मकवानपुर । दरबारभित्र घटेको हत्याकाण्डको सम्झनामा सोमबार हेटौंडामा दीप प्रज्वलन गरिएको छ। १९ जेठ २०५८ मा राजा वीरेन्द्र शाह, रानी ऐश्वर्य, राजकुमार दीपेन्द्रसहित राजपरिवारका नौ सदस्यको हत्या भएको थियो।
दरबार हत्याकाण्डकाे २४ वर्ष भएकाे छ । २४ औं स्मृतिमा हेटौंडा उपमहानगरपालिका–१० स्थित बुद्ध चोकमा श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरिएको हो। कार्यक्रममा सहभागीहरूले बत्ती बालेर दिवंगत राजपरिवारप्रति श्रद्धा प्रकट गरेका थिए । हातमा दीप बोकेर मौन प्रार्थना समेत गरिएकाे थियो ।
दिप प्रज्वलन कार्यक्रममा राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले दरबार हत्याकाण्ड सम्बन्धी सरकारी प्रतिवेदनले जनताको जिज्ञासा नमेटाएको बताए । ‘दरबार हत्याकाण्डकाे सत्यतथ्य बाहिर आउनु पर्छ’ उनले भने । राष्ट्रिय प्रजातान्त्रिक युवा मोर्चाका अध्यक्ष विवेक विक्रम शाहीले राजा वीरेन्द्र राष्ट्रप्रेमी राजा भएकाे बताउँदै राजपरिवारलाई हामीले बिर्सन नहुने बताए ।
दिप प्रज्वलनमा सहभागीहरुले दरबार हत्याकाण्ड अझै रहस्यमय रहेको भन्दै घटनाको निष्पक्ष छानबिनको माग समेत गरेका छन्। कार्यक्रममा बागमती प्रदेश सभा सदस्य कुमारी स्याङतान, नुरल बज्राचार्य, गिरिबहादुर तामाङ, डम्बर तामाङ राप्रपा केन्द्रीय सदस्य राम थोक्कर, रामहरी न्यौपाने, राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन मकवानपुर जिल्ला अध्यक्ष किशोर केसी लगायतकाे उपस्थिति रहेको थियो।
चितवन। बागमती प्रदेश सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री प्रकाश श्रेष्ठले ‘कृषि ज्ञानरत्न’ कार्यक्रमले युवामा उत्साह थपेको बताएका छन् । चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयमा बागमती प्रदेशको आर्थिक सहयोगमा निर्मित ‘बीएसएल टु प्लस प्रयोगशाला भवन’को सोमबार उद्घाटन गर्दै मन्त्री श्रेष्ठले उक्त कुरा बताएका हुन् ।
‘प्रदेश सरकारले सुरु गरेकाे कृषि ज्ञानरत्न कार्यक्रम अन्तर्गत विभिन्न शैक्षिक तह पार गरेका युवालाई लक्षित गरी कृषि अनुदान कार्यक्रम सञ्चालनमा ल्याएको छ’ उनले भने । उक्त कार्यक्रमबाट स्नातक तह पार गरेका युवाहरूलाई ८ लाख रुपैयाँ, स्नातकोत्तर तहका लागि १० लाख रुपैयाँ, र एमफिल गर्दै पीएचडी अध्ययन तयारी गरिरहेकाे युवाका लागि २२ लाख रुपैयाँसम्मको कृषि अनुदान प्रदान गरिदै आएकाे मन्त्री श्रेष्ठले जानकारी दिए ।
‘प्रदेशभित्र जुनसुकै विषय अध्ययन गरेका युवाले कृषि क्षेत्रमा लाग्ने इच्छा राखेमा उक्त कार्यक्रम मार्फत अनुदान लिन सक्ने व्यवस्था गरिएको छ’ उनले भने ‘हामीले ०८१/०८२ सालमा सुरु गरेको कृषि ज्ञानरत्न कार्यक्रमलाई आर्थिक वर्ष ०८२/०८३ मा वृद्धि गर्दै थप विस्तार गर्न गइरहेका छौं।’ उनले विदेश पलायन रोक्दै स्वदेशमै उद्यमशिलता र कृषि कर्ममा लाग्न युवाहरूलाई आग्रह समेत गरेका छन् ।
यसैगरी बागमती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्णप्रसाद सिलवालले विश्वविद्यालयलाई गुणस्तरीय र परिणाममुखी अध्ययन–अध्यापनमा जोड दिन सुझाव दिएका छन् । ‘नयाँ भवन मात्र पर्याप्त होइन’ मन्त्री सिलवालले भने ‘अब यो भवनमार्फत अध्ययन अनुसन्धानलाई बलियो बनाउँदै चितवनलाई कृषि क्षेत्रमै अग्रणी बनाउनु पर्छ।’
अन्तर्राष्ट्रिय विश्वविद्यालयहरूको उदाहरण दिँदै उनले भने ‘चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयले पनि अनुसन्धानलाई प्राथमिकता दिनुपर्छ ।’ प्रदेश सरकार पनि अनुसन्धानमुखी कार्यका लागि अनुदान दिन तयार रहेको उनले बताए ।
मन्त्री श्रेष्ठद्वारा चैनपुरकाे फोहोर प्रशोधन उद्योगको अवलोकन
कृषि तथा पशुपन्छी विकास मन्त्री श्रेष्ठले सोमबार नै चितवनको खैरहनी नगरपालिका वडा नं ४ स्थित चैनपुरमा रहेको सफा ऊर्जा उत्पादन प्रालि द्वारा सञ्चालित फोहोर प्रशोधन उद्योगको अवलोकन गरेका छन् ।
सफा उर्जाका प्रतिनिधि योगेन्द्र सिंह केसीले फोहोर संकलन, प्रशोधन, प्राङ्गारिक मल उत्पादन तथा वातावरण संरक्षणमा कम्पनीले गरिरहेका कामहरूको विस्तृत जानकारी दिएका थिए । केसीका अनुसार सफा उर्जाले स्थानीय क्षेत्रबाट फोहोर संकलन गरी त्यसलाई आधुनिक प्रविधिबाट प्रशोधन गर्ने काम गरिरहेको छ।
उद्योगको निरीक्षणपछि मन्त्री श्रेष्ठले वातावरणमैत्री प्रविधिको प्रयोग गर्दै उद्योगले स्थानीय समस्या समाधानतर्फ देखाएको पहल सराहनीय भएको बताए । ‘यस्ता परियोजनाहरूले प्रदेशको वातावरण संरक्षण र कृषि उत्पादनमा सकारात्मक प्रभाव पार्छ’ उनले भने ।उद्योग परिसरमा मन्त्री तथा प्रतिनिधिलाई सफा उर्जाका निर्देशक निर्णय पौडेलले स्वागत गरेका थिए।
उद्योग बाणिज्य संघ मकवानपुरका अध्यक्ष प्रमोद सिंह रानाभाट, उपाध्यक्ष उज्वल चौलागाईं तथा प्रतिनिधिहरुकाे साथमा मन्त्री श्रेष्ठले उद्योगको निरीक्षण गरेका हुन् ।
मकवानपुर । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यबृद्धी गरेकाे छ । निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैंया र डिजेल र मट्टीतेलमा १ रुपैयाँ मूल्य बढाएकाे हाे ।
निगमले आजै राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलिय पदार्थको नयाँ खुद्रा बिक्री मूल्य लागू हुने जनाएको छ । भारतको इन्डियन आयल कर्पोरेसनबाट शनिबार प्राप्त नयाँ मूल्य अनुसार पेट्रोलमा २ रुपैयाँ र डिजेल र मट्टीतेलमा १ रुपैयाँले बढेर आएको नेपाल आयल निगमले जनाएको छ।
त्यस्तै हवाई इन्धन भने २ रुपैयाँ ५७ पैसाले घटेर आएको निगमले जनाएको छ । निगमका अनुसार आन्तरिकतर्फ ३ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रति किलो लिटर २२ अमेरिकी डलरले मूल्य घटाइएको छ ।

मकवानपुर । मकवानपुरकाे हेटौंडामा ‘एक तिहाई महिला सहभागिता अधिकार, उपलब्धि र चुनाौति माथि बहस भएकाे छ । छैठौं राष्ट्रिय महिला अधिकार दिवस २०८२ को अवसरमा उक्त विषयमा बहस कार्यक्रम भएको हाे ।
कार्यक्रममा बागमती प्रदेश सरकारकी उद्योग, वाणिज्य, भूमी तथा प्रशासन मन्त्री शुक माया तामाङले महिला आन्दोलनकै कारण महिलाहरूले अधिकार हासिल गर्न सफल भएको बताइन् । ‘महिलाले प्राप्त अधिकारलाई व्यवहारमा रूपान्तरण गर्न धेरै काम गर्न बाँकी रहेको छ’ उनले भनिन् ‘आर्थिक सशक्तिकरणको नारा उठे पनि व्यवहारमा प्रभावकारी कार्यान्वयन नहुँदा चुनौती कायम रहेको छ ।’
मन्त्री तामाङले आफू मन्त्री बनेपछि महिलाको उद्यमशीलता प्रोत्साहनका लागि उद्योग दर्तामा ५० प्रतिशत छुट र शुल्क ७ हजारबाट घटाएर ३५ सयमा ल्याएकाे जानकारी दिइन् । महिला तथा युवालक्षित कोष स्थापना गर्ने तयारी भइरहेकाे उनले बताइन् । नेकपा एमाले मकवानपुरका ईन्चार्ज रामेश्वर रानाले एमाले सधैं महिलाको हक–अधिकारका पक्षमा खटिएको दाबी गर्दै महिला अधिकार सुनिश्चिततामा पार्टीको भूमिका महत्वपूर्ण रहेकाे बताए ।
बहस कार्यक्रममा गैर नेकपा एमालेका केन्द्रीय सदस्य जुनेली श्रेष्ठ, प्रदेश कमिटी सदस्य रघुनाथ खलाल, इन्द्रमान तामाङ, एमाले मकवानपुरकी सचिव सिता विष्ट, उप–सचिव आरती पाठक, गैरसरकारी संस्था मकवानपुरी अध्यक्ष रमिला सापकोटालगायत विभिन्न संघ–संस्थाका महिला प्रतिनिधिहरूले महिला सहभागिता, अधिकार कार्यान्वयनका चुनौती र आगामी दिनमा लैङ्गिक समानताको दिशामा आवश्यक रणनीति तथा नीति निर्माणका विषयमा छलफल भएको थियो ।
महिला अधिकारका सवालमा राजनीतिक दल, सरकारी निकाय तथा नागरिक समाजका प्रतिनिधिहरूको सहभागिता रहेकाे कार्यक्रम अखिल नेपाल महिला संघ मकवानपुर जिल्ला कमिटी अध्यक्ष सुमित्रा काफ्लेको सभाध्यक्षतामा भएको थियाे ।
मकवानपुर। हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ पारिजात पथमा रहेको युसेस वचत तथा ऋण सहकारी संस्थाले शुक्रबारबाट सहकारीहरुको अवलोकन भ्रमण सुरु गरेको छ ।
आर्थिक बर्ष २०८१। ०८२ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार सहकारीले मधेस प्रदेशका विभिन्न जिल्लाका सहकारीहरुको ३ दिने अवलोकन भ्रमणको आयोजना गरेको हाे । शुक्रबारबाट सुरु भएको अवलोकन भ्रमण अन्तर्गत पहिलो दिन सर्लाहीको हरिवन नगरपालिका – ११ मा रहेको सगुन वचत तथा ऋण सहकारी संस्था लिमिटेडको अवलोकन गरेको छ ।
उक्त अवसरमा युसेस सहकारीका अध्यक्ष उत्तम शर्मा ढकाल र सगुनका अध्यक्ष केशव प्रसाद ढकाल तथा सहकारीका व्यबस्थापक एवं सहकारीमा आवद्ध सदस्यहरुले आआफ्नो अनुभव आदानप्रदान गरेका थिए । सगुन सहकारीका प्रवन्धक रबिन्द्र रानाले सहकारीले संचालन गरिरहेका आर्थिक तथा सामाजिक गतिविधिका बारेमा जानकारी गराएका थिए ।
विभिन्न सहकारी संस्थाहरुले गरेका कार्यहरु र देशका विभिन्न स्थानहरुमा रहेका ऐतिहासिक धार्मिक स्थलहरुको अवलोकन गर्ने उद्धेश्यले भ्रमणको आयोजना गरिएको युसेस सहकारीका उपाध्यक्ष एवं अवलोकन भ्रमणका संयोजक हयग्रीव आचार्यले जानकारी दिए । भ्रमण टोलिमा ३७ जना सहभागिता रहेका छन् ।
हाल सहकारीमा ९ सय जना शेयर सदस्य रहेका छन् भने संस्थाको वार्षीक कारोबार साढे ८ करोड रहेको ब्यवस्थापक गिता भट्टराई पोखरेलले जानकारी दिइन् ।