मकवानपुर । चितवनकाे रत्ननगर नगरपालिकामा आयोजना भएकाे लघुकथा प्रतियोगितामा मकवानपुरे कवि तथा कथाकार किशन पौडेलले द्वितीय स्थान प्राप्त गरेका छन् ।
रत्ननगर वाङ्मय प्रतिष्ठान चितवनको प्रथम स्थापना दिवस तथा १४१ औँ लेखनाथ जयन्तीको असरमा प्रतिष्ठानद्वारा आयोजित राष्ट्रव्यापी लघुकथा प्रतियोगितामा पौडेलकाे स्वाभिमान शिर्षककाे लघुकथा द्वितीय भएकाे हाे । प्रतियोगितामा रासाकाे लघुकथा ‘खतरनाक’ले प्रथम स्थान हासिल गरेकाे छ । यसैगरी लघुकथा ‘नव्यता’का लागि मनीषकुमार शर्मा ‘समित’ भक्तपुरले तृतीय स्थान प्राप्त गर्दै पुरस्कृत भएका छन् ।
प्रथम,द्वितीय र तृतीय स्थान हासिल गर्ने लघुकथाकारलाई क्रमशः २० हजार, १५ हजार र १० हजार पुरस्कार सहित सम्मान गरिएको थियाे । रत्ननगर वाङ्मय प्रतिष्ठानले सूचना प्रकाशित गरी राष्ट्रव्यापी लघुकथा प्रतियोगिताकाे आव्हान गरेकाे थियाे । प्राप्त भएका मध्ये ३ जनाकाे लघुकथा पुरस्कृत भएकाे हाे ।
कार्यक्रममा समालोचक एवम् साहित्यकार ज्ञानु अधिकारी कृति पुरस्कार तथा कल्पना अधिकारीलाई रत्न नगर वाङ्मय प्रतिभा पुरस्कारबाट पुरस्कृत गरिएकाे छ । ज्ञानु अधिकारीकाे निबन्ध सङ्ग्रह समवेदनाको समायोगलाई नगद ३० हजार रुपैंयासहित सम्मानित गरिएको हो । यसैगरी रत्ननगरकै कल्पना अधिकारीलाई नगर २० हजार रुपैंयासहित रत्न नगर वाङ्मय प्रतिभा पुरस्कारबाट सम्मानित गरिएकाे हाे ।
कार्यक्रममा रत्ननगर नगरपालिकाका नगर प्रमुख प्रलाद सापकोटा, उप प्रमुख यादव प्रसाद पाठक तथा प्रतिष्ठानका अध्यक्ष रामबाबु घिमिरेले पुरस्कृत र सम्मानित व्यक्तित्वहरुलाई नगदसहित दोसल्ला र सम्मानपत्रले सम्मान गरेका थिए ।

