मकवानपुर । मकवानपुरको हेटौंडा क्याम्पसले ३५ औँ स्थापना दिवस मनाएको छ । हेटौंडा उपमहा नगरपालिका वडा नम्बर ४ मा रहेको क्याम्पसले साताव्यापी कार्यक्रम गरि स्थापना दिवस मनाएको हो ।
क्याम्पसले ३५ औँ स्थापना दिवसका अवसरमा भएको अतिरिक्त क्रियाकलाप सप्ताहका विजयीलाई मङ्गलबार एक कार्यक्रम आयोजना गरी पुरस्कार वितरण तथा सम्मान गरेको हो । स्थापना दिवसको समापन कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्ले देशको समग्र विकासका लागि शिक्षा क्षेत्रको विकास अनिवार्य भएको बताए ।
प्रदेश सरकारले सामुदायिक शैक्षिक संस्थाको विकासलाई प्राथमिकतामा राखेको बताउँदै आगामी दिनमा सामुदायिक क्याम्पसको शैक्षिक गुणस्तर वृद्धिमा थप सहयोग गरिने प्रतिवद्धता उनले व्यक्त गरे । कार्यक्रममा हेटौंडा क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष आनन्दराम पराजुलीले हेटौंडा क्याम्पसको जिल्लाको शैक्षिक विकासमा महत्वपूर्ण योगदान रहेको बताए । प्रदेश सरकारले सामुदायिक क्याम्पसमा गरिने लगानीमा वृद्धि आवश्यक भएको उनले बताए ।
कार्यक्रममा क्याम्पस प्रमुख बालकृष्ण शर्मा, हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष रामकृष्ण कोइराला, क्याम्पस व्यवस्थापन समितिका कोषाध्यक्ष नमूना पाण्डे, स्वतन्त्र विद्यार्थी युनियनका सभापति अभि मैनालीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा शिक्षक सेवा आयोगबाट लिइएको परीक्षामा प्राथमिक तहतर्फ १ नम्बरमा नाम सिफारिस भएका क्याम्पसका छात्रा एलिषा घिमिरेलाई सम्मान गरिएको थियो ।
क्याम्पसका अतिरिक्त क्रियाकलाप विभागका प्रमुख मनोज पोखेरेलले साताव्यापी रुपमा भएको भलिवल, फुटबल, दौड, चित्रकला, हाजिरीजवाफ, ब्याडमिण्टन लागयतका प्रतियोगिताका विजयीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको जानकारी दिए ।
मकवानपुर । मकवानपुरको बागमती गाउँपालिकामा भएकाे सातौं संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगिताको उपाधी चर्च ब्वाइज युनाइटेडले हात पारेका छ । । चर्च ब्वाइजले पहिलो सहभागितामै गोल्डकपको उपाधि पोल्टामा पारेकाे हाे ।
सोमबार भएको फाइनल खेलमा साबिक विजेता मच्छिन्द्र क्लबलाई १-० गोलले पाखा लगाउँदै चर्च ब्वाइजले उपाधि जीतेकाे हो । बागमती गाउँपालिका–४, झुरझुरेस्थित शहीद स्मृति रंगशालामा भएकाे फाइनल उपाधि जीतसँगै चर्च ब्वाइजले १० लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्यो । उपविजेतामा चित्त बुझाउँदै मछिन्द्रले ५ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्यो ।
चर्च ब्वाइजलाई उपाधि दिलाउन खेलको ४७ मिनेटमा समीर तामाङ गरेको गोल नै निर्णायक बन्यो । खेलको म्यान अफ द म्याच तामाङ घोषित हुँदै १० हजार रुपैयाँ प्राप्त गरे ।
प्रतियोगिता अन्तरगत शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा विभागीय टोली एपीएफलाई ३–२ गोलले हराउँदै चर्चब्वाइज फाइनलमा प्रवेश गरेको थियो । शनिबार भएको दोस्रो सेमिफाइनल खेलमा थ्रीस्टार क्लबलाई ३–१ गोलले हराउँदै साविक विजेता मछिन्द्रले फाइनल चर्चब्याइजसँग भेट पक्का गरेको थियो ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चर्च ब्वाइजका सन्तोष खत्री घोषित भए । उनले १ लाख १ हजार १ सय १ रुपैयाँ प्राप्त गरे । यस्तै उत्कृष्ट गोलरक्षक चर्च ब्वाइजकै टेकेन्द्र थापा, डिफेन्डर मच्छिन्द्रका देवेन्द्र तामाङ, मिडफिल्डर मच्छिन्द्रकै रोशन राना मगर, फरवार्ड चर्च ब्वाइजका समीर तामाङ र प्रशिक्षक चर्च ब्वाइजका सुमन श्रेष्ठ घोषित भए । विधागत उत्कृष्ट सबैले जनही २५-२५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।
गाउँपालिकाकाे खेलकुद विकास समितिको आयोजनामा भएकाे प्रतियोगितामा ७ वटा विभागीय क्लब तथा ३ वटा मोफसलका क्लबकाे सहभागिता रहेकाे थियो ।
मकवानपुर । मकवानपुर प्रहरीले पेस्तोल सहित २ जना भारतीय नागरिकलाई पक्राउ गरेका छ ।
आइतबार मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५, रातोमाटेस्थित चेकपोष्टबाट एक थान पेस्तोल र पेस्तोलमा लाग्ने ९ मिलिमिटरको ३ राउण्ड गोलीसहित उनीहरुलाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ । पक्राउ पर्नेमा भारत बिहार राज्यको सिहुहर जिल्ला धनहरा ग्रामका २२ वर्षीय धिरज कुमार र बिहार मोतिहारी जिल्ला बहरी ग्रामका २६ वर्षीय दीपक कुमार रहेका छन् ।
रौतहटको गौरबाट चितवनतर्फ जान आउँदै गरेकेा गरेको ना. ८ ख ८७७३ नम्बरको बसलाई सुरक्षाजाँच गर्दा धिरज र दीपकको साथबाट एक राउण्ड गोली लोड भएकोे अटो पेस्तोल, थप २ थान गोली गरी ३ थान गोली फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएकाे छ । उनीहरुलाई हातहतियार मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।
बालगृह सहयोगकाे लागि लगाइएको सप्ताहमा १३ लाख संकलन
Tags: No Comments
मकवानपुर । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिकामा रहेकाे हाम्रो घर बालगृहमा लगाइएको सप्ताहमा १३ लाख २० हजार रकम संकलन भएको छ ।
हेटौंडा – ५ सिचाईं टोलस्थित ग्रामीण जीवनस्तर सुधार मञ्चले संचालन गरेकाे हाम्रो घर बालगृह दिगोपनाको लागि अक्षयकोष स्थापना गर्ने उद्देश्यले लगाइएको श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञमा १३ लाख २० हजार रकम संकलन भएको सोमबार पत्रकार भेटघाट मार्फत जानकारी दिइएकाे छ । मञ्च अध्यक्ष इन्दिरा डल्लाकोटीले सप्ताहमा संकलन रकमबाट ७ लाख ५० हजार पण्डितहरु लागि खर्च भएकाे बताइन् ।
यसैगरी २ लाख ५० हजार रुपैंया अन्य खर्च गरि १० लाख ३६ हजार खर्च भएको अध्यक्ष डल्लाकोटीले जनाकारी दिइन् । उनका अनुसार बालगृहकाे अक्षयकोषमा २ लाख ८३ हजार जम्मा भएको छ । पछिल्लो समय आर्थिक अभावका कारण बालगृह सञ्चालनमा समस्या आएपछि दिगोपनाको लागि धार्मिक अनुष्ठान आयोजना गरिएको उनले बताइन् ।
सप्ताह १ फागुनदेखि ९ फागुन सम्म संचालन गरिएकाे थियाे । ८ जना बालबालिका राखेर २०६५ सालदेखि सुरु गरिएको बालगृहमा हाल २७ जना बालबालिकाले आश्रय लिइरहेका बताइएकाे छ ।
मकवानपुर । अहिले देशमा पश्चिमी वायुका तथा स्थानीय वायु पनि प्रभाव रहेको छ। कोशी प्रदेश र बाग्मती प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
उक्त वायुको कारण देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको जल तथा मौसम बिज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार देशको पहाडी भू-भागको एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश, बाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाको अनुरोध गरेको छ।