघ मकवानपुर शाखा अध्यक्ष मणिराज गौतमकाे पुस्तक “प्रवासका फूलहरु” विमाेचन भएकाे छ । गौतमकाे उक्त पुस्तक आइतबार बेल्जियममा बिमोचन गरिएको हाे ।
अन्तरराष्ट्रिय साहित्य समाज (अनेसास) बेल्जियम च्याप्टरले आयोजना गरेको कार्यक्रममा बेनेलक्सका लागि नेपाली राजदुत गेहेन्द्र राजभन्डारी, एनआरएनए बेल्जियमका अध्यक्ष सीता सापकोटा लगायतकाले पुस्तकको बिमोचन गरेका थिए ।
पुस्तक बिमोचन कार्यक्रममा राजदुत राजभन्डारीले बिदेशमा बस्ने नेपालीहरुका अनुभबलाई देशका नीति निर्माताहरुले बुझ्न सकेमा देश बिकासमा सहयोग पुग्ने बताए । ‘पुस्तक युरोपका नेपालीहरुको दस्ताबेजको रुपमा रहने भएकाले पनि ईतिहास बन्नेछ’ उनले भने ‘पुस्तक मार्फत बिदेशमा रहने नेपालीहरुको प्रतिनिधि भोगाइ अनि सत्य कथाबाट युवा पुस्तालाई सकारात्मक उर्जा प्रदान गर्ने विश्वाश छ ।’
यस्तै एनआरएनए बेल्जियमका अध्यक्ष सीता सापकोटाले बिदेशमा बसोबास गरिरहेका नेपालीहरुले धेरै चुनौतिका बिचमा पनि नेपाली पहिचानलाई निरन्तरता दिने र यसको प्रचार प्रसारका लागि लेखक गौतमले उदाहरणीय काम गरेको बताइन् । सापकाेटाले सबैका आ-आफ्नै भोगाई हुने, ति भाेगाइलाई पुस्तासामु जानकारी दिन पुस्तकले भूमिका खेल्ने बताइन् । नेपाल पत्रकार महासंघ बेल्जियमका अध्यक्ष ओम शर्माले गौतमकाे पुस्तकमा सुन्दर भविश्यको कल्पना गरेर देश छोडेका युरोपका नेपालीहरुका सत्य कथाहरु संकलन गरेको बताए । ‘आफ्नो जनभूमि छोडेर फरक भूगोल संस्कार र संस्कृतिमा आफूलाई स्थापित गर्न नेपालीहरुले युरोपमा गरेका संघर्षका कथाहरु प्रेरणादायी बन्नेछ’ उनले भने ।
अन्तरराष्ट्रीय नेपाली साहित्य समाज केन्द्रिय उपाध्यक्ष डिल्ली अंमाईले गौतमले युरोप भित्रका अधिकतम देशका बिभिन्न पेशा वा सेवामा कार्यरत नेपाली प्रतिनिधिहरुसँग प्रत्यक्ष सम्बाद गरेर प्रकाशन गरेकाे “प्रवासका फूलहरु” पुस्तक अभिलेखका रुपमा रहने भएकाले यसको महत्व उच्च्तम हुने बताए । अनेसास बेल्जियमका महासचिब गोपाल दाहालले निकै संघर्ष गरेर तयार गरिएको पुस्तकले आम नेपालीको कथा बोल्ने बताए ।
यस्तै अनेसास बेल्जियम अध्यक्ष सौरभ कारन्जितले प्रवासका नेपालीहरुको संघर्षको अन्तरकथामा तयार गरिएकाे पुस्तकले युरोपमा नेपालीहरुका दिब्य आशा, उन्मुक्त मनोभाब, उत्तेजना, सफलता-असफलताका कथा र संकल्पहरु समाबेश गरिएको कलात्मक कृतिका रुपमा रहकाे बताए ।
लेखक गौतमले नेपाल बाहिर रहेका असल छोराछोरीका जीवन्त कथा लेखिएको अनुभव सुनाउँदै भने ‘करिब डेढ बर्षको अन्तरालमा पुस्तक तयार गरेर बिदेशी भूमिमा बिमोचन गर्ने अबसर पाएकोमा अनेसास प्रति आभार ब्यक्त गर्दछु ।’ पुस्तकमा युरोपमा रहेका ३९ जना नेपालीहरुको बाल्यकाल,शैक्षिक अबस्था,राजनीति,परिबारिक अबस्था, बैदेशिक संघर्ष लगायतका वास्तविक कथा समावेश गरिएको उनले जानकारी दिए ।
कार्यक्रममा एनआरएनए आइसीसी सदस्य मदन दवाडी, हरी भट्टराई, उपाध्यक्ष कासी दनै, ओेएनएफ बेल्जियमका अध्यक्ष बिनोद न्यौपाने, जन सम्पर्क समिति बेल्जियमका उपसभापती बिराट जोशी लगायतले कृति सफलताको शुभकामना दिए । दुई सय अठासी पेज रहेको पुस्तक अन्तर्वार्तामा आधारित रहेकाे छ ।
पुस्तकमा लेखक संघ केन्द्रिय सदस्य हयागृब आचार्यको भाषा सम्पादन,मकवानपुरे कवि,लेखक सम्प्रस पौडेलको कथा सम्पादन, श्रीराम दहाल र बिना देबकोटाको श्रुति लेखन रहेको छ । प्रकाशन,लेआउट डिजाइन आकृति क्रियसनका राम अबिकासले गरेकाे पुस्तकको बितरकमा किताब घर हेटौंडा रहेको छ ।