देवघाट, चितवन । चितवन, तनहुँ र नवलपरासीकाे सिमामा रहेकाे पवित्र तीर्थस्थल देवघाटधाममा माघे सङ्क्रान्ति मेलाको सम्पूर्ण तयारी पुरा भएकाे छ । माघे सङ्क्रान्तिकाे अघिल्लो दिन पुस मसान्तबाट एक महिनासम्म लाग्ने मकर मेलाको तयारी अन्तिम चरणमा पुगेको हो ।
माघ महिनाभर मेला लाग्ने भएकाले विगतका वर्षहरूको तुलनामा यस वर्ष भक्तजनहरुको भीड बढी हुने अनुमान देवघाट क्षेत्र विकास समितिले गरेकाे छ । मेला व्यवस्थापनकाे लागि समिति अध्यक्ष भीमबहादुर रानाको अध्यक्षतमा १५१ सदस्यीय मूल समारोह समिति गठन गरी माघे सङ्क्रान्तिको तयारी गरिएको हो । उनका अनुसार मेलालाई व्यवस्थित गर्न २२ वटा उपसमिति गठन गरी काम गरिएको छ ।
विकास समितिका कार्यकारी निर्देशक सदन बरालले सङ्क्रान्तिको दिन पाँच लाख भक्तजन आउने अनुमान गरी सोही अनुसार तयारी गरिएको जानकारी दिए । माघलाई पवित्र महिना मानिने हुँदा यो अवधि भर महामहोत्सव लाग्नेछ । माघ महिनाभरीमा करिब आठ लाख भक्तजन आउने अनुमान गरिएको उनले बताए ।
मेलाको लागि डुङ्गाको शुल्क निर्धारण, चितवन र देवघाट जोड्ने झोलुङ्गे पुल मर्मत, अस्थायी शौचालय निर्माणलगायत काम सकिएको समितिका अध्यक्ष राना बताए । ‘नदीमा स्नान गर्नेका लागि रेखाङ्कन सकिएकाे छ’ उनले भने ।
धार्मिक क्षेत्र देवघाटधाममा माघे संक्रान्ति स्नान गर्नेको लागि माघ १ गते मंगलबार बिहान सवेरैदेखि घुइँचो लाग्ने गरेकाे छ । विगतको अवस्थालाई मध्यनजर गर्दा याे क्रम मंगलबार दिनभर रहनेछ ।
पुष २९ गते सोमबार बिहान त्रिशुली र कालीगण्डकीकाे संगमस्थल बेणीमा ओमकार अङ्कित बासँको लिङ्गो गाडेर विधिपूर्वक पूजा गरी उद्घाटन गरिएसँगै देवघाटमा स्नानका लागि खुला हुने गरेकाे छ । देवघाटमा स्नान गर्न मेला भर्न लाखौँ स्वदेशी तथा विदेशी भक्तजन अहिले देवघाटमा छन् । भक्तजनको आवतजावतकाे व्यवस्थापनकालागि देवघाटको झोलुङ्गे पुल ओहोर दोहोर पङ्क्तिबद्ध रूपमा गराउन प्रहरी र स्वयंसेवकले सतर्कता अपनाएका छन् । यस्तै नदी वारपार गर्न सःशुल्क डुङ्गाको व्यवस्था गरिएको छ ।

यसै गरी सवारी साधनकालागि आँपटारी देवघाटको मूल सडकबाट देवघाटबाट बाहिरिने र रामनगर देवघाटको बाटो भित्रने व्यवस्था छ । दासढुङ्गाबाट सिधै जाने हकमा सवारी साधन देवघाटको महेश सन्यास आश्रमसम्म आवतजावत गर्न सकिने व्यवस्था मिलाइएको छ ।
रातमा आउने भक्तजनकालागि धुनीको व्यवस्था मिलाइएकोमा सोमबार बिहानसम्म पनि धुनीकाे व्यवस्था गरिएकाे थियाे । शान्ति सुरक्षा र यातायात व्यवस्थाकालागि चितवन, तनहुँ र नवलपरासीबाट प्रहरी, सशस्त्र प्रहरी र ट्राफिक प्रहरी परिचालन गरिएको छ ।
माघे संक्रान्तिसँग देवघाटको धार्मिक एवं सांस्कृतिक महत्वको सम्बन्ध जोडिएको छ । दामोदर कुण्ड स्रोत भएर बहँदै आएको त्रिशूली र मुक्तिनाथ हुँदै आएकी कालिगण्डकी नदीको सङ्गम देवघाटको बेणी धार्मिक स्थलकाे रूपमा पनि महत्त्वपूर्ण रहेकाे छ । यहाँ माघेसंक्रान्तिमा स्नान गरे मोक्ष पाइन्छ भनेर शास्त्रमा उल्लेख गरिएको छ ।
धार्मिक मान्यता अनुसार माघेसंक्रान्तिका रात देवताहरू देवघाट स्नान गर्न आउने जनविश्वासले नै यो दिन स्नान गर्न आउनेको संख्या उल्लेखनीय हुने गरेको हो । ‘भविष्य पुराण’, ‘विष्णुवचन’ तथा ‘धर्मसिन्धु’ नामक ग्रन्थमा यस दिन पवित्र तीर्थस्थलमा स्नान गरी घिउ, चाकु, तिलको लड्डु, सागपात, तरुल, बस्त्र, पानीको भाँडो र मकलसहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने र उक्त पदार्थ आफूले खाएमा शरीर पोषिलो हुनाका साथै निरोग भइने जनविश्वास छ।
सोमबार राति भक्तजन देवघाटमा जाग्राम बस्ने प्रचलन छ। धर्मशास्त्र अनुसार सौरमासका हिसाबले माघेसंक्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई ‘मकर संक्रान्ति’ भनिएको हो। माघ १ गतेदेखि सूर्य दक्षिणी गोलार्द्धबाट उत्तरी गोलार्द्धतर्फ प्रवेश गर्ने भएकाले दिन लामो र रात छोटो हुँदै जाने विश्वास गरिन्छ।
देवघाटमा नेपालसहित भारतलगायत तेस्रो मुलुकबाट भक्तजन स्नानका लागि आउने गर्दछन्। विगतका वर्षमा भन्दा यस वर्ष भक्तजनको संख्या बढी हुने अपेक्षा गरिएको छ । पहिलाे राती बस्ने धेरै हुने गरेकाे तर यातायातकाे सहज पहुँचका कारण विहानै आएर स्थान र दर्शन पश्चात फर्कने भक्तजनहरु बढी हुने गरेका स्थानीय बताउँछन् ।

