मकवानपुर । विद्युतीय गाडीमा मकवानपुर हुदै काठमाडौं जाने क्रममा बेहोस भएका एक युवाको उपचारकाे क्रममा ज्यान गएको छ ।
भदौ २२ गते विहान ९:३० बजेकाे समयमा भीमफेदी-दक्षिणकाली सडकखण्ड अन्तरगत मकवानपुर ईन्द्रसरोवर गाउँपालिका ३ सिस्नेरी पुग्दा बेहोस भएका १९ वर्षीय युवाको उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
बीरगंजबाट काठमाण्डौ तर्फ जाँदै गरेको म.प्र.०३-००१ ज ०७७५ नं.को विद्युतीय गाडी (इभी) मा बारा जिल्ला सिम्रनगढ नगरपालिका ११ बस्ने अन्दाजी १९ को प्रदिप पटेल सिस्नेरीको टेकरमा पुग्दा एक्कासी बेहोस भएका थिए ।
प्रहरी चौकी सिस्नेरी मकवानपुरबाट खटिएको टोलीले तत्काल उपचारको लागि स्वास्थ्य चौकी सिस्नेरी मकवानपुरमा लगेको थियो । सामान्य उपचार पश्चात सामान्य बोलेका पटेलले श्वास फेर्न गाह्रो भएको बताएका थिए । थप उपचारको लागि बयोधा अस्पताल बल्खु काठमाण्डौं लगिएको उनकाे चेकजाँचको क्रममा ११ बजे डाक्टरले मृत घोषणा गरेकाे बताइएको छ ।
विद्युतीय गाडी र चालक बारा कलैया १९ बस्ने बर्ष अन्दाजी २९ को तितेश राउत कुर्मीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मकवानपुर । रसुवा जिल्लाकाे भोटेकोशी नदीमा आएकाे बाढीमा परेका १ हजार ३ सय ४१ जनाको शव फेला परेको छ भने अझै ४ हजार ९ सय ९६ जना सम्पर्कविहीन छन् ।
राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले बाढीले रसुवा लगायतका जिल्लामा पुर्याएकाे पछिल्लो अध्यावधिक विवरणमा उक्त तथ्याङ्क सार्वजनिक गरेको हो ।
आइतबार बिहानसम्म प्राधिकरणले उपलब्ध तथ्याङ्कअनुसार विपदमा परी ज्यान गुमाउनेको संख्या १ हजार ३ सय ४१ पुगेको छ । बाढीबाट ज्यान गुमाएकामध्ये सबैभन्दा धेरै शव चितवनमा भेटिएकाे छ । चितवनमा ३६२ जनाको शव फेला परेको छ । यस्तै, नवलपरासी पूर्वमा २२२, नवलपरासी पश्चिममा २२०, नुवाकोटमा १९५, रसुवामा १६३, गोरखामा ७४, धादिङमा ६७ र तनहुँमा ३८ जनाको शव फेला परेको छ। फेला परेका शवमध्ये हालसम्म ९८ जनाको मात्रै सनाखत भई आफन्तले बुझिलिएको प्राधिकरणले जनाएको छ ।
यसैगरी विपदमा परी हालसम्म ४ हजार ९ सय ९६ जना सम्पर्कविहीन छन् । जसमा नुवाकोटका २ हजार ३ सय ४०, रसुवाका १ हजार ९ सय ६७, विदेशी नागरिक ५८९ र सुरक्षाकर्मी तथा कर्मचारी १०० जना रहेका छन् । बेपत्ताको सूचीमा पहिचान नभएका शव र उद्धार गरिएका व्यक्तिहरू समेत समावेश हुनसक्ने भएकाले हाल तथ्याङ्क रुजु गर्ने कार्य भइरहेको प्राधिकरणले जानकारी दिएकाे छ ।
उद्धार कार्यलाई तिबव्रता दिँदै हालसम्म १३ हजार १०४ जनाको सकुशल उद्धार गरिएको छ । जसमा नेपाली सेनाबाट ४ हजार १६२, नेपाल प्रहरीबाट ४ हजार ६८ र सशस्त्र प्रहरी बलबाट ४ हजार ८७४ जनाको उद्धार गरिएको छ । हवाई मार्गबाट ३०४ जना विदेशी नागरिकको समेत उद्धार गरिएको छ ।
बाढी र पहिरोमा परी घाइते भएका ६ हजार ७५ जनाको उपचार गरिएको छ । जसमध्ये ३ हजार २ सय ९७ जनाको नेपाली सेना, २ हजार ४ सय ६२ जनाको सशस्त्र प्रहरी र ३१६ जनाको विभिन्न अस्पतालहरूमा उपचार भएको छ । विस्थापितहरूका लागि रसुवा, नुवाकोट, धादिङ र काठमाडौँमा ३९ वटा होल्डिङ सेन्टर स्थापना गरिएको छ, जहाँ हाल ३ हजार ६ सय ५२ जना आश्रित छन् ।
विपद् व्यवस्थापनका लागि कुल २१ हजार ४ सय ६५ सुरक्षाकर्मी परिचालन गरिएको छ । यसमा नेपाली सेनाका ९ हजार २ सय ८७, नेपाल प्रहरीका ७ हजार ९ सय ७५ र सशस्त्र प्रहरी बलका ४ हजार २ सय ३ जना रहेका छन् । राहत सामग्री ढुवानीका लागि काठमाडौँबाट ८३ वटा ट्रक र ३८ वटा बोलेरोमार्फत खाद्य तथा गैरखाद्य सामग्री प्रभावित क्षेत्रमा पठाइएको छ । यस्तै, नेपाली सेना र सशस्त्र प्रहरीका हेलिकप्टरमार्फत १८२ पटक उडान भरी राहत सामग्री पुर्याइएको छ ।
नेपाल सरकारले प्रभावित जिल्ला र पालिकाहरूका लागि नगद राहत रकम विनियोजन गरेको छ । रसुवा र नुवाकोटलाई १–१ करोड, धादिङलाई ५० लाख र प्रभावित १५ वटा पालिकालाई कुल १३ करोड ५० लाख रुपैयाँ उपलब्ध गराइएको छ ।
प्रभावित क्षेत्रमा इन्धनको अभाव हुन नदिन ४७ हजार लिटर डिजेल, १८ हजार लिटर पेट्रोल र १८ हजार लिटर हवाई इन्धन मौज्दात राखिएको प्राधिकरणले उल्लेख गरेको छ । सम्पर्कविहीन र उपचाररत व्यक्तिहरूको विस्तृत विवरण प्राधिकरणको आधिकारिक वेबसाइट र फेसबुक पेजमार्फत हेर्न सकिने व्यवस्था मिलाइएको छ ।
मकवानपुर । रसुवाको भोटेकोशी नदीमा आएकाे विनाशकारी बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति मकवानपुर जिल्लास्थित विभिन्न राजनीतिक दलहरूले दुःख व्यक्त गरेका छन् ।
राजनीतिक दलहरुकाे प्रतिनिधिसहित शुक्रवार हेटौंडामा बसेको बैठकमा गत भदौ १० गते आएकोबाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायत जिल्लामा जनधनको क्षति भएको भन्दै मकवानपुरका दलहरूले दुःख व्यक्त गर्दै प्रेस विज्ञप्ति जारी गरेका छन् । विज्ञप्तिमा राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुर सभापति संजिव पाठक, नेपाली कांग्रेस मकवानपुर सभापति बुद्ध लामा, नेकपा एमाले मकवानपुर सचिव सिता विष्ट, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मकवानपुर संयोजक ध्रुव भुजेल, श्रम संस्कृति पार्टीका युनेस लामा सिंतान, राष्ट्रिय प्रजातन्त्र पार्टीका गुरु प्रसाद सापकोटा तथा उज्यालो नेपाल पार्टीका मिनराज तितुङको हस्ताक्षर रहेको छ ।
राजनीतिक दलहरूकाे बैठकले बाढीमा ज्यान गुमाएकाप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै मृतकहरूको सम्झनामा भदौ २२ गते सामूहिक श्रद्धाञ्जली कार्यक्रम आयोजना गर्ने निर्णय समेत गरेका छन् । श्रद्धाञ्जली कार्यक्रम भदौ २२ गते बिहान ८ बजे हेटौंडाको बुद्धचोकमा गरिने भएकाे छ । श्रद्धाञ्जलीमा जिल्लाका संघसंस्था, सरकारी निकाय, नागरिक समाज, मानवअधिकारकर्मी, पत्रकार तथा उद्योग–व्यवसायीहरूलाई उपस्थितिका लागि आह्वान समेत गरिएको छ ।
पार्टीहरुले जारी गरेकाे विज्ञप्तिमा बाढी प्रभावित नागरिकहरूको जीवनरक्षा, खोज तथा उद्धार, राहत वितरण र पुनःस्थापना कार्यलाई प्रभावकारी, समन्वयात्मक र तीव्र बनाउन राज्यका सबै संयन्त्र तथा राजनीतिक दलहरूबीच आवश्यक सहकार्य र एकताको खाँचो औँल्याइएको छ । साथै, बेपत्ता व्यक्तिहरूको सकुशल उद्धार तथा खोजीको काम सफल होस् भन्ने कामना गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।
मकवानपुर। प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइदै छ ।
संसारभरका हिन्दु धर्मावलम्बी अनि श्री कृष्णका भक्तहरूले आज प्रिय भगवान कृष्णको जन्मदिवस मनाउँदैछन् ।
श्रीकृष्ण जन्माष्टमी पर्व मनाउनेले बिहान सबेरै नुहाइधुवाइ गरेर व्रत बस्छन् । दिनभर जल वा फलफूल मात्र खाएर पूर्ण रूपमा सात्विक बस्छन् । मध्यरातमा श्रीकृष्णको धातुको प्रतिमालाई पञ्चामृतले स्नान गराइदिन्छन् ।
हातमा मुरली, शिरमा मयूरको प्वाँख, शीतल बगैंचामुनी, जीवजन्तुहरूको साथमा गोपिनीहरूको मायामा बाँसुरीको मधुर धुन यस्तै वातावरणमा विराजमान प्यारा भगवान श्री कृष्ण आजैको दिन मामा कंशको कैदमा रहेका पिता वासुदेव र माता देवकीको गर्भबाट जन्म भएको मान्यता रहिआएको छ ।
कृष्ण जन्माष्टमीलाई सातम आठम, गोकुलष्टमी, अष्टमी रोहिनी, श्रीकृष्ण जयन्ती, श्री जयन्ती वा कहिलेकाँही साधारण भाषामा जन्माष्टमी भन्ने गरिन्छ ।
पुराणहरूका अनुसार द्वापरयुगमा भाद्र कृष्ण अष्टमीको मध्यरात रेवती नक्षत्रमा भगवान् विष्णु आठौं अवतारका रूपमा कृष्ण जन्मिएका हुन् ।
किन गरिन्छ त श्रीकृष्णको पुजा ?
आजको दिनमा श्रीकृष्णको पूजा आराधना गर्नाले सन्तान प्राप्ति हुने, लामो आयु प्राप्त हुने र समृद्धि प्राप्ति हुने विश्वास गरिन्छ । यस पर्व मनाउनुले हरेकको मनोकामना पूरा हुने आस्था राखिन्छ। धर्म ग्रन्थअनुसार जुन व्यक्तिको चन्द्रमा कमजोर छ, उसले श्रीकृष्णको पूजा गरेमा उसलाई अधिका लाभ मिल्छ ।
आजका दिनमा प्रेम र दाम्पत्य सुखका लागि राधाकृष्णको, सन्तान प्राप्तिका लागि बालक कृष्णको र अन्य मनोकामना पूरा गर्नका लागि बंशीवाला कृष्णको मूर्ति बनाई पूजा गर्ने गर्ने गरिन्छ ।
मकवानपुर । त्रिशूलीमा आएको बाढीले पृथ्वी राजमार्गको कृष्णभीरमा सडक अवरुद्ध बनेपछि हेटौंडा–काठमाडौं प्रवेश गर्ने तीन वटा मार्गबाट सवारी संचालन हुदैछ । साेही अनुसार छोटो दूरीको वैकल्पिक मार्ग तथा त्रिभुवन राजपथ र कान्तिलोकपथ सडकमा सवारी चाप बढेको छ ।
जसका कारण हेटौंडा–काठमाडौं सडकमा मालवाहक र यात्रुवाहक सवारीका लागि आउँदा र जाँदा फरक–फरक मार्ग प्रयोग गर्नुपर्ने भएको छ ।स्थानीय प्रशासनले जारी गरेको सूचना अनुसार १४ सिटभन्दा कम क्षमताका सवारीसाधन भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली हुँदै जानेछन् । काठमाडौंबाट हेटौंडा आउने सवारी फर्पिङ–फाखेल–कुलेखानी–भीमफेदी हुँदै आउनुपर्ने छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रजिअ वसन्त अधिकारीका अनुसार, मालवाहक तथा ठूला यात्रुवाहक सवारीसाधनले काठमाडौं जाँदा त्रिभुवन राजपथ र फर्किंदा कान्तिलोकपथ प्रयोग गर्नुपर्नेछ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि हेटौंडा हुँदै काठमाडौं आवतजावत गर्ने सवारीको चाप बढेको उनको भनाइ छ ।
प्रशासनले मकवानपुरको त्रिभुवन राजपथ नजिक रहेको बेलिब्रिजको भारवहन क्षमता कमजोर रहेको भन्दै इन्धन तथा भारी मालवाहक सवारीसाधनलाई उक्त बाटो प्रयोग नगरी सँगै रहेको डाइभर्सनमार्फत सञ्चालन गर्न अनुरोध गरेको छ । नयाँ व्यवस्थाले वैकल्पिक सडकमा हुने सवारी जाम तथा लामो समय सवारी रोक्नुपर्ने अवस्थाको अन्त्य हुने विश्वास प्रशासनको छ । प्रशासनले तोकेको व्यवस्थाको पालना गरी सवारी आवागमनलाई सहज, सुरक्षित र व्यवस्थित बनाउन चालक, यातायात व्यवसायी तथा यात्रुहरूलाई अनुरोध गरेको छ ।
विगतमा हेटौंडाबाट छोटो दूरीको वैकल्पिक मार्ग भएर काठमाडौं पुग्न ३ घण्टामात्र लाग्ने गरेकोमा अहिले सवारीको चापका कारण झण्डै ५ घण्टा लाग्ने गरेको छ ।
कान्तिराजपथलाई प्राथमिकताका साथ संचालन गर्न निर्देशन
भदौ १४ गते धादिङ जिल्लाको कृष्णभीरमा सडक भासिएर काठमाडौँ जोड्ने मुख्य राजमार्ग अवरुद्ध भएपछि कान्ति लोकपथलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गरिएको छ।
सवारी आवागमनलाई थप सहज, सुरक्षित तथा व्यवस्थित बनाउन जिल्ला प्रशासन कार्यालय ललितपुरले कान्ति लोकपथ सडक आयोजना, चाकुपाटलाई प्राथमिकताका साथ कार्य गर्न पत्राचार गरेको छ। भदौ १६ गते प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरू र कान्ति लोकपथ सडक आयोजनाका कर्मचारीहरूले संयुक्त रूपमा स्थलगत अवलोकन तथा निरीक्षण गरे पछि प्रशासनले उक्त निर्देशन दिएकाे हाे ।
विपद्जन्य समय भएकाले सडकको क्षमता तथा यात्रीहरूको सुरक्षालाई ध्यानमा राखी प्राथमिकताका साथ स्थलगत रूपमा प्राविधिक जनशक्ति र मेसिनरी उपकरण खटाउन निर्देशन दिइएको छ। पहिरो गएमा तत्काल सडक खुलाउने व्यवस्था मिलाउन पनि पत्रमा उल्लेख छ।विशेष गरी पाण्डुरको पहिरो र भैँसेदेखि तीनपाने खण्डमा रहेको बाटोको दुवै तर्फको ढुङ्गा तथा माटो हटाई बाटोलाई चौडा बनाइने भएको छ। उक्त खण्डमा दोहोरो सवारी साधन सञ्चालन हुने गरी यथाशीघ्र सरसफाइ गर्न र गराउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ।
ग्यास ढुवानीमा बैकल्पिक व्यवस्था
काठमाडौं उपत्यकामा प्रभावित भएको खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज बनाउन हेटौंडालाई आधार बनाएर वैकल्पिक सडकमार्फत ग्यास ढुवानी गर्ने तयारी गरिएको छ ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीको अध्यक्षतामा सरोकारवाला निकायका प्रतिनिधिसहित बसेको बैठकले हेटौंडाबाट त्रिभुवन राजपथ र कान्तिलोकपथ प्रयोग गरी काठमाडौंमा ग्यास आपूर्ति गर्ने व्यवस्था मिलाएको हो । ग्यास ढुवानीका लागि तत्काल २०० वटासम्म ट्रक परिचालन गर्ने तयारी गरिएको छ ।
काठमाडौंमा रहेका खाली सिलिन्डर ट्रकमार्फत हेटौंडा ल्याइनेछ । हेटौंडा तथा आसपासका उद्योगमा ग्यास भरेपछि पुनः काठमाडौं पठाइनेछ । काठमाडौं आउँदा त्रिभुवन राजपथ र ग्यास भरिएर फर्किंदा कान्तिलोकपथ प्रयोग गर्ने गरी रुट व्यवस्थापन गरिएको छ ।
नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दका अनुसार काठमाडौं उपत्यकामा ग्यासको अभाव हुन नदिन खाली सिलिन्डर संकलन गरी तत्कालै भरेर पठाउने काम सुरु भइसकेको छ । पहिलो चरणमा नेपाल ग्यास र एभरेस्ट ग्यासका खाली सिलिन्डर हेटौंडातर्फ ल्याउने तयारी गरिएको छ ।
सडक अवरुद्ध भएपछि ग्यासको नियमित आपूर्ति प्रभावित भएकाले वैकल्पिक स्रोत र मार्गबाट समेत ग्यास ल्याउने व्यवस्था मिलाइएको छ । काठमाडौं उपत्यकामा ग्यासको हाहाकार हुन नदिन तराईका उद्योगमा समेत सिलिन्डर भरेर वैकल्पिक मार्गबाट काठमाडौं ल्याउने व्यवस्था गरिएको छ ।
घरायसी उपभोक्तालाई पहिलो प्राथमिकता
ग्यास अभावको अवस्था आउन नदिन नेपाल आयल निगमले तत्कालका लागि व्यावसायिक प्रयोजनमा ग्यास बिक्री वितरण रोक्ने निर्णय गरेको छ । होटल, रेस्टुरेन्ट, क्यान्टिनलगायत ठूला व्यावसायिक उपभोक्ताले तत्काल नियमित आपूर्ति नपाउने भएका छन् ।
बजारमा उपलब्ध ग्यास भने घरायसी तथा अत्यावश्यक उपभोक्तालाई प्राथमिकताका आधारमा वितरण गरिनेछ । विद्यार्थी, असहाय, बिरामी, ज्येष्ठ नागरिक, आश्रम, अपाङ्गता भएका व्यक्ति तथा बाढीपीडितका लागि सञ्चालन गरिएका सेन्टरलाई समेत आवश्यकताअनुसार प्राथमिकतामा राखेर ग्यास उपलब्ध गराउने व्यवस्था गरिएको छ ।
व्यावसायिक प्रयोजनका लागि ग्यास आवश्यक पर्ने होटल तथा अन्य व्यवसायीले भने आफ्नै खर्चमा सम्बन्धित ब्रान्डका खाली सिलिन्डर तराईका उद्योगमा लगेर ग्यास भरी ल्याउनुपर्ने व्यवस्था गरिएको छ ।
वैकल्पिक सडकमा सवारी चाप र सम्भावित जोखिमलाई ध्यानमा राख्दै ग्यास ढुवानी गर्ने सवारीका लागि एकतर्फी रुट निर्धारण गरिएको छ । काठमाडौंबाट हेटौंडातर्फ आउँदा त्रिभुवन राजपथ प्रयोग गर्ने र हेटौंडाबाट ग्यास भरेर काठमाडौं फर्किंदा कान्तिलोकपथ प्रयोग गर्ने व्यवस्था मिलाइएको हो ।
कान्तिलोकपथमा हाल ग्यास ढुवानीका लागि तत्काल ठूलो समस्या नरहेको जनाइएको छ । त्रिभुवन राजपथमा पहिरो वा अन्य अवरोध आए तत्काल हटाएर सडक सञ्चालनमा ल्याउने प्रतिबद्धता सडक विभागले जनाएको छ ।
पृथ्वी राजमार्ग अवरुद्ध भएपछि पेट्रोलियम पदार्थको आपूर्ति समेत प्रभावित भएको अवस्थामा वैकल्पिक सडकमार्फत अत्यावश्यक सामग्रीको ढुवानीलाई प्राथमिकता दिइएको प्रशासनले जनाएको छ ।