मकवानपुर । हेटौंडा–२ स्थित बालजागृति इंग्लिस सेकेण्डरी स्कूलमा साँस्कृतिक कार्यक्रमसहितकाे शैक्षिक प्रदर्शनी सुरु गरिएकाे छ । तहगत विद्यार्थीको प्रस्तुती रहने गरी आइतबारबाट सुरु भएको कार्यक्रम आगामी ४ माघसम्म सञ्चालन हुनेछ ।
अर्धवार्षिक परीक्षा सकिएलगत्तै विद्यार्थीलाई पुनर्ताजगी हुने गरी कला प्रदर्शनीको अवसर प्रदान गरिएको विद्यालयले जनाएको छ । विद्यालयले विद्यार्थीको आत्मबल बढाउन, सिकेका कुरा प्रस्तुत गर्न, शिक्षा, ज्ञान, सीप क्षमताको विकास गर्ने लक्ष्यसहित साँस्कृतिक, शैक्षिक प्रदर्शनीको आयोजना गरेको प्रिन्सीपल विनोद सुवेदीले जानकारी दिए । विद्यालयले खेलकुदका क्रियाकलापलाई पनि अगाडि बढाउने उनले बताए ।
कार्यक्रममा सोमबार कक्षा १ कक्षादेखि कक्षा ३ कक्षासम्मका विद्यार्थीको प्रस्तुति रहेकाे थियाे । पहिलो दिन आइतबार नर्सरी, एलकेजी र युकेजी कक्षाका विद्यार्थीले प्रस्तुती देखाएका थिए । विद्यार्थीले उद्घोषण, नृत्य, गायन, नाटक कला प्रस्तुत गरेका छन् । बुधबार कक्षा ४ र ५ को, बिहीबार कक्षा ६ देखि ९ सम्मका विद्यार्थीको साँस्कृतिक प्रस्तुती रहने बताइएकाे छ । यसैगरी शुक्रबार शैक्षिक प्रदर्शनी गरी कार्यक्रमकाे समापन गरिने छ ।
कार्यक्रममा अर्धवार्षिक परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई कक्षागतरुपमा पुरस्कृत समेत गरिएको छ ।

