मकवानपुर । रसुवाको भोटेकोशी नदीमा आएकाे विनाशकारी बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति मकवानपुर जिल्लास्थित विभिन्न राजनीतिक दलहरूले दुःख व्यक्त गरेका छन् ।
राजनीतिक दलहरुकाे प्रतिनिधिसहित शुक्रवार हेटौंडामा बसेको बैठकमा गत भदौ १० गते आएकोबाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायत जिल्लामा जनधनको क्षति भएको भन्दै मकवानपुरका दलहरूले दुःख व्यक्त गर्दै प्रेस विज्ञप्ति जारी गरेका छन् । विज्ञप्तिमा राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुर सभापति संजिव पाठक, नेपाली कांग्रेस मकवानपुर सभापति बुद्ध लामा, नेकपा एमाले मकवानपुर सचिव सिता विष्ट, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मकवानपुर संयोजक ध्रुव भुजेल, श्रम संस्कृति पार्टीका युनेस लामा सिंतान, राष्ट्रिय प्रजातन्त्र पार्टीका गुरु प्रसाद सापकोटा तथा उज्यालो नेपाल पार्टीका मिनराज तितुङको हस्ताक्षर रहेको छ ।
राजनीतिक दलहरूकाे बैठकले बाढीमा ज्यान गुमाएकाप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै मृतकहरूको सम्झनामा भदौ २२ गते सामूहिक श्रद्धाञ्जली कार्यक्रम आयोजना गर्ने निर्णय समेत गरेका छन् । श्रद्धाञ्जली कार्यक्रम भदौ २२ गते बिहान ८ बजे हेटौंडाको बुद्धचोकमा गरिने भएकाे छ । श्रद्धाञ्जलीमा जिल्लाका संघसंस्था, सरकारी निकाय, नागरिक समाज, मानवअधिकारकर्मी, पत्रकार तथा उद्योग–व्यवसायीहरूलाई उपस्थितिका लागि आह्वान समेत गरिएको छ ।
पार्टीहरुले जारी गरेकाे विज्ञप्तिमा बाढी प्रभावित नागरिकहरूको जीवनरक्षा, खोज तथा उद्धार, राहत वितरण र पुनःस्थापना कार्यलाई प्रभावकारी, समन्वयात्मक र तीव्र बनाउन राज्यका सबै संयन्त्र तथा राजनीतिक दलहरूबीच आवश्यक सहकार्य र एकताको खाँचो औँल्याइएको छ । साथै, बेपत्ता व्यक्तिहरूको सकुशल उद्धार तथा खोजीको काम सफल होस् भन्ने कामना गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।

