मकवानपुर । मकवानपुर सहितका जिल्लाबाट सहभागी कथाकारहरुकाे सहभागितामा पन्जाबको पिंगलवाडा अमृतसरमा अन्तर्राष्ट्रिय लघुकथा सम्मेलन आयोजना गरिएकाे छ ।
दुई दिवसीय लुघकथा सम्मेलन आइतबारसम्म भएकाे थियाे । मिन्नी कहानी लेखक मञ्च र लोकमञ्च पन्जाबको आयोजनामा भएकाे कार्यक्रममा भारतका विभिन्न राज्य तथा प्रदेश र नेपालबाट सहभागी भएका लघुकथाकारहरूले लघुकथा वाचन गरेका थिए ।
भारतका सुप्रसिद्ध लघुकथाकारहरू डा.बलराम अग्रवाल,डा.अशोक भाटिया,डा.श्यामसुन्दर दीप्ति,डा.नीरज शर्मा, कान्ता राय,अशोक दर्द, जगदीश राय कुलरियाँ राममूरत राही,सन्तोष सुपेकरले लघुकथा सम्बन्धमा मन्तव्य दिएका थिए । वरिष्ठ समीक्षक डाक्टर श्यामसुन्दर दीप्तिले सम्मेलनमा वाचन भएका लघुकथाको समीक्षा गरेका थिए ।
वरिष्ठ लघुकथाकार जगदीश राय कुलरियांको संयोजन तथा नेपालबाट हयाग्रीव आचार्यकाे अध्यक्षता भएकाे सम्मेलनमा नेपालका लघुकथाकार किशन पौडेल, रमेश मोहन अधिकारी, डीबी बर्तौला, माधव पोखरेल, मिथिला अधिकारी,विष्णु प्रसाद गौतमले आ–आफ्ना लघुकथा वाचन गरेका थिए । कार्यक्रममा नेपालबाट साहित्यकार राजबाबु पहाडी, सिताराम दाहाल,अप्सरा पुडासैनीलगायतकाे सहभागिता रहेको थियो ।


