मकवानपुर । विद्युतीय गाडीमा मकवानपुर हुदै काठमाडौं जाने क्रममा बेहोस भएका एक युवाको उपचारकाे क्रममा ज्यान गएको छ ।
भदौ २२ गते विहान ९:३० बजेकाे समयमा भीमफेदी-दक्षिणकाली सडकखण्ड अन्तरगत मकवानपुर ईन्द्रसरोवर गाउँपालिका ३ सिस्नेरी पुग्दा बेहोस भएका १९ वर्षीय युवाको उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
बीरगंजबाट काठमाण्डौ तर्फ जाँदै गरेको म.प्र.०३-००१ ज ०७७५ नं.को विद्युतीय गाडी (इभी) मा बारा जिल्ला सिम्रनगढ नगरपालिका ११ बस्ने अन्दाजी १९ को प्रदिप पटेल सिस्नेरीको टेकरमा पुग्दा एक्कासी बेहोस भएका थिए ।
प्रहरी चौकी सिस्नेरी मकवानपुरबाट खटिएको टोलीले तत्काल उपचारको लागि स्वास्थ्य चौकी सिस्नेरी मकवानपुरमा लगेको थियो । सामान्य उपचार पश्चात सामान्य बोलेका पटेलले श्वास फेर्न गाह्रो भएको बताएका थिए । थप उपचारको लागि बयोधा अस्पताल बल्खु काठमाण्डौं लगिएको उनकाे चेकजाँचको क्रममा ११ बजे डाक्टरले मृत घोषणा गरेकाे बताइएको छ ।
विद्युतीय गाडी र चालक बारा कलैया १९ बस्ने बर्ष अन्दाजी २९ को तितेश राउत कुर्मीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

