मकवानपुर। मकवानपुर प्रहरीले तेल ट्यांकरबाट ३ सय ९२ किलो लागूऔषध गाँजा बरामद गरेको छ।
मंगलबार बिहान काठमाडौंमा तेल अनलोड गरि पालुङ हुदै विरगंज तर्फ जादै गरेको ना ७ ख १७७१ को ट्याङकरबाट उक्त परिणामको लागूऔषध गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरी चौकी रातोमाटेबाट खटिएको टोलीले हेटौड १५ रातोमाटेबाट गाँजा सहितको उक्त ट्यांकर र दुईजना व्यक्तिलाई नियन्त्रणमा लिएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताए ।
प्रहरीका अनुसार ट्याङकर चालक मनहरी गाउँपालिका वडा नं. ९ ज्यामिरे बस्ने २६ वर्षीय रोशन पुरी र सोही स्थानका सहचालक २२ वर्षीय धन बहादुर मल्ललाई नियन्त्रणमा लिएको हो । तेल भर्ने पाँचवटा डिब्बाहरु मध्ये ३ नम्बरको डिब्बाभित्र २५ वटा पोका बनाई विरगंज तर्फ लादै गरेको अवस्थामा लागुऔषध गाँजा बरामद गरिएको प्रवक्ता अर्यालले जानकारी दिए ।

