मकवानपुर । मकवानपुरकाे मनहरी गाउँपालिकाले आंशिक अपाङ्गता भएका व्यक्तिहरुलाई निर्वाहकाे लागि सहायता रकम उपलब्ध गराएकाे छ ।
मंगलबार गाउँपालिकाले ७८ जना पहेलो कार्ड प्राप्त आंशिक अपाङ्गता भएका व्यक्तिलाई प्रतिव्यक्ति ५ हजार ३ सय रुपैंया सहयाेग उपलब्ध गराएकाे हो । पूर्ण अपङ्गता भएका व्यक्तिलाई केन्द्र सरकारले मासिक रुपमा सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँदै आएपनि आंशिक अपाङ्गता भएकाहरुकाे हकमा स्थानीय सरकारले अभिभावकत्व लिनु पर्ने भएकाेले सहायता रकम वितरण गरिएकाे गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले बताए ।
“आंशिक अपाङ्गता भएका व्यक्ति भनिएपनि कोहि पेशा/व्यवसाय गर्न असक्षम हुन्छन्” अध्यक्ष कालाखेतीले भने, “उनीहरुलाई चाडपर्वमा केही राहत पुगोस भनेर यस्तो कार्यक्रम ल्याइएको हो ।” गाउँपालिकाले आन्तरिक स्राेतबाट उक्त रकम उपलब्ध गराएकाे हाे । गत वर्षबाट गाउँपालिकाले आंशिक अपाङ्गता भएका व्यक्तिकाे लागि सहयोग गर्ने कार्यक्रम ल्याएकाे हाे ।

