मकवानपुर । त्रिशूलीमा आएको बाढीले पृथ्वी राजमार्गको कृष्णभीरमा सडक अवरुद्ध बनेपछि हेटौंडा–काठमाडौं प्रवेश गर्ने तीन वटा मार्गबाट सवारी संचालन हुदैछ । साेही अनुसार छोटो दूरीको वैकल्पिक मार्ग तथा त्रिभुवन राजपथ र कान्तिलोकपथ सडकमा सवारी चाप बढेको छ ।
जसका कारण हेटौंडा–काठमाडौं सडकमा मालवाहक र यात्रुवाहक सवारीका लागि आउँदा र जाँदा फरक–फरक मार्ग प्रयोग गर्नुपर्ने भएको छ ।स्थानीय प्रशासनले जारी गरेको सूचना अनुसार १४ सिटभन्दा कम क्षमताका सवारीसाधन भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली हुँदै जानेछन् । काठमाडौंबाट हेटौंडा आउने सवारी फर्पिङ–फाखेल–कुलेखानी–भीमफेदी हुँदै आउनुपर्ने छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रजिअ वसन्त अधिकारीका अनुसार, मालवाहक तथा ठूला यात्रुवाहक सवारीसाधनले काठमाडौं जाँदा त्रिभुवन राजपथ र फर्किंदा कान्तिलोकपथ प्रयोग गर्नुपर्नेछ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि हेटौंडा हुँदै काठमाडौं आवतजावत गर्ने सवारीको चाप बढेको उनको भनाइ छ ।
प्रशासनले मकवानपुरको त्रिभुवन राजपथ नजिक रहेको बेलिब्रिजको भारवहन क्षमता कमजोर रहेको भन्दै इन्धन तथा भारी मालवाहक सवारीसाधनलाई उक्त बाटो प्रयोग नगरी सँगै रहेको डाइभर्सनमार्फत सञ्चालन गर्न अनुरोध गरेको छ । नयाँ व्यवस्थाले वैकल्पिक सडकमा हुने सवारी जाम तथा लामो समय सवारी रोक्नुपर्ने अवस्थाको अन्त्य हुने विश्वास प्रशासनको छ । प्रशासनले तोकेको व्यवस्थाको पालना गरी सवारी आवागमनलाई सहज, सुरक्षित र व्यवस्थित बनाउन चालक, यातायात व्यवसायी तथा यात्रुहरूलाई अनुरोध गरेको छ ।
विगतमा हेटौंडाबाट छोटो दूरीको वैकल्पिक मार्ग भएर काठमाडौं पुग्न ३ घण्टामात्र लाग्ने गरेकोमा अहिले सवारीको चापका कारण झण्डै ५ घण्टा लाग्ने गरेको छ ।
कान्तिराजपथलाई प्राथमिकताका साथ संचालन गर्न निर्देशन
भदौ १४ गते धादिङ जिल्लाको कृष्णभीरमा सडक भासिएर काठमाडौँ जोड्ने मुख्य राजमार्ग अवरुद्ध भएपछि कान्ति लोकपथलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गरिएको छ।
सवारी आवागमनलाई थप सहज, सुरक्षित तथा व्यवस्थित बनाउन जिल्ला प्रशासन कार्यालय ललितपुरले कान्ति लोकपथ सडक आयोजना, चाकुपाटलाई प्राथमिकताका साथ कार्य गर्न पत्राचार गरेको छ। भदौ १६ गते प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरू र कान्ति लोकपथ सडक आयोजनाका कर्मचारीहरूले संयुक्त रूपमा स्थलगत अवलोकन तथा निरीक्षण गरे पछि प्रशासनले उक्त निर्देशन दिएकाे हाे ।
विपद्जन्य समय भएकाले सडकको क्षमता तथा यात्रीहरूको सुरक्षालाई ध्यानमा राखी प्राथमिकताका साथ स्थलगत रूपमा प्राविधिक जनशक्ति र मेसिनरी उपकरण खटाउन निर्देशन दिइएको छ। पहिरो गएमा तत्काल सडक खुलाउने व्यवस्था मिलाउन पनि पत्रमा उल्लेख छ।विशेष गरी पाण्डुरको पहिरो र भैँसेदेखि तीनपाने खण्डमा रहेको बाटोको दुवै तर्फको ढुङ्गा तथा माटो हटाई बाटोलाई चौडा बनाइने भएको छ। उक्त खण्डमा दोहोरो सवारी साधन सञ्चालन हुने गरी यथाशीघ्र सरसफाइ गर्न र गराउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ।
ग्यास ढुवानीमा बैकल्पिक व्यवस्था
काठमाडौं उपत्यकामा प्रभावित भएको खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज बनाउन हेटौंडालाई आधार बनाएर वैकल्पिक सडकमार्फत ग्यास ढुवानी गर्ने तयारी गरिएको छ ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीको अध्यक्षतामा सरोकारवाला निकायका प्रतिनिधिसहित बसेको बैठकले हेटौंडाबाट त्रिभुवन राजपथ र कान्तिलोकपथ प्रयोग गरी काठमाडौंमा ग्यास आपूर्ति गर्ने व्यवस्था मिलाएको हो । ग्यास ढुवानीका लागि तत्काल २०० वटासम्म ट्रक परिचालन गर्ने तयारी गरिएको छ ।
काठमाडौंमा रहेका खाली सिलिन्डर ट्रकमार्फत हेटौंडा ल्याइनेछ । हेटौंडा तथा आसपासका उद्योगमा ग्यास भरेपछि पुनः काठमाडौं पठाइनेछ । काठमाडौं आउँदा त्रिभुवन राजपथ र ग्यास भरिएर फर्किंदा कान्तिलोकपथ प्रयोग गर्ने गरी रुट व्यवस्थापन गरिएको छ ।
नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दका अनुसार काठमाडौं उपत्यकामा ग्यासको अभाव हुन नदिन खाली सिलिन्डर संकलन गरी तत्कालै भरेर पठाउने काम सुरु भइसकेको छ । पहिलो चरणमा नेपाल ग्यास र एभरेस्ट ग्यासका खाली सिलिन्डर हेटौंडातर्फ ल्याउने तयारी गरिएको छ ।
सडक अवरुद्ध भएपछि ग्यासको नियमित आपूर्ति प्रभावित भएकाले वैकल्पिक स्रोत र मार्गबाट समेत ग्यास ल्याउने व्यवस्था मिलाइएको छ । काठमाडौं उपत्यकामा ग्यासको हाहाकार हुन नदिन तराईका उद्योगमा समेत सिलिन्डर भरेर वैकल्पिक मार्गबाट काठमाडौं ल्याउने व्यवस्था गरिएको छ ।
घरायसी उपभोक्तालाई पहिलो प्राथमिकता
ग्यास अभावको अवस्था आउन नदिन नेपाल आयल निगमले तत्कालका लागि व्यावसायिक प्रयोजनमा ग्यास बिक्री वितरण रोक्ने निर्णय गरेको छ । होटल, रेस्टुरेन्ट, क्यान्टिनलगायत ठूला व्यावसायिक उपभोक्ताले तत्काल नियमित आपूर्ति नपाउने भएका छन् ।
बजारमा उपलब्ध ग्यास भने घरायसी तथा अत्यावश्यक उपभोक्तालाई प्राथमिकताका आधारमा वितरण गरिनेछ । विद्यार्थी, असहाय, बिरामी, ज्येष्ठ नागरिक, आश्रम, अपाङ्गता भएका व्यक्ति तथा बाढीपीडितका लागि सञ्चालन गरिएका सेन्टरलाई समेत आवश्यकताअनुसार प्राथमिकतामा राखेर ग्यास उपलब्ध गराउने व्यवस्था गरिएको छ ।
व्यावसायिक प्रयोजनका लागि ग्यास आवश्यक पर्ने होटल तथा अन्य व्यवसायीले भने आफ्नै खर्चमा सम्बन्धित ब्रान्डका खाली सिलिन्डर तराईका उद्योगमा लगेर ग्यास भरी ल्याउनुपर्ने व्यवस्था गरिएको छ ।
वैकल्पिक सडकमा सवारी चाप र सम्भावित जोखिमलाई ध्यानमा राख्दै ग्यास ढुवानी गर्ने सवारीका लागि एकतर्फी रुट निर्धारण गरिएको छ । काठमाडौंबाट हेटौंडातर्फ आउँदा त्रिभुवन राजपथ प्रयोग गर्ने र हेटौंडाबाट ग्यास भरेर काठमाडौं फर्किंदा कान्तिलोकपथ प्रयोग गर्ने व्यवस्था मिलाइएको हो ।
कान्तिलोकपथमा हाल ग्यास ढुवानीका लागि तत्काल ठूलो समस्या नरहेको जनाइएको छ । त्रिभुवन राजपथमा पहिरो वा अन्य अवरोध आए तत्काल हटाएर सडक सञ्चालनमा ल्याउने प्रतिबद्धता सडक विभागले जनाएको छ ।
पृथ्वी राजमार्ग अवरुद्ध भएपछि पेट्रोलियम पदार्थको आपूर्ति समेत प्रभावित भएको अवस्थामा वैकल्पिक सडकमार्फत अत्यावश्यक सामग्रीको ढुवानीलाई प्राथमिकता दिइएको प्रशासनले जनाएको छ ।

