मकवानपुर । मकवानपुरकाे हेटौंडामा ‘एक तिहाई महिला सहभागिता अधिकार, उपलब्धि र चुनाौति माथि बहस भएकाे छ । छैठौं राष्ट्रिय महिला अधिकार दिवस २०८२ को अवसरमा उक्त विषयमा बहस कार्यक्रम भएको हाे ।
कार्यक्रममा बागमती प्रदेश सरकारकी उद्योग, वाणिज्य, भूमी तथा प्रशासन मन्त्री शुक माया तामाङले महिला आन्दोलनकै कारण महिलाहरूले अधिकार हासिल गर्न सफल भएको बताइन् । ‘महिलाले प्राप्त अधिकारलाई व्यवहारमा रूपान्तरण गर्न धेरै काम गर्न बाँकी रहेको छ’ उनले भनिन् ‘आर्थिक सशक्तिकरणको नारा उठे पनि व्यवहारमा प्रभावकारी कार्यान्वयन नहुँदा चुनौती कायम रहेको छ ।’
मन्त्री तामाङले आफू मन्त्री बनेपछि महिलाको उद्यमशीलता प्रोत्साहनका लागि उद्योग दर्तामा ५० प्रतिशत छुट र शुल्क ७ हजारबाट घटाएर ३५ सयमा ल्याएकाे जानकारी दिइन् । महिला तथा युवालक्षित कोष स्थापना गर्ने तयारी भइरहेकाे उनले बताइन् । नेकपा एमाले मकवानपुरका ईन्चार्ज रामेश्वर रानाले एमाले सधैं महिलाको हक–अधिकारका पक्षमा खटिएको दाबी गर्दै महिला अधिकार सुनिश्चिततामा पार्टीको भूमिका महत्वपूर्ण रहेकाे बताए ।
बहस कार्यक्रममा गैर नेकपा एमालेका केन्द्रीय सदस्य जुनेली श्रेष्ठ, प्रदेश कमिटी सदस्य रघुनाथ खलाल, इन्द्रमान तामाङ, एमाले मकवानपुरकी सचिव सिता विष्ट, उप–सचिव आरती पाठक, गैरसरकारी संस्था मकवानपुरी अध्यक्ष रमिला सापकोटालगायत विभिन्न संघ–संस्थाका महिला प्रतिनिधिहरूले महिला सहभागिता, अधिकार कार्यान्वयनका चुनौती र आगामी दिनमा लैङ्गिक समानताको दिशामा आवश्यक रणनीति तथा नीति निर्माणका विषयमा छलफल भएको थियो ।
महिला अधिकारका सवालमा राजनीतिक दल, सरकारी निकाय तथा नागरिक समाजका प्रतिनिधिहरूको सहभागिता रहेकाे कार्यक्रम अखिल नेपाल महिला संघ मकवानपुर जिल्ला कमिटी अध्यक्ष सुमित्रा काफ्लेको सभाध्यक्षतामा भएको थियाे ।

