मकवानपुर । बागमती प्रदेश प्रमुख दिपक प्रसाद देवकोटाले आज मंगलबार परेको माघे सक्रान्ती (माघी) पर्वको अवसरमा शुभकामना सन्देश व्यक्त गर्नु भएको छ ।
‘बागमती प्रदेश, देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, सुस्वास्थ्य, उन्नति तथा समृद्धिको शुभकामना व्यक्त गर्दछु‘ उहाँले शुभकामना सन्देशमा भन्नु भएको छ ।
माघे सक्रान्ती/माघी पर्वलाई खासगरी थारू र मगर समुदायले मनाए पनि यो पर्व सम्पूर्ण नेपालीले आ-आफ्नै तरिकाले मनाउने प्रचलन छ । मौलिक संस्कृतिका धनी थारू समुदायले यसलाई अति उल्लासका साथ नयाँ वर्षको रूपमा नाँचगान, आफन्त भेटघाट गरि मनाउने गर्दछन् ।
यो पर्वमा पवित्र नदी तथा त्रिवेणीहरुमा गएर स्नान गरि घ्यू, चाकु, तीलको लड्ड, तरुल र अन्य परिकार खाएर रमाइलो गरिन्छ । देवघाट, बराहक्षेत्र, त्रिवेणीधाम, रिडीलगायतका पवित्र तीर्थस्थलहरुमा मेला लाग्ने गर्दछ । सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्ने हुनाले माघे संक्रान्तिलाई मकर संक्रान्ति पनि भनिन्छ ।आजदेखी उत्तरायण आरम्भ हुने गर्दछ ।
बिशिष्ट र मौलिक पहिचान बोकेका हाम्रा चाडपर्वहरु हाम्रा खुसी जीवनका आधार रहेको उहाँको शुभकामना सन्देशमा उल्लेख छ । ‘यी पर्वहरूले सामाजिक र राष्ट्रिय एकता, मेलमिलाप, सद्भाव र सहिष्णुता कायम गर्न महत्वपूर्ण योगदान दिन्छन्, हामीले हाम्रा बिशिष्ट पहिचानहरुलाई संरक्षण र प्रबर्द्धन गर्नुपर्दछ‘ उहाँले शन्देशमा भन्नु भएको छ ।
आफ्नो मौलिकपनलाई आत्मसात् गरी समृद्धि मार्गमा अघि बढ्नको लागि सबैलाई यो पर्वले प्रेरणा प्राप्त होस् भन्नु भएको छ ।
देवघाट, चितवन । चितवन, तनहुँ र नवलपरासीकाे सिमामा रहेकाे पवित्र तीर्थस्थल देवघाटधाममा माघे सङ्क्रान्ति मेलाको सम्पूर्ण तयारी पुरा भएकाे छ । माघे सङ्क्रान्तिकाे अघिल्लो दिन पुस मसान्तबाट एक महिनासम्म लाग्ने मकर मेलाको तयारी अन्तिम चरणमा पुगेको हो ।
माघ महिनाभर मेला लाग्ने भएकाले विगतका वर्षहरूको तुलनामा यस वर्ष भक्तजनहरुको भीड बढी हुने अनुमान देवघाट क्षेत्र विकास समितिले गरेकाे छ । मेला व्यवस्थापनकाे लागि समिति अध्यक्ष भीमबहादुर रानाको अध्यक्षतमा १५१ सदस्यीय मूल समारोह समिति गठन गरी माघे सङ्क्रान्तिको तयारी गरिएको हो । उनका अनुसार मेलालाई व्यवस्थित गर्न २२ वटा उपसमिति गठन गरी काम गरिएको छ ।
विकास समितिका कार्यकारी निर्देशक सदन बरालले सङ्क्रान्तिको दिन पाँच लाख भक्तजन आउने अनुमान गरी सोही अनुसार तयारी गरिएको जानकारी दिए । माघलाई पवित्र महिना मानिने हुँदा यो अवधि भर महामहोत्सव लाग्नेछ । माघ महिनाभरीमा करिब आठ लाख भक्तजन आउने अनुमान गरिएको उनले बताए ।
मेलाको लागि डुङ्गाको शुल्क निर्धारण, चितवन र देवघाट जोड्ने झोलुङ्गे पुल मर्मत, अस्थायी शौचालय निर्माणलगायत काम सकिएको समितिका अध्यक्ष राना बताए । ‘नदीमा स्नान गर्नेका लागि रेखाङ्कन सकिएकाे छ’ उनले भने ।
धार्मिक क्षेत्र देवघाटधाममा माघे संक्रान्ति स्नान गर्नेको लागि माघ १ गते मंगलबार बिहान सवेरैदेखि घुइँचो लाग्ने गरेकाे छ । विगतको अवस्थालाई मध्यनजर गर्दा याे क्रम मंगलबार दिनभर रहनेछ ।
पुष २९ गते सोमबार बिहान त्रिशुली र कालीगण्डकीकाे संगमस्थल बेणीमा ओमकार अङ्कित बासँको लिङ्गो गाडेर विधिपूर्वक पूजा गरी उद्घाटन गरिएसँगै देवघाटमा स्नानका लागि खुला हुने गरेकाे छ । देवघाटमा स्नान गर्न मेला भर्न लाखौँ स्वदेशी तथा विदेशी भक्तजन अहिले देवघाटमा छन् । भक्तजनको आवतजावतकाे व्यवस्थापनकालागि देवघाटको झोलुङ्गे पुल ओहोर दोहोर पङ्क्तिबद्ध रूपमा गराउन प्रहरी र स्वयंसेवकले सतर्कता अपनाएका छन् । यस्तै नदी वारपार गर्न सःशुल्क डुङ्गाको व्यवस्था गरिएको छ ।

यसै गरी सवारी साधनकालागि आँपटारी देवघाटको मूल सडकबाट देवघाटबाट बाहिरिने र रामनगर देवघाटको बाटो भित्रने व्यवस्था छ । दासढुङ्गाबाट सिधै जाने हकमा सवारी साधन देवघाटको महेश सन्यास आश्रमसम्म आवतजावत गर्न सकिने व्यवस्था मिलाइएको छ ।
रातमा आउने भक्तजनकालागि धुनीको व्यवस्था मिलाइएकोमा सोमबार बिहानसम्म पनि धुनीकाे व्यवस्था गरिएकाे थियाे । शान्ति सुरक्षा र यातायात व्यवस्थाकालागि चितवन, तनहुँ र नवलपरासीबाट प्रहरी, सशस्त्र प्रहरी र ट्राफिक प्रहरी परिचालन गरिएको छ ।
माघे संक्रान्तिसँग देवघाटको धार्मिक एवं सांस्कृतिक महत्वको सम्बन्ध जोडिएको छ । दामोदर कुण्ड स्रोत भएर बहँदै आएको त्रिशूली र मुक्तिनाथ हुँदै आएकी कालिगण्डकी नदीको सङ्गम देवघाटको बेणी धार्मिक स्थलकाे रूपमा पनि महत्त्वपूर्ण रहेकाे छ । यहाँ माघेसंक्रान्तिमा स्नान गरे मोक्ष पाइन्छ भनेर शास्त्रमा उल्लेख गरिएको छ ।
धार्मिक मान्यता अनुसार माघेसंक्रान्तिका रात देवताहरू देवघाट स्नान गर्न आउने जनविश्वासले नै यो दिन स्नान गर्न आउनेको संख्या उल्लेखनीय हुने गरेको हो । ‘भविष्य पुराण’, ‘विष्णुवचन’ तथा ‘धर्मसिन्धु’ नामक ग्रन्थमा यस दिन पवित्र तीर्थस्थलमा स्नान गरी घिउ, चाकु, तिलको लड्डु, सागपात, तरुल, बस्त्र, पानीको भाँडो र मकलसहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने र उक्त पदार्थ आफूले खाएमा शरीर पोषिलो हुनाका साथै निरोग भइने जनविश्वास छ।
सोमबार राति भक्तजन देवघाटमा जाग्राम बस्ने प्रचलन छ। धर्मशास्त्र अनुसार सौरमासका हिसाबले माघेसंक्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई ‘मकर संक्रान्ति’ भनिएको हो। माघ १ गतेदेखि सूर्य दक्षिणी गोलार्द्धबाट उत्तरी गोलार्द्धतर्फ प्रवेश गर्ने भएकाले दिन लामो र रात छोटो हुँदै जाने विश्वास गरिन्छ।
देवघाटमा नेपालसहित भारतलगायत तेस्रो मुलुकबाट भक्तजन स्नानका लागि आउने गर्दछन्। विगतका वर्षमा भन्दा यस वर्ष भक्तजनको संख्या बढी हुने अपेक्षा गरिएको छ । पहिलाे राती बस्ने धेरै हुने गरेकाे तर यातायातकाे सहज पहुँचका कारण विहानै आएर स्थान र दर्शन पश्चात फर्कने भक्तजनहरु बढी हुने गरेका स्थानीय बताउँछन् ।
मकवानपुर । हेटौंडा–२ स्थित बालजागृति इंग्लिस सेकेण्डरी स्कूलमा साँस्कृतिक कार्यक्रमसहितकाे शैक्षिक प्रदर्शनी सुरु गरिएकाे छ । तहगत विद्यार्थीको प्रस्तुती रहने गरी आइतबारबाट सुरु भएको कार्यक्रम आगामी ४ माघसम्म सञ्चालन हुनेछ ।
अर्धवार्षिक परीक्षा सकिएलगत्तै विद्यार्थीलाई पुनर्ताजगी हुने गरी कला प्रदर्शनीको अवसर प्रदान गरिएको विद्यालयले जनाएको छ । विद्यालयले विद्यार्थीको आत्मबल बढाउन, सिकेका कुरा प्रस्तुत गर्न, शिक्षा, ज्ञान, सीप क्षमताको विकास गर्ने लक्ष्यसहित साँस्कृतिक, शैक्षिक प्रदर्शनीको आयोजना गरेको प्रिन्सीपल विनोद सुवेदीले जानकारी दिए । विद्यालयले खेलकुदका क्रियाकलापलाई पनि अगाडि बढाउने उनले बताए ।
कार्यक्रममा सोमबार कक्षा १ कक्षादेखि कक्षा ३ कक्षासम्मका विद्यार्थीको प्रस्तुति रहेकाे थियाे । पहिलो दिन आइतबार नर्सरी, एलकेजी र युकेजी कक्षाका विद्यार्थीले प्रस्तुती देखाएका थिए । विद्यार्थीले उद्घोषण, नृत्य, गायन, नाटक कला प्रस्तुत गरेका छन् । बुधबार कक्षा ४ र ५ को, बिहीबार कक्षा ६ देखि ९ सम्मका विद्यार्थीको साँस्कृतिक प्रस्तुती रहने बताइएकाे छ । यसैगरी शुक्रबार शैक्षिक प्रदर्शनी गरी कार्यक्रमकाे समापन गरिने छ ।
कार्यक्रममा अर्धवार्षिक परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई कक्षागतरुपमा पुरस्कृत समेत गरिएको छ ।
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाका मेयर मिनाकुमारी लामाले नगरका जनताको स्वास्थ्यप्रति आफूहरु गम्भीर भएर लागिरहेको बताएकी छन् ।
हेटौंडा–१ को जरुवाटोलमा नवनिर्मित नकौली शहरी स्वास्थ्य केन्द्रको भवन सोमबार उद्घाटन गर्दै मेयर लामाले जनतालाई स्वास्थ्य सेवा सहज बनाउन आफ्नै भवन निर्माण कार्यलाई प्राथमिकताका साथ अगाडि बढाइएको बताइन् ।
‘हेटौंडाको १९ वटा वडामा २२ वटा स्वास्थ्य केन्द्र बनाएर सेवा दिइरहेका छौं’, मेयर लामाले वडा नं. १, १५ र १९ नम्बर वडामा दुई/दुई वटा स्वास्थ्य केन्द्र बनाएर सेवा प्रवाह गरिरहेको बताइन् ।
‘साविक गाविस मिलेर बनेका वडाहरुमा टाढाबाट सेवाग्राहीहरु आउन समस्या हुने भएकाले हामीले वडा नं. १ को नाकौली–बाँझोडाँडा, १५ को चिप्लेटी र १९ को ज्यामिरेमा थप केन्द्र भवन बनाएरै सेवा प्रवाह गरिरहेकाछौं’, मेयर लामाले ती केन्द्रहरुमा दैनिक सयौं सेवाग्राहीले सेवा लिइरहेको बताइन् ।
वडा नं. १ का अध्यक्ष सविन न्यौपानेको सभाध्यक्षतामा भएको कार्यक्रममा नगर उपप्रमुख राजेश बानियाँले आफूहरु नगरमा निर्वाचित भएपछिमात्रै चारवटा स्वास्थ्य केन्द्रको नयाँ भवन निर्माण सम्पन्न भएको बताए । ‘जहाँ जनता, त्यहाँ सेवा’ भन्ने भावनाका साथ आफूहरु स्वास्थ्य क्षेत्रमा गम्भीर भएर काम गरिरहेको उनले बताए ।
हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद गौतमले नयाँ व्यवस्थासंगै जनताको घरदैलोमा सेवा पुर्याउन स्थानीय सरकारले गरेको कामको खुलेर प्रशंसा गरे । उनले केन्द्रमा खटिने कर्मचारीहरुलाई जनतामाझ मुस्कानसहित सेवा प्रवाह गर्न निर्देशन दिए ।
स्वास्थ्य केन्द्रबाट स–साना घाउचोटको उपचार, नेपाल सरकारबाट वितरण हुने निःशुल्क औषधी सेवा, गर्भवती परीक्षण, परिवार नियोजनका अस्थायी साधन वितरण, खोप सेवा तथा सरकारले चलाएको विशेष स्वास्थ्य अभियान सञ्चालन हुने स्वास्थ्य व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका वडा अध्यक्ष सविन न्यौपानेले जानकारी दिए ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिका प्रशासन महाशाखा प्रमुख गोपालप्रसाद पोखरेल, स्वास्थ्य शाखा प्रमुख सूर्यप्रसाद तिवारी, १ नं. वडा सचिव शान्तादेवी लौडारीलगायतले स्वास्थ्य क्षेत्रमा उपमहानगरपालिकाले प्रवाह गरिरहेको सेवाको बारेमा जानकारी गराएका थिए ।
मकवानपुर । चितवनकाे रत्ननगर नगरपालिकामा आयोजना भएकाे लघुकथा प्रतियोगितामा मकवानपुरे कवि तथा कथाकार किशन पौडेलले द्वितीय स्थान प्राप्त गरेका छन् ।
रत्ननगर वाङ्मय प्रतिष्ठान चितवनको प्रथम स्थापना दिवस तथा १४१ औँ लेखनाथ जयन्तीको असरमा प्रतिष्ठानद्वारा आयोजित राष्ट्रव्यापी लघुकथा प्रतियोगितामा पौडेलकाे स्वाभिमान शिर्षककाे लघुकथा द्वितीय भएकाे हाे । प्रतियोगितामा रासाकाे लघुकथा ‘खतरनाक’ले प्रथम स्थान हासिल गरेकाे छ । यसैगरी लघुकथा ‘नव्यता’का लागि मनीषकुमार शर्मा ‘समित’ भक्तपुरले तृतीय स्थान प्राप्त गर्दै पुरस्कृत भएका छन् ।
प्रथम,द्वितीय र तृतीय स्थान हासिल गर्ने लघुकथाकारलाई क्रमशः २० हजार, १५ हजार र १० हजार पुरस्कार सहित सम्मान गरिएको थियाे । रत्ननगर वाङ्मय प्रतिष्ठानले सूचना प्रकाशित गरी राष्ट्रव्यापी लघुकथा प्रतियोगिताकाे आव्हान गरेकाे थियाे । प्राप्त भएका मध्ये ३ जनाकाे लघुकथा पुरस्कृत भएकाे हाे ।
कार्यक्रममा समालोचक एवम् साहित्यकार ज्ञानु अधिकारी कृति पुरस्कार तथा कल्पना अधिकारीलाई रत्न नगर वाङ्मय प्रतिभा पुरस्कारबाट पुरस्कृत गरिएकाे छ । ज्ञानु अधिकारीकाे निबन्ध सङ्ग्रह समवेदनाको समायोगलाई नगद ३० हजार रुपैंयासहित सम्मानित गरिएको हो । यसैगरी रत्ननगरकै कल्पना अधिकारीलाई नगर २० हजार रुपैंयासहित रत्न नगर वाङ्मय प्रतिभा पुरस्कारबाट सम्मानित गरिएकाे हाे ।
कार्यक्रममा रत्ननगर नगरपालिकाका नगर प्रमुख प्रलाद सापकोटा, उप प्रमुख यादव प्रसाद पाठक तथा प्रतिष्ठानका अध्यक्ष रामबाबु घिमिरेले पुरस्कृत र सम्मानित व्यक्तित्वहरुलाई नगदसहित दोसल्ला र सम्मानपत्रले सम्मान गरेका थिए ।