मकवानपुर । मकवानपुरको हेटौंडामा ६ वर्षपछी तौलपुल (धर्मकाँटा) पुनः सञ्चालनमा ल्याइएको छ ।
जिल्ला प्रशासन कार्यालयको सहमतिमा नारायणी यातायात व्यवसायी संघले सोमबारबाट तौलपुल पुन: सञ्चालनमा ल्याएको हो। सडकको दीर्घकालीन सुरक्षा र दुर्घटना न्यूनीकरणका लागि हेटौंडा -११ थानाभर्याङमा २०७७ सालबाट बन्द रहेको तौलपुल सञ्चालनमा ल्याइएको बताइएको छ ।
बाढी पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएपछि त्रिभुवन राजपथमा भएको सवारी साधनको चापलाई मध्यनजर तौलपुल पुन: सञ्चालनमा ल्याएको हो । नारायणी यातायात व्यवसायी संघका अध्यक्ष सरोज खनालले त्रिभुवन राजमार्ग अहिले काठमाडौं जोड्ने महत्त्वपूर्ण मार्ग रहेको भन्दै राजमार्गमा ओभरलोड बोकेर गुड्ने मालवाहक सवारीलाई नियन्त्रण गर्ने उद्देश्यले पुन: सञ्चालनमा ल्याइएको बताए ।
तौलपुल सञ्चालनबाट सवारीसाधनको वास्तविक भार परीक्षण हुने र तोकिएको क्षमताभन्दा बढी भार बोक्ने सवारीलाई नियन्त्रण गर्न सजिलो हुनेछ ।
नेपाल ट्रक यातायात व्यवसायी महासंघका महासचिव बद्रीप्रसाद चौलागाईँले विपद्को समयमा सडकमा ओभरलोड रोक्न र यातायात सञ्चालन सहज बनाउन तौलपुल पुन: सञ्चालन गरिएको बताए। तौलपुल नेपाल सरकारद्वारा जारी गरिएको ‘धर्मकाँटा नियमावली २०७४’ अनुसार सञ्चालनमा ल्याइएको हो।
पुन: सञ्चालनमा ल्याइएको तौलपुलमा सवारी साधनको भार सिमा समेत तोकिएको छ । १२ चक्के र १० चक्के ठूला गाडीले अधिकतम १५ टनसम्म मात्र बोक्न पाउने छन्। यस्तै ६ चक्के र ४ चक्के मझौला/साना गाडीले आफ्नो बिलबुकमा तोकिएको क्षमता अनुसार मात्र सामान ओसारपसार गर्नुपर्नेछ ।

